१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युतीय तारबारबाट जोगिन सूचना बोर्ड र साइरन मेसिन



फाईल फोटो
अ+ अ-

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लगाइएको विद्युतीय तारबारबाट जोगिन सूचना बोर्ड र साइरन मेसिन जडान गरिने भएको छ । निकुञ्जका वन्यजन्तुबाट जोगिन लगाइएका विद्युतीय तारबारबाट मानवीय क्षति हुन नदिन सूचना बोर्ड र साइरन मेसिन जडान गरिने भएको हो ।

सोमबार चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्रअन्तर्गत अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समिति माडी नगरपालिका–८ मा विभिन्न उपभोक्ता समितिका सोलार तारबार हेरालुलाई खतरा सूचना बोर्ड, साइरन मेसिन र सुरक्षाका सामग्री हस्तान्तरण गरिएको छ ।

सामग्री हस्तान्तरण गर्दै मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले विद्युतीय तारबारबाट जोगिन बेलैमा सचेत बन्नुपर्ने र समुदायस्तरमा पनि जनचेतना फैलाउनुपर्ने बताउनुभयो । समुदायमा जनचेतना दिँदै मानवीय दुर्घटना न्यूनीकरणका लागि सुरक्षा सामग्रीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । मध्यवर्तीका नागरिकलाई निरन्तर सचेतना कार्यक्रम गरिरहेको उहाँको भनाइ छ ।

गत असोज २५ माडी–९ कृष्णनगरका विकल्प सुवेदीको विद्युतीय तारबारको झड्काबाट मृत्यु भएको थियो । त्यसपछि स्थानीयलाई विद्युत् छाडेको जानकारी दिन साइरन र नछुन अनुरोध गर्दै सूचना बोर्ड राखिएको अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शिवजी गायकले बताउनुभयो ।

हात्ती, गैँडा, बाघलगायत वन्यजन्तु निकुञ्जबाट मानव बस्तीमा प्रवेश नगरून् भन्ने उद्देश्यले विद्युतीय तारबार जडान गरिएको उहाँले जानकारी दिनुभयो । यो क्षेत्रमा झन्डै १२ किलोमिटर क्षेत्रमा विद्युतीय तारबार जडान गरिएको गायकले बताउनुभयो । बेलुका ७ देखि बिहान ६ बजेसम्म तारमा विद्युत् छाडिन्छ । “अब विद्युत् छाड्न अघि साइरन बज्छ”, उहाँले भन्नुभयो, “ठाउँ ठाउँमा यो तार छुनु हुन्न भनेर बोर्डसमेत टाँस गर्नेछौँ ।”

अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समिति, रेवा मध्यवर्ती उपभोक्ता समिति, बघौडा मध्यवर्ती उपभोक्ता समिति र पर्सामा रहेको निर्मलठोरी मध्यवर्ती उपभोक्ता समितिलाई सामग्री हस्तान्तरण गरिएको हो । यस्तै उनीहरुलाई सुरक्षा सामग्री लाइट, रेनकोट, बुट जुत्ता, बिजुलीको तार छुने टेस्टर, हम्मर, पिलास, झोलालगायत सामग्रीसमेत वितरण गरिएको छ ।

तराई भू–परिधि कार्यक्रम ९ताल०को सहयोगमा सामग्री हस्तान्तरण गरिएको हो । यो क्षेत्रमा सोलार फेन्स जडानपछि ठूला वन्यजन्तुको प्रवेश र क्षति कम भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । रासस