• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

शिक्षण छाडेर पशुपालनमा रमाइरहेका गोपाल



घोराही । दाङको घोराही उपमहानगरपालिका–२ रामपुर निवासी ३४ वर्षीय गोपाल खनाल विसं २०७३ सालअगाडि उहाँ शिक्षण पेसामा आवद्ध हुनुहुन्थ्यो । गाउँमै एक बोर्डिङ स्कुलमा पढाउँदै आउनुभएका उहाँ पछिल्लो आठ वर्षदेखि भने शिक्षण छोडेर कृषि पेसामा लागिरहनुभएको छ ।

‘ग्रीन लक्ष्मी गाई तथा भैँसी फर्म’ स्थापना गरेदेखि उहाँ अरु सबै काम छोडेर यही पेशामा रमाइरहनुभएको छ । “शिक्षण पेसा अथवा अन्य कुनै जागीर गर्नुभन्दा आफ्नै व्यवसाय गर्दा आत्मसन्तुष्टि र आम्दानी पनि हुने बुझाइसहित फर्म स्थापना गरेको थिए । अहिले यसमै रमाइरहेको छु”, खनालले भन्नुभयो, “कोरोनाको समयमा केही समस्या भए पनि अहिले सहज हुँदैगएको छ । अब त यसैमा अभ्यस्त भइसकेँ ।”

सुरुआती दिनमा चार लिटरबाट दूध बेच्न सुरू गर्नुभएका उहाँले हाल एक सय २० लिटर उत्पादन गरेर बिक्री गरिरहनुभएको छ । त्योमध्ये अधिकांश दूध डेरीलाई बिक्रिविरण गर्दै आएको बताउने उहाँलाई अहिले बिहान उठेदेखि बेलुकासम्म गाईभैँसीको स्याहारसुसार र दूधको चाजापाँजो मिलाउन भ्याइनभ्याई छ । परिवारको सहयोग र आफ्नो मेहनतले रु ४० हजारबाट सुरू गरिएको व्यवसायमा अहिले रु ६० लाख लगानी पुगेको खनालको भनाइ छ । “सुरुआती दिनमा व्यवसाय कसरी अगाडि बढ्ला भनेर चिन्ता लाग्ने गथ्र्यो तर निरन्तर मेहनत गरेमा सफलता मिल्दो रहेछ ।

अहिले मासिक रु एक लाखको कारोबार गरिरहेको छु भने वार्षिकरूपमा करिब रु सात लाखसम्म बचत हुने गरेको छ”, खनालले रासससँग भन्नुभयो । उहाँले गाईभैँसीका लागि आवश्यक दाना बजारबाट किन्ने गरे पनि घाँस भने आफैँ उत्पादन गर्न थालेदेखि आम्दानीको केही रकम जोगाउन सकिएको बताउनुभयो । उहाँ स्थानीय सरकारले किसानको समस्या बुझ्न र व्यवसायवृद्धिका लागि प्रोत्साहन गर्नसके थप सहज हुने उहाँको बुझाइ छ ।

उहाँ व्यावसायिक पशुपालन र कृषि उद्यम गर्न चाहनेहरूलाई सरकारले सहुलियतका कार्यक्रम ल्याए विदेशीन चाहने युवालाई पनि स्वदेशमै रोक्न सकिने धारणा राख्नुहुन्छ । किसानका लागि सहुलियतका कार्यक्रम ल्याउनसके धेरै जना उद्यमशीलतातर्फ आकर्षित हुन्छन् भन्ने उहाँको विश्वास छ । त्यसो गर्न नसके पनि भएका नीतिनियमको कार्यान्वयन र किसानमैत्री ऐन कानुन बनाउनसकेमा पनि उद्यमशीलता विकासमा टेवा पुग्नसक्ने उहाँले बताउनुभयो । “मजस्ता उद्यमशील युवाले स्थानीय सरकारलाई आग्रह नगरेका पनि हैनौँ तर विविध कारणmे जिल्लामा विभिन्न पेसा–व्यवसायमा जोडिएका युवासमेत पछिल्लो समय व्यवसाय नै बन्दगरेर विदेशीन थालेका छन् । यसलाई रोक्न जरूरी छ”, उहाँले भन्नुभयो ।

डेरीलाई प्रतिलिटर रु ७० मा बिक्री गर्नुहुने उहाँको सबैभन्दा ठूलो चित्त दुखाइ आफैँले उत्पादन गरेको दूधको मूल्य निर्धारण प्रक्रियामा सङ्लग्न हुन नपाउनुमा छ । “हामीले नाफाघाटा, दु:खकष्ट सहेर उत्पादन गर्छौ तर न सरकारले दूधको उचित मूल्य निर्धारण गर्छ न त मूल्य निर्धारण प्रक्रियामा कृषकलाई सहभागी गराउँछ । यसले हामीलाई निराश बनाएको छ”, खनालले गुनासो गर्नुभयो ।

खनालको फर्ममा अहिले २८ वटा गाईभैँसी छन् । उहाँलगायत घोराही उपमहानगरपालिका–२ रामपुर क्षेत्रका किसानबाट दैनिक एक हजार लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको छ । रासस