१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन

सुरक्षा टोलीसहित यार्सा सङ्कलनमा पुगे मनाङवासी

सुरक्षा टोलीसहित यार्सा सङ्कलनमा पुगे मनाङवासी
फाईल फोटो
अ अ+ अ-

मनाङ ।  हिमाली जिल्ला मनाङमा अहिले औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन भइरहेको छ । यहाँ वैशाख १० गतेदेखि यार्सागुम्बा सङ्कलनको कार्य पहिलो गन्तव्य नाम्के खर्कबाट सुरु भएको हो ।

दोस्रो गन्तव्यका रुपमा रहेको फु गाउँमा जेठ १४ बाट यार्सागुम्बा सङ्कलनको अनुमति दिइएको छ । जेठ १३ गतेदेखि पुर्जी काटेर मनाङवासीले मात्रै यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिइएको नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले जानकारी दिनुभयो । उहाँका अनुसार अनुमति पाएका मनाङवासीले फु गाउँको लेकमा एक महिनासम्म यार्सागुम्बा सङ्कलन गर्नेछन् । विगतको घटनाबाट पाठ सिक्दै यार्सागुम्बा सङ्कलनलाई सुरक्षित र व्यवस्थित बनाउन लागिपरेको उहाँले बताउनुभयो ।

अध्यक्ष लामाले भन्नुभयो, “नार्पाभूमिको नार र फु संरक्षित तथा निषेधित दुवै क्षेत्र भएकाले सुरक्षाको दृष्टिबाट पनि विगतको जस्तो अवस्था नआओस् भनी मनाङवासीलाई मात्र यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिने गर्छौं, हाललाई फु गाउँका लेकमा मात्र यार्सागुम्बा सङ्कलन गर्न पाइन्छ ।” यार्सागुम्बा सङ्कलनका लागि रु ३५ हजार शुल्क तिर्नुपर्ने हुन्छ । शुल्क तिरी सकेपछि मात्र सङ्कलनका लागि पुर्जी दिइन्छ । फु गाउँको लेकमा यार्सागुम्बा सङ्कलकबाट उठेको रकमको ६० प्रतिशत संरक्षण क्षेत्र व्यवस्थापन समितिले राख्छ भने बाँकी ४० प्रतिशत गाउँपालिकाले राख्ने गरी पुर्जी काटिएको अध्यक्ष लामाले जानकारी दिनुभयो ।

यसैगरी सङ्कलन भएको यार्सागुम्बाको प्रतिकिलो १० प्रतिशत निकासी कर लाग्ने उहाँले बताउनुभयो । यार्सागुम्बा सङ्कलनलाई सहज र सुरक्षित बनाउन प्रशासनले सुरक्षा टोलीसमेत खटाएको उहाँले बताउनुभयो । सङ्कलकलाई समस्या भएको खण्डमा पनि सुरक्षा टोलीले जानकारी प्रदान गर्ने र उद्धारका काम गर्ने गर्दछन् ।

सुरक्षा व्यवस्थापन कडा

लेकका खर्कमा यार्सागुम्बा सङ्कलनको समयमा झैझगडा नहोस् भनी शान्ति सुरक्षा मजबुत पारिएको छ । नार्पाभूमि गाउँपालिकाको संयोजकत्वमा फू गाउँको यार्सागुम्बा सङ्कलनको समयमा शान्ति सुरक्षाको प्रयोजनार्थ च्याँखु र मेताका प्रहरी टोलीलाई त्यसतर्फ खटाइएको छ । च्याँखु प्रहरी पोष्टबाट एक महिनासम्म पाँच जनाको प्रहरी टोलीले यार्सागुम्बा सङ्कलकलाई सुरक्षा दिनेछ ।

फुमा प्रहरीको दरबन्दी नभएकाले सो टोलीले एक महिनासम्म त्यहाँ बसेर यार्सागुम्बा सङ्कलकलाई सुरक्षा दिने अध्यक्ष लामाले बताउनुभयो । उहाँका अनुसार प्रहरी टोली बसोबासका लागि बन्दोबस्तीका सामानसहित रासनपानीको व्यवस्था गरी परिचालन गरिएको छ । यार्सागुम्बा टिप्ने क्रममा विसं २०६६ मा नारस्थित नाम्ग्य खर्कमा गोरखाका सात जनाको स्थानीयले हत्या गरेका थिए । त्यसपछि सुरक्षा चुनौतीका कारण मनाङका साविकको नार र फु गाउँ विकास समितिमा यार्सागुम्बा सङ्कलन रोकिएको थियो । अहिले त्यस्ता घटना दोहोरिन नदिन अन्य जिल्लाका सङ्कलकलाई अनुमति दिइएको छैन ।

प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले सङ्कलनको रकममध्ये केही पालिकामा नै रहने भएकाले त्यस क्षेत्रको संरक्षण क्षेत्र व्यवस्थापन समिति (सिएमसी) सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार जिल्लाभित्र यार्सागुम्बा सङ्कलनको याम सुरु भएसँगै सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । उहाँले भन्नुभयो, “हुन त पाँच जनाको टोलीले के नै सुरक्षा गर्न सकिन्छ र, तैपनि सुरक्षाकर्मी पनि छन् है ढुक्कसँग यार्सागुम्बा सङ्कलन गर्नुहोस् भनी आश्वत पार्न प्रहरी खटाएका छौँ ।”

