३ चैत्र २०८१, आईतवार
March 16, 2025 Sunday

25.27°C

काठमाडौं

25.27°C

Kathmandu

Feels-like: 24.66

Wind: 4.12

Humidity: 31

Latest
सामाजिक सञ्जालमा प्रचण्ड परिवारको चरित्रहत्या गर्नेहरूविरुद्ध साइबर ब्युरोमा जाहेरी मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन नेप्से परिसूचकमा २१ अङ्कको गिरावट राजश्व उठाएर खर्च धान्न सकस पर्यो, बजेट निर्माणमा अनुशासनतर्फ फर्कन विलम्व नगरौंः अर्थमन्त्री नेपालमा छिटै राजतन्त्र फर्किन्छः बाबा कालिदास मौलिक र वास्तविक मूल्याङ्कनबाट मात्र राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन सकिन्छः प्रधानसेनापति मध्य अमेरिकामा आँधीका कारण कम्तीमा २७ जनाको मृत्यु सेतो अण्डा नष्ट गर्दै सशस्त्र प्रहरीबल विधेयकमा स्थानीय तहको वित्तिय स्वायत्ततामा असर पर्ने प्रावधान राख्नु हुँदैन सांसदहरु नेपाललाई असफल राष्ट्र हुनबाट जोगाएका छौँः मन्त्री गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिसो मौसममा भिक्षु विद्यार्थीलाई ज्याकेटले दिएको खुसी



अ+ अ-

लुक्ला । जिउ काम्ने गरी बहने चिसो हावा । कठ्याङ्ग्रिएका कलिला हातखुट्टा कहिलेकाहीँ त चलाउन पनि गाह्रो हुन्छ । कक्षाकोठामा चिसोसँग जुध्दै पढ्नु यहाँस्थित थाङ्का पेन्टिङ विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीको बाध्यता हो ।

जाडो याममा बाक्लो हिउँ पर्दा कक्षाकोठसम्म पुग्न पनि मुस्किल हुन्छ । आर्थिक अवस्था कमजोर हुँदा विद्यार्थीले भने जस्तो न्याया कपडा पाउँदैनन् । पाए पनि वर्ष दिन टिक्ने खालका हुँदैनन् । उनीहरुको समस्या बुझ्नुभएका गत साता वरिष्ठ पर्यटन व्यवसायी आङछिरिङ शेर्पा न्याना कपडा बोकेर काठमाडौँबाट लुक्ला पुग्नुभयो । केमजुङ गुम्बाभित्र सञ्चालित विद्यालयका विद्यार्थीलाई ज्याकेट वितरण गर्नुभयो ।

ज्याकेट पाएपछि लोखिमका जिङ्मे डेन्डुको मुहारमा कान्ति छायो । “ज्याकेट लगाउन पाउँदा धेरै खुसी लागेको छ”, रातो रङको ज्याकेट पहिरिएपछि डेन्डुले भन्नुभयो, “चिसाबाट बच्न अब सजिलो भएको छ ।”

सोही विद्यालयमा कक्षा ८ मा अध्ययनरत सोलुखुम्बु काकुका रिमछेन दावालाई पनि ज्याकेट लगाउन पाउँदा औधि खुसी लागेको छ । परिवारको एक्लो छोरा उहाँ लामा गुरु बन्ने उद्देश्यले अध्ययनका लागि लुक्ला आउनुभएको हो । लुक्लामा चाँडोयाममा हिउँ पर्ने र अत्यधिक चिसो हुनेहुँदा विद्यार्थी निकै समस्यामा पर्ने गरेको उहाँले सुनाउनुभयो । न्याना कपडाले विद्यार्थीको पढाइ र बसाइलाई सहज बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

लामा पोसाक सुहाउँदो ज्याकेट लगाएपछि कक्षा ३ मा अध्ययनरत डेन्डुजस्ता विभिन्न तहमा अध्ययनरत २१ भिक्षु विद्यार्थीको अनुहारमा छचल्किएको खुसीले विद्यालयको माहोललाई रौनक बनाएको थियो । शेर्पासँगै सोलुखुम्बुकै पेमा छोलिङ गुम्बा बौद्ध विश्वविद्यालयका ३५ विद्यार्थी, चार शिक्षक, गुम्बा व्यवस्थापनमा खटिने अन्य गरी ६० थान ज्याकेट प्रदान गरिएको छ ।

