४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

रम्तेलडाँडालाई न्याय देऊ !

रम्तेलडाँडालाई न्याय देऊ !
अ+ अ-

महोत्तरी । ‘रम्तेलडाँडालाई न्याय देउ’ ठूलठूला अक्षरमा लेखिएको यो नारा छातीमा टाँसेका युवा अहिले महोत्तरीको बर्दिबासचोकमा बाक्लै देखिन्छन् । समूहमा मात्र नभएर एक्लाएक्लै देखिने युवाको छातीमा पनि ‘भू–माफियालाई कारवाही गर’, ‘वन नजोगाए, हामी जोगिन्नौ’, ‘वन फाँड्न पाइँदैन’ र ‘नदीनाला र पहाडी शृङ्खलाको अनियन्त्रित दोहन बन्द गर’ जस्ता नारा लेखिएको देखिन्छ ।  ‘सचेत युवा समूह बर्दिबास’ मा आवद्ध युवाले अहिले वन फँडानीविरुद्ध जागरण अभियान नै सञ्चालन गरेका छन् । 

“सबैले थाहा पाउनु पर्यो, वन फँडानीबारे आम चासो बढ्नु पर्यो, यसै उद्देश्यका लागि हामी जागरण अभियानमा छौँ” छातीमा टाँसिएका नाराबारे स्पष्ट पार्दै बर्दिबास नगरपालिका–१ का २४ वर्षीय युवा विजय पोखरेलले भन्नुभयो,“आफूहरुको यो अभियानले वन फँडानीबारे सार्वजनिक चासो बढाउन मद्दत पुग्नेछ ।”

लाग्दो पुसमै रम्तेलडाँडा सामुदायिक वनको जग्गा कब्जाको उद्देश्यसाथ फाँडिएपछि त्यसविरुद्ध सचेत युवा समूह बर्दिवास निरन्तर जागरण अभियानमा लागेको छ । “हामीले वन फँडानीविरुद्ध कारवाहीका लागि पुस पहिलो सातामै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयमा संयुक्त जाहेरी गरेका छौँ”, यसै समूहका अर्का ३५ वर्षीय युवा सुदीप कार्की भन्नुहुन्छ, “त्यसयता कैयनपटक जागरण प्रदर्शन र स्थानीय प्रशासन समक्ष ज्ञापनपत्र दिइसकेका छौँ ।” वन फँडानीविरुद्ध जागरण अभियानमा रहेको आफु आवद्ध समूहले वन फँडानीमा संलग्नमाथि कारवाहीको माग गर्दै गत आइतबार नै स्थानीय प्रशासन समक्ष ज्ञापनपत्र दिएको कार्कीले बताउनुभयो । 

बर्दिबास–१ को रम्तेलडाँडा सामुदायिक वन क्षेत्रको करीब चार बिघा क्षेत्रफलको वन यही पुसको शुरुमै रातारात केही व्यक्तिले फाँडेपछि बर्दिवासमा फँडानीविरुद्ध कारवाहीको माग आम रुपमा बढेको छ । “यी युवा हामै्र वन सम्पदाको रक्षाका लागि निरन्तर अभियानमा छन्” सचेत युवा समूह बर्दिवासको  पछिल्लो गतिविधि नियाली रहनुभएका नेपाली काँग्रेसका महासमिति सदस्य चिरञ्जीवी हमाल भन्नुहुन्छ, “अब यो अभियानमा हामी सबैको साथ सहयोग हुनुपर्छ ।” विगतमा बर्दिवास गाविस छँदा दुई कार्यकाल (२०४९ र २०५४) निर्वाचित अध्यक्षसमेत रहनुभएका हमाल पछिल्लो कालमा अहिले स्थानीय तह (नगरपालिका) वन र अन्य प्राकृतिक सम्पदा संरक्षणमा उदासिन देखिएको गुनासो गर्नुहुन्छ ।

“ल, हेर्नोस् त यत्रो वन विनास भयो, प्राकृतिक सम्पदाको संरक्षणको जिम्मेवारी पाएको नगरपालिका के गर्दैछ ?” हमालले केही दिन पहिले फँडानी भएर नाङ्गो बनेको रम्तेलडाँडा सामुदायिक वनक्षेत्रतिर देखाउँदै गुनासो पोख्नुुभयो, “यही अवस्था रहे हाम्रा सबै वनपाखा अब उजाडिने छन् ।” रम्तेलडाँडा सामुदायिक वन फाँडेर जग्गा कब्जा गर्न खोज्ने भू–माफियालाई तत्काल कारवाही गरिनुपर्ने सचेत युवा समूहको मागबारे बर्दिवासमा समर्थन जुट्दै गएको देखिन्छ । 

यसैबीच बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले पनि वन फँडानी अक्षम्य अपराध भएको स्पष्ट पार्दै घटनामा संलग्नहरुले मिनाहा नपाउने बताउनुभएको छ । “घटनामा जो जति संलग्न छन्, ती सबै कारवाहीका भागिदार छन्” बर्दिवास नगर पत्रकार सञ्जालमा आवद्ध पत्रकारसँगको सामूहिक कुराकानीमा कार्कीले भन्नुभयो, “अनुसन्धान र कारवाहीको कुरा न्यायिक निकायले सम्पादन गर्ने विषय हुन्, हाम्रो यस कार्यमा सहयोग हुनेछ ।” 

रम्तेलडाँडा वन फाँड्न दृश्यमा देखिएका भू–माफियाका अतिरिक्त अन्य धेरैको संलग्नता हुनसक्ने समूहमा आवद्ध युवाको भनाइबारे ध्यानाकर्षण गराउँदा नगरप्रमुख कार्कीले यो न्यायिक निकायको अनुसन्धानबाट नै स्पष्ट हुने बताउनुभयो । 

