• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

सयौँ वर्ष पुरानो ‘लिङ्गो जुधाउने’ अनौठो संस्कृतिको निरन्तरता



म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा दुई गाउँबीचमा ‘लिङ्गो जुधाउने’ अनौँठो संस्कृतिले निरन्तरता पाएको छ । भूमे पूजाको अवसरमा यस गाउँमा सयौँ वर्ष पुरानो इतिहास बोकेको ‘लिङ्गोजुधाउने’ अनौठो प्रतिस्पर्धा गरिन्छ ।

मङ्गलबार दग्नामका गैरी र कान्छी गाउँबिचमा भएको लिङ्गोजुधाइमा गैरी गाउँ विजयी भएको छ । प्रकृति पूजाको रुपमा चिनिने भूमे पूजामा भूमे देवतालाई खुसी बनाउन दुई गाउँबिचको लिङ्गो जुधाउने प्रतियोगिता सम्पन्न भएको स्थानीय अगुवा धनिलाल गर्वुजाले बताउनुभयो । ‘‘यो संस्कृति पूर्खादेखि नै चल्दै आएको छ, हरेक वर्ष भूमे पूजामा यहाँ दुई गाउँका लिङ्गो जुधाउने प्रतियोगिता हुन्छ,’’– उहाँले भन्नुभयो ।

दग्नाममा गैरी गाउँ, कान्छी गाउँ, माझिगाउँ र डाँडागाउँ गरी चार वटा टोल रहे पनि यस प्रतियोगितामा भने हरेक वर्ष गैरी र कान्छी गाउँले मात्रै सहभागिता जनाउने गरेका छन् । मङ्गलवार दुई गाउँबाट छुट्टाछुट्टै रुपमा ध्वजापतकाले सिगारिएका अग्ला बाँसको लिङ्गो बोकेर मुन्का डाँडामा पुगेका स्थानीयले एकैसाथ लिङ्गो ठडाएर प्रतिस्पर्धा गराएका थिए ।

पुख्र्यौलीनाच, सोरठी भाका र पञ्चेबाजासहितको उत्सवकाबीच मङ्गलबार बिहान भूमे देवताको पूजागरेपछि दिउँसो भूमे देवतालाई खुसी बनाउनका लागि स्थानीयले लिङ्गो जुधाएका हुन् । प्रतियोगितामा अग्ला–अग्ला सिगारिएका लिङ्गालाई प्रतिस्पर्धामा उतार्ने गरिन्छ ।

दग्नामको भूमे पूजालाई लिङ्गो जुधाइले सांस्कृतिक उत्सव बनाउने गरेको वडाअध्यक्ष पबिन गर्बुजाले बताउनुभयो ।‘‘भूमे पूजालाई हामीले मौलिकता र परम्परालाई जोगाउने गरी मनाउँदै आएका छाँै, यसमा लिङ्गो जुधाइ सबैको लागि रुचि र चासोको विषय बन्ने गरेको छ, दुई गाउँबीचको प्रतिस्पर्धा देवतालाई खुसी बनाउने र आपसी सद्भाव बढाउन सहयोगी बन्ने गरेको छ’’– उहाँले भन्नुभयो ।

दुई गाउँले लिङ्गो जुधाइलाई प्रतिष्ठाको विषय बनाउने गर्छन् । बाँसको लिङ्गो स्थानीय दग्नाम वरपरसँगै छिमेकीगाउँ राखुबाटसमेत लैजाने गरिन्छ । स्थानीयले लिङ्गो जुधाइलाई करिब चार सय वर्ष पुरानो संस्कृतिमा गन्ने गरेका छन् । भूमे पूजामा लिङ्गो जुधाइ हेर्न देश तथा विदेशमा छरिएर रहेका दग्नामवासी गृहगाउँ फर्कने गर्छन् भने छिमेकी गाउँबाटसमेत उल्लेख्य मात्रामा सर्वसाधारण मेला भर्न पुग्ने गर्छन् । यस पटकको लिङ्गो जुधाइको अवलोकनमा तीन सय बढी सहभागी भएका थिए ।

जेठा भूमेको रुपमा चिनिने भएकाले दग्नामवासीले हरेक वर्षको जेठ महिनाको पहिलो वा दोस्रो साताको मङ्गलबारको दिन पूजा गर्ने चलन छ । खासगरी खेतीबाली राम्रो होस्, बाढीपहिरो, भूक्षय जस्ता प्राकृतिक प्रकोपको सिर्जना नहोस् भन्ने कामना गर्दै भूमे देवताको पूजा गरिन्छ ।
भूमे पूजाको अवसरमा स्थानीय एकता युवा क्लबले सांस्कृति तथा खेलकुद मेलासमेत आयोजना गर्दै आएको छ । यसवर्ष दग्नाममा पूख्र्यौली नृत्यसहित विविध खेलकुद र सांस्कृतिक मेलाको आयोजना गरिएको क्लबले जनाएको छ