१९ मंसिर २०८२, शुक्रबार
,
Latest
नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

तमानखोलाको ऐतिहासिक पञ्चायत घर जीर्णोद्वार



अ+ अ-

गलकोट । बागलुङको तमानखोला गाउँपालिका–३ तमान गाउँमा रहेको जीर्ण पञ्चायत घर गाउँपालिकाले संरक्षण थालेको छ ।

गाउँपालिकाले पञ्चायत घरलाई पुनर्निर्माण गरी पाहुना घर र पुस्तकालय बनाउने योजनाका साथ भवन जीर्णोद्वारा गरिरहेको छ । नेपालमा २०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्य भए पनि पञ्चायती व्यवस्था सञ्चालन भएको तमान गाउँको पञ्चायत घर हालसम्म जीवित छ । उक्त ऐतिहासिक घरलाई गाउँपालिकाले रु १० लाख बजेट विनियोजन गरेर जीर्णोद्वारको काम भइरहेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो ।

इतिहासको संरक्षण गर्नका लागि पञ्चायतमा शासन चलाएको घरलाई संरक्षण गरिएको बताउनुभयो । उक्त घरलाई आन्तरिक पर्यटकलाई बस्ने र पुस्तकालय बनाउने उदेश्यअनुरुप पुनर्निर्माण गरिएको हो ।

“पञ्चायत ढले पनि घर ढलेको थिएन, गाउँपालिकाले ऐतिहासिक घरलाई संरक्षण गर्न थालेका छौँ, घर पुनर्निमाण गरेर मात्रै भएन, त्यसलाई प्रयोगमा ल्याउन पाहुना राख्ने घर बनाउने र तल्लो तलामा पुस्तकालय बनाउने गाउँपालिकाको योजना रहेको छ”, बुढाले भन्नुभयो, “निरकुंश पञ्चायती व्यवस्था ढलेर प्रजातन्त्रको पुन:बहाली भए पनि पञ्चायत भवन संरक्षित गर्न गाउँपालिकाले आवश्यक ठानेको छ ।”

पञ्चायती व्यवस्थाको झलकका रुपमा रहेको भवनलाई संरक्षण गरेर पर्यटकलाई चिनाउने योजना गाउँपालिकाको छ । पञ्चायतकालमा प्रधान उपप्रधानले यही भवनमा कार्यालय स्थापना गरेर काम गर्ने गरेकोको स्थानीय ललितबहादुर घर्तीमगरले बताउनुभयो ।

तमान गाउँमा रहेको पञ्चायत कार्यालयबाट वडा नं ५ खुङ्खानी, वडा नं ६ नर्जाखानी, वडा नं ४ लाम्मेला, वडा नं २ बोङ्गादोभानलगायतका स्थानका जनतालाई सेवा प्रदान गरिन्थ्यो । भवनलाई पुनर्निमाण गरी संरक्षण गनुपर्ने स्थानीयको मागलाई गाउँपालिकाले सम्बोधन गरेको भवन पुनर्निर्माण समितिका अध्यक्षसमेत रहनुभएका स्थानीय घर्तीमगरले जानकारी दिनुभयो ।

“यो भवन जीर्ण बनेको थियो, यसको संरक्षण र पुन:उपयोग गर्ने उद्देश्यले पुनर्निमाण गरिएको हो”, उहाँले भन्नुभयो, “भवनको पुनर्निर्माण गरिएसँगै गाउँमा हुने अन्य सामाजिक कामको लागि समेत सहयोग पुग्ने छ ।” भवन निर्माणको यकीन मिति नभए पनि पछिल्लो दशकदेखि भवन जीर्ण अवस्थामा रहेको थियो ।

पञ्चायत भवन साविक लुकुरवन, खुङ्गा, नर्जा, खुंखानी, तमान, लाममेला नागरिकले मिलेर निर्माण गरेका थिए । भवन पुनर्निर्माणको करिब ७५ प्रतिशत काम सम्पन्न भएको समितिका अध्यक्ष घर्तीमगरले बताउनुभयो । तमानखोला–३ का वडाध्यक्ष झकबहादुर बुढाले भवन सम्पन्न भएपछि केही समय वडा कार्यालय राखिने र पछि पुस्तकालय बनाइने छ ।

यहाँबाट गाउँमा केही बदमासी गर्ने, आपराधिक क्रियाकलाप गर्नेलाई सजायसमेत दिइन्थ्यो । तमान पञ्चायत क्षेत्रमा तत्कालीन अवस्थामा खप्रसाद बुढामगर लगायतले शासन गरेको स्थानीयको भनाइ छ । गाउँपालिकाले यसको इतिहास र को–को पञ्चायतले शासन गरे भन्नेबारे गाउँपालिकाले खोजी गरिरहेको छ । रासस