२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओझेलमा पर्यटकीय रुडुबन्चु पाटन



अ+ अ-

मान्म । कालीकोटको तिलागुफा नगरपालिका–१० मा पर्ने पर्यटकीयस्थल पाटन रुडुबन्चु ओझेलमा परेको छ । अति रमणीय पर्यटकीयस्थल रुडुबन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा पर्न थालेको हो ।

कर्णालीको तराई भनेर चिनिएको चिल्खायाको माथिल्लो स्थानमा रहेको रुडुबन्चु अहिले प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । प्राकृतिक सम्पदाको सुन्दर भूमीका रुपमा रहे पनि संरक्षण, प्रवर्द्धन तथा प्रचारप्रसार नहुँदा ओझेलमा पर्न थालेको तिलागुफा नगरपालिका–१० स्थानीय लोकबहादुर शाहीले बताउनुभयो ।

तल्लो क्षेत्रमा रहेको उपत्यका जस्तो फाँट देखिने चिल्खायाको ज्यूला र त्यसैसँग जोडिएको रुडुबन्चु पाटन सबैको मन लोभ्याउने स्थान भएकाले यसको प्रवर्द्धन गरी पर्यटनसँग जोड्नुपर्ने उहाँको भनाइ छ ।

“यो पाटन पशुपालनका लागि निकै महत्व मानिएको रुडुबन्चुमा यार्सागुम्बासमेत पाइने गरेको छ”, शाहीले भन्नुभयो, “वर्षायाममा यो पाटनमा भेडाबाख्रा चराउँदा दृश्य निकै रमाइलो देखिन्छ ।”

रुडुबन्चु क्षेत्रको पर्यटन प्रवर्द्धनमा तिलागुफा नगरपालिकाले विशेष योजना बनाएको वडा नं १० का वडाध्यक्ष मुनबहादुर थापाले बताउनुभयो । “पर्यटकीय प्राकृतिक सम्पदा र धार्मिक क्षेत्रलाई हामीले पहिलो प्राथमिकतामा राखेका छौँ”, उहाँले भन्नुभयो, “चिल्खायाको रुडुबन्चु, तिलानदीको काखमा रहेको तिलागुफा, फोइमहादेवको खमाले गुफा, फुलवारी पाटन, स्याउले त्रिवेणी, महावै देवता फुर्केसल्लालगायत धार्मिक तथा पर्यटकीय क्षेत्रलाई पर्यटकीय गतव्यका रुपमा विकास गर्ने योजना बनाएका छौँ ।”

रुडुुबन्चु पर्यकीय हिसाबले सुन्दर पाटन मात्रै नभएर यहाँ जैविक विविधतासमेत रहेको तिलागुफा नगरपालिकाका प्रमुख शङ्करप्रसाद उपाध्यायले बताउनुभयो । “विश्वमै दुर्लभ वन्यजन्तु रेडपाण्डा यस पाटनमा पाइन्छ”, उहाँले भन्नुभयो, “यहाँ जडीबुटी, वनजङ्गल, विभिन्न जीवजन्तु पाइन्छन् । यसको संरक्षण र पर्यटकीयरुपमा प्रवर्द्धन गर्नसके यहाँको विकास र समृद्धिको आधार बन्ने थियो ।”

गाउँसँगै जोडिएको प्रचुर सम्भावना बोकेको चर्चित पर्यटकीयस्थल रुडुबन्चु पाटनलाई स्थानीय सरकारले चासो नदिँदा ओझेलमा पर्दै गएको स्थानीय मनबहादुर शाहीले बताउनुभयो । “यो पाटनका विषयमा प्रचारप्रसार नगर्दा अहिले ओझेलमा परेको छ । यसको संरक्षण, प्रवर्द्धन गर्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो, “यसका लागि तीनै तहका सरकारले नीति तथा योजना बनाएर कार्यान्वयन गर्नुपर्छ ।” रासस