१९ मंसिर २०८२, शुक्रबार
,
Latest
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बत्तीस वर्षदेखि डोकोमा तरकारी बेच्दै ‘लक्ष्मी’



अ+ अ-

वालिङ । स्याङ्जाको चापाकोट–९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च गर्न थालेको ३२ वर्ष पुग्यो । आफूले उत्पादन गरेका तरकारी गाउँ तथा बजारका घरघरमा पुर्‍याएर बिक्री गर्ने उहाँको दैनिकी निकै लामो छ ।

मौसम अनुसारका तरकारी उत्पादन गरी आफैँले डोकोमा बोकेर बजार जाने गरेकाले बिक्रीको समस्या नभएको उहाँले बताउनुभयो । “मौसम अनुसार उत्पादन हुने तरकारी दुई/चार किलोका दरले टिप्छु, सबै मिलाउँदा भारी पुग्छ”, उहाँले भन्नुभयो, “ग्राहकले पनि आफूले चाहेको ताजा तरकारी घरदैलोमै पाउनुहुन्छ ।”

आफूले उत्पादन गरेका तरकारी घरदैलोमै पुगेर बिक्री गर्ने गरे पनि होलसेलमा कसैलाई पनि नदिएको लक्ष्मीले दाबी गर्नुभयो । उमेरले पाँच दशक पुग्नुभएकी लक्ष्मीको परिवारको मुख्य आम्दानीको स्रोत नै तरकारी हो ।

“तरकारी भएका बेला बिहान ६ बजे बिक्रीका लागि निस्कन्छु”, उहाँले भन्नुभयो, “दिउँसो १–२ बजेमात्रै तरकारी बिक्री गरेर घर आउँछु ।” तरकारी बिक्री गरेर घर फर्केपछि बारीमा तरकारी लगाउन व्यस्त हुने गरेको उहाँको भनाइ छ ।

सासुससुरा, बिरामी श्रीमान् र पाँच छोराछोरीको लालनपालन, पढाइ तथा घरखर्च लक्ष्मीले तरकारी बिक्रीबाट भएको आम्दानीले चलाउँदै आउनुभएको छ । छोरीहरुको उच्च शिक्षा, बिहेवारी र छोरालाई इन्जिनियर पढाउने आम्दानी पनि तरकारीखेतीबाटै भइरहेको लक्ष्मीले जानकारी दिनुभयो ।

“घरखर्च, छोराछोरीको बिहेवारी, पढाइ खर्च सबै यसैबाट चलाउँदै आएकी छु”, उहाँले भन्नुभयो, “यसका अलावा बचत भएको रकमबाट साढे दुई तलाको घर, चापाकोटमै नौ रोपनी जग्गा र बुटवलमा नौ धुर जग्गा जोडेकी छु ।”

छोरीहरूको बिहेवारी भइसकेको र छोरा पढ्नका लागि बाहिर भएकाले अहिले आफू एक्लै तरकारीखेती गर्दै आएको उहाँले अनुभव सुनाउनुभयो । परिश्रम गर्न सके आम्दानी गर्न सकिने प्रशस्त बाटा रहेका उहाँको बुझाइ छ ।

“उत्पादन भएका तरकारी आफैँ बिक्री गर्न हिँड्दा कतिले तल्लो छेउ पारेर पनि बोल्छन्”, लक्ष्मीले भन्नुभयो, “आफ्नो काम गरेर खाँदा पनि त्यस्तो व्यवहार गर्छन्, श्रमको सम्मान नहुँदा दु:ख लाग्छ तर, यही पेसाले यहाँसम्म ल्यायो, म खुसी छु ।”

गत वर्षमात्रै उहाँले २५ मुरी गुन्द्रुक बिक्री गर्नुभएको थियो । गत वर्ष १० मुरी गुन्द्रुक काठमाडौँमा बिक्री गर्नुभएको थियो भने अरु स्थानीय चापाकोट बजारमै बिक्री गर्नुभएको थियो । लक्ष्मीको खेतबारीमा अहिले करेला, घिरम्ला, टमाटर, काउली बन्दा, सिमी, बोडा, काक्रा, भिण्डी, लौकालगायत तरकारी छन् । रासस