• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय ★   गर्मी छल्न सुकुटे, र्‍याफ्टिङले पर्यटक आकर्षित ★   बजेट प्रभावकारी कार्यान्वयनमा सांसदहरुको जोड ★   ‘दलीय न्यायाधीश नियुक्त प्रक्रियाले स्वतन्त्र न्यायपालिकाको परिकल्पना गर्न सकिँदैन’ ★   नन्दाले नेपाललाई स्वर्ण पदक दिलाइन् ★   गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गर्दै दर्ता रिटमा कारण देखाउ आदेश जारी

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर



खजुरा । अत्यधिक गर्मी र तातो हावा ‘लू’का कारण बाँकेको जनजीवन प्रभावित बन्दै गएको छ । दिउँसो १२ बजेपछि बेलुका ५ बजेसम्म अत्यधिक गर्मी र तातो हावा ‘लू’ चल्ने गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालयका अनुसार नेपालगञ्जको अधिकतम तापक्रम बढेको हो । तातो हावाबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न विभिन्न उपाय अपनाउन महाशाखाले अनुरोध गरेको हो ।

तातो हावाबाट बच्न गर्मी समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, पानी तथा झोलिलो पदार्थ प्रशस्त मात्रामा सेवन गर्ने, स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न भेरी अस्पतालका फिजिसियन डा पारश श्रेष्ठले आग्रह गर्नुभयो ।

अत्यधिक गर्मीले नेपालगञ्जको तापक्रममा उतारचढाव हुने गरेको छ । दिउँसोको समयमा चल्ने सुक्खा तातो हावाका कारण जनजीवन प्रभावित बन्दै गएको छ । चर्को गर्मी र तातो हावाका कारण दैनिक ज्याला मजदुरी गरेर हातमुख जोड्ने वर्गलाई धेरै प्रभाव परेको छ । दैनिक रूपमा ठेला चलाउने, रिक्सा चलाउने तथा अन्य ज्यालादारी गर्ने मजदुरलाई समस्या परेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष नन्दलाल बैश्यले बताउनुभयो ।

चर्को गर्मी र तातो हावाका कारण सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि पातलिएको छ । अत्यावश्यक काम भएका सेवाग्राही मात्र कार्यालयमा आउने गरेका छन् । भेरी अस्पतालमा पनि बिरामीको चाप बढेको डा श्रेष्ठले बताउनुभयो ।

दिउँसोको समयमा सुनसान जस्तो देखिने नेपालगञ्जको बजार साँझको समयमा भने भीडभाड हुने गरेको छ । बजारका विभिन्न चोक तथा पसलमा काँक्रो, खरबुजा, लस्सी, आइसक्रिम, कुल्फी तथा चिसो पेयपदार्थ सेवन गर्ने सर्वसाधारणको सङ्ख्या उल्लेख्य देखिन्छ । रासस