रम्तेलडाँडा सामुदायिक वन क्षेत्रको करीब चार बिघा क्षेत्रफलका ४०० भन्दा बढी रुख सम्वद्ध वन कार्यालय, बर्दिवासस्थित नापी तथा मालपोत कार्यालय, रम्तेलडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष र बर्दिवास–१ वडा कार्यालयको लिखित ठहर व्यहोराबाट काटिएका थिए । स्थानीयवासीले थाहा पाएर प्रतिवाद गरेपछि अहिले वन फँडानी गर्नेविरुद्ध कारवाही प्रक्रिया बढे पनि प्रहरी÷ प्रशासनले उनीहरुलाई पक्राउ गर्न उदासिनता देखाएको सचेत युवा समूह बर्दिवासमा आवद्ध युवाको भनाइ छ । 

बर्दिबास–१ का कृष्णप्रसाद गौतम र लीलामणि आचार्यले वन क्षेत्रलाई आफ्नो नम्बरी भएको दाबी गर्दै वन कार्यालयमा रुख  काट्न स्वीकृतिका लागि दिएको निवेदनमा सम्बद्ध पक्ष (वडा कार्यालय, नापी÷मालपोत कार्यालय, सामुदायिक वन उपभोक्ता समितिसमेत) को लिखित सम्पति भएर रातारात वन फाँडिएको थियो । घटनालगत्तै समूहमा आवद्ध युवाले विभिन्न निकायमा आवश्यक कारवाहीका लागि उजूरी गरेका छन् । बर्दिबासका ५१ जना युवाले संयुक्त रुपमा दिएको जाहेरीको आधारमा यसबारे सुक्ष्म अनुसन्धान थालिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयले जनाएको छ ।
यसै प्रकरणमा महोत्तरी जिल्ला अदालतमा मुद्दा दर्ता भएर वन फाँड्ने भू–माफियाविरुद्ध पक्राउ आदेश जारी भए पनि थप कोही पक्राउ भने परेका छैनन् । अदालतमा मुद्दा दर्ता हुनपूर्व नै डिभिजन वन कार्यालय महोत्तरीले पुस तेस्रो सातामै रम्तेलडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शेरबहादुर राउतलाई भने पक्राउ गरेर अनुसन्धान थालिएको जनाएको छ । अदालतले वन फँडानीमा संलग्न आफ्नो जग्गा दाबी गर्ने गौतम र आचार्य एवं रुख ढाल्ने ठेकदार सिन्धुलीको सुनकोशी गाउँपालिका–४ का सन्दिप नेपालीविरुद्ध पक्राउ आदेश जारी गरे पनि यिनीहरु राजनीतिक संरक्षण पाएर ओरपर नै घुमिरहेका समूह आवद्ध युवाको आरोप छ ।

जिल्लामा सामुदायिक, धार्मिक, साझेदारी र सागरनाथ वन विकास परियोजनाको समेत गरी करीब २४ हजार हेक्टर वनक्षेत्र रहेको अभिलेख रहेपनि लगातारको अतिक्रमणले अहिले १६ हजार हेक्टरमा मात्र वन रहेको वन अधिकारी नै स्वीकार गर्छन् । पछि रोपण गरिएका वनक्षेत्र जिल्लाका अन्य भेगमा भए पनि मुख्य वन हालको बर्दिबास र गौशाला नगरक्षेत्रमा रहेको छ । विभिन्न कार्यक्रममा अतिक्रमणको चपेटामा पनि यहींकै वन परेको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्तप्रसाद साह बताउनुहुन्छ । 

विसं २०३६ मा जनमत सङ्ग्रह ताका शुरु भएको वन अतिक्रमणको क्रम बढ्दै जाँदा वर्सेनी जङ्गल उजाडिंदै गएको यहाँ (बर्दिवास) का पाका व्यक्तिको भनाइ छ । खासमा राजनीतक उथलपुथलका समयमा वन फँडानी ह्वात्तै बढ्ने गरेको बर्दिवास–५ का बासिन्दा ७५ वर्षीय राजन पौडेलको सम्झना छ । चार दशकअघिलाई सम्झदै स्थानीय राजनीतिक, सामाजिक कार्यकर्तासमेत रहनुभएका पौडेलले भन्नुभयो, “त्यसयता माओवादी जनयुद्ध शान्ति प्रक्रियामा ढलेसँगै वन अतिक्रमण ह्वात्तै बढ्यो ।” विसं २०३६ मा दक्षिणका वन तस्करले रुख ढालेर रजाइँ गरे पनि जग्गा वनकै रहेको तर पछिल्ला कालमा भने वन फँडानी गरेर जग्गासमेत कज्याउने क्रम बढेको पौडेलको भनाइ छ ।

अहिले संसारभरि नै जलवायु परिवर्तनले मानव र चराचर जगतलाई नै प्रतिकूल प्रभाव पारिरहेका बेला बढ्दो वन विनासले झन् सङ्कट बढाउने वातावरण विज्ञले पनि चिन्ता जनाएका छन् । “अहिले स्थानीय युवाले वन संरक्षणका लागि चालेका जागरण अभियान सान्दर्भिक छ” चुरे पहाड, वन र जलाधार क्षेत्रको संरक्षणमा लगातार पैरवी गर्दै आउनुभएका चुरेविज्ञ जिल्लाकै भङ्गाहा नगरपालिका–७ मेघरोलका बासिन्दा डा विजयकुमार सिंहले भन्नुभयो, “अब यी युवाको मुद्दा हामी सबैको बन्नुपर्छ ।” गोपालप्रसाद बराल /रासस