२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

संरक्षण अभावमा गौश्वारका प्राचीन सम्पदा जीर्ण बन्दै



अ+ अ-

गलेश्वर । बेनीबजारबाट १० किलोमिटर दक्षिणमा अवस्थित बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वारामा मल्लकालीन वास्तुकलाका एक सय वर्ष पुराना ढुङ्गेघर दिनप्रतिदिन जीर्ण बन्दै गएका छन् ।

विसं १९७८–७९ मा सिर्मु र सालका काठमा कुँदिएका कलात्मक बुट्टा, चिल्ला र बाक्ला ढुङ्गाले छाएको धुरी र पालीमुनि टुँडाल राखेर निर्माण गरिएका आकर्षक ढुङ्गेघर संरक्षण अभावमा जीर्ण भएका हुन् ।

मल्ल र राणाकालीन इतिहास दर्शाउने तीनतले ढुङ्गेघर प्राचीन दरबारजस्ता लाग्छन् । मल्ल र राणाकालीन इतिहासको साक्षी बनेका यी घर मल्ल र ठकुरीहरू बसाइँसराइका कारण अलपत्र परेका हुन् । विसं २०४५ सम्म मल्ल वंशीय ठकुरीहरूको बसोबास रहेको यो गाउँका मानिस २०४६ सालमा प्रजातन्त्र पुन:स्थापना भएसँगै बसाइँ सरेपछि घर अलपत्र परेका बेनी नगरपालिका–२ का वडासदस्य चन्द्रकान्त रिजालले बताउनुभयो ।

प्राचीन ती घरको मर्मसम्भार गरेर घरवरपरको क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने तथा बागलुङको पञ्चकोट, म्याग्दीको गलेश्वर र मुस्ताङको मुक्तिनाथ भ्रमणमा जाने पर्यटकलाई पनि आकर्षण गर्न सकने प्रशस्त सम्भावना भएको वडा सदस्य रिजालले बताउनुभयो ।

गौश्वारामा सुदर्शन मल्ल, माधव मल्ल, घनश्याम मल्ल, परमेश्वर मल्ल र विश्वबम मल्लको स्वामित्वमा रहेका सय वर्षभन्दा बढी पुराना घर गौश्वारा गाउँका सम्पदा भएकाले तिनको सुरक्षा र मर्मतसम्भारमा घरधनी र समुदाय दुवैले चासो दिनुपर्ने स्थानीय बुद्धिजीवी रत्नबम मल्लले बताउनुभयो ।

हाल गौश्वारा गाउँका मल्लकालीन वास्तुकलाका पाँच घरमध्ये दुईमा मात्र बसोबास छ भने तीन घर जीर्ण छन् । भावी पुस्तालाई आफ्ना पूर्वजहरूको निवासको परिचय गराउने यी घर संरक्षण गर्नुपर्ने स्थानीय अर्जुन माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक टीकाबहादुर कार्कीले बताउनुभयो ।

त्यसैगरी मालिका गाउँपालिका वडा नं ६ तल्लो दुखुको रातोढुङ्गामा शेरचन र भट्टचनले निर्माण गरेका एक सय वर्षभन्दा पुराना सातवटा ढुङ्गेघर पनि संरक्षणको अभावमा जीर्ण भएका छन् ।