विगतको जस्तो अप्रिय घटना नहोस् भनी प्रहरी परिचालन गरिएको जनाउँदै उहाँले भन्नुभयो, “यसपाली मनाङवासीलाई मात्रै फुमा यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिइएको छ, त्यस्तो अप्रिय केही नहोस् भन्ने हाम्रो कामना हो, यदि केही भइहाल्यो भने पनि पहिलो कारबाही भनेको संरक्षण क्षेत्र व्यवस्थापनलाई नै हुनेछ ।” यसलाई व्यवस्थित गर्ने कानुन भनेको यससँग सम्बन्धित निर्देशिकामा यार्सागुम्बा सङ्कलन व्यवस्थापन संरक्षण समितिले गर्ने उल्लेख छ ।

प्रजिअ लामिछानेले भन्नुभयो, “सुरक्षाकर्मी छन् भनेर सोच्यो भने हरेक क्षेत्र सुरक्षित हुन्छ, तर सुरक्षित बनाउन केही मात्रमा मात्रै हाम्रा सुरक्षाकर्मी खटाइएमा पनि त्यस क्षेत्रको सुरक्षा हुन्छ, सूचना समयमा दिने, आवश्यक सहयोग र समन्वय गर्ने कुरामा सहमति भएको छ ।” अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इलाका कार्यालयले यार्सागुम्बा सङ्कलनका लागि स्वीकृति दिएपछि मात्रै सङ्कलनका लागि खर्कतर्फ प्रवेश दिइने गरिन्छ ।

एक्यापका प्रमुख ढकबहादुर भुजेलले नार्पाभूमिका खर्कमा यार्सागुम्बा खोज्न बाहिरी जिल्लाका सङ्कलकलाई अनुमति नदिएको बताउनुभयो । उहाँका अनुसार जिल्लाका तीन खर्कमा यार्सागुम्बा सङ्कलनमा बाहिरी जिल्लाका व्यक्तिलाई रोक लगाइएको छ । नार्पाभूमिका अध्यक्ष लामाले सुरक्षा चुनौतीकै कारण बाहिरी जिल्लाबाट आउने यार्सागुम्बा सङ्कलकलाई रोक लगाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा भएको जस्तो घटना दोहोरिन दिनुहुँदैन भनेर स्थानीयलाई मात्र सङ्कलनको अनुमति दिँदै आएका छौँ ।”

फस्टाएन यार्सा

गत वैशाख १४ गतेदेखि मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन भइरहेको छ । यसपालि विगतको तुलनामा थोरै मात्र सङ्कलन गरिएको छ । नासों–८ का वडाध्यक्ष एवं ताचै बगरछाप संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष याद घलेले मलजल नमिल्दा यार्सागुम्बा साना मसिना भेटिएको बताउनुभयो । उहाँले भन्नुभयो, “जलवायु परिवर्तनका कारण समयमा हिउँ परेन, यार्साका लागि मल तथा जल भनेकै हिउँ हो, यसपालि बल्ल थाहा भयो समयमा हिउँ नपर्दा यार्सागुम्बा पनि कम सङ्कलन भएको छ, सङ्कलन गरिएका पनि साना, मसिना मात्रै छन् ।”
वैशाख १० गतेदेखि दुई सय जनाको टोली औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलनको अनुमति लिएर नाम्के खर्कतर्फ गएको थियो । ताचैको टोली वैशाख २८ गते सङ्कलनका लागि गएको भए पनि जेठ ४ गते फर्कियो । घलेले भन्नुभयो, “सिङ्गो गाउँ नै खर्कतिर लाग्दा मृत्यु संस्कार चलाउनसमेत गाह्रो भयो, गाउँमा ५ गते अर्घौं परेको थियो, अर्घौं सकेर फेरि टोली लेक बसेका छन् ।” नाम्के खर्कमा मनाङवासीका अलावा अन्य गोरखा, लमजुङलगायतका जिल्लाका सङ्कलकलाई पनि यार्सागुम्बा सङ्कलनको अनुमति दिइएको छ ।

नाम्के र हुलाकी ओडारका खर्कमा यार्सागुम्बा सङ्कलन कार्य सकिने क्रममा रहेको छ । मनाङमा यार्सागुम्बा पाइने क्षेत्रमा सङ्कलन गर्न जाने सङ्कलनले १० वटा यार्सागुम्बा टिपिएकामध्ये एउटा सोही स्थानमा छाड्नुपर्ने प्रावधान निर्धारण गरिएको छ । मनाङमा १३ वटा सिएमसीमध्ये हाल धारापानी, थोंचे र चामेले काम गर्न सकेको छैन । दश वटा सिएमसीले भने काम गरिरहेको छ । जिल्लाका नाम्ग्य खर्क, किन्चो लेक, याक खर्क, मनाङ, पिसाङ, खाङ्सार, भ्राका, नाम्के, हुलाकी, नार र फुका खर्कबाट औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन गरिन्छ । असारको पहिलो सातासम्म यार्सागुम्बा सङ्कलन कार्य सकिन्छ ।