सामाजिक अभियन्ता शेर्पा र ‘क्लाइमेट अलाइन्स अफ हिमालयन कम्युनिटिज’ का महासचिवसमेत रहनुभएकी छाती रोग विशेषज्ञ डा लक्ष्मी आवाले संयुक्तरुपमा समाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत न्यानो ज्याकेट वितरण, नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन, औषधि, खाद्यान्यलगायत सहयोग गर्दै आउनुभएको छ ।

सोलुको सल्लेरी, नेले, काकु, लोखिमलगायत स्थानबाट उक्त विद्यालयमा अध्ययन गर्न भिक्षुहरु आएका छन् । विद्यालयका शिक्षक साङ्गेलाक्पा दोर्जे शेर्पाका अनुसार कक्षा ११ सम्म पढाइ हुने विद्यालयमा जिल्लाका विभिन्न स्थानबाट विद्यार्थी आउने गरेको बताउनुहुन्छ । भिक्षु विद्यार्थी उच्च शिक्षाका लागि काठमाडौँको फर्पिङ र भारतका विभिन्न स्थानमा जाने गरेका छन् ।

खुम्बु पासाङल्हामु गाउँपालिका–३ मा रहेको पेमा छोलिङ गुम्बा यो क्षेत्रकै ठूलो र पुरानो गुम्बा हो । सोलु ठाडोकोसीका शेर्पाले भविष्यमा शिक्षक बनेर यसरी नै गरिब, बेसाहारा भिक्षु विद्यार्थीहरुलाई पढाउने योजना रहेको सुनाउनुभयो । घरको कमजोर अवस्थाकै कारण आफू आमा, बुबा र भाई छोडेर गुम्बामा बस्दै आएको उहाँले बताउनुभयो ।

वरिष्ठ पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले विशेष गरी गुम्बामा अभिभावकविहीन बालबालिका रहेकाले उनीहरुलाई न्यानो कपडा वितरण र स्वास्थ्य शिविर सञ्चालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बेसाहरा बच्चा जो स्कुल, कलेजमा पैसा तिरेर अध्ययन गर्न सक्दैनन् उनीहरुको शिक्षा र लालनपालनको जिम्मा गुम्बाले लिँदै आएका छन् । गुम्बाहरु उचाइमा हुने र धेरै हावा चल्ने भएकाले पढाइलाई सहज होस् भनेर न्यानो कपडा वितरण गरिएको हो ।”

हिमाली क्षेत्रका गुम्बा अति दुर्गम र उच्च स्थानमा अवस्थित भएकाले धेरै चिसो हुने, हावा चल्नुका साथै धुवाँ, धुलो र चिसोका कारण समस्या हुने गरेको छ । कक्षाकोठामा ‘हिटिङ सिस्टम’ नहुँदा विद्यार्थी चिसोमै पढ्न बाध्य भएकाले ज्याकेट वितरण गरिएको शेर्पाले बताउनुभयो ।

अभियानता डा आवाले सामाजिक सेवाअन्तर्गत स्वास्थ्य, शिक्षा र वातावरण संरक्षणलाई प्राथमिकता दिएर सामाजिक अभियानमा लागेको बताउनुभयो । “विशेष गरेर हिमालय क्षेत्रका जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखेका छौँ । वातावरण संरक्षणमा सचेतना अभिवृद्धिको कामलाई पनि सँगै अगाडि बढाएका छौँ”, उहाँले भन्नुभयो ।

गोरखा र जाजरकोट भूकम्पपीडितलाई पनि विभिन्न शीर्षकमा नगद, लत्ताकपडा, खाद्यान्यलगायतका राहत सामग्री वितरण गर्दै आइएको डा आवाले जानकारी दिनुभयो । उहाँले आफ्नो आम्दानीको केही अंश समाजसेवामा लगाएको बताउनुभयो ।

थाङ्का पेन्टिङ विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष दावाफुटी शेर्पाले विद्यार्थीलाई ज्याकेट वितरण गरेर पवित्र काम गर्नुभएको भन्दै उहाँजस्तै मनकारी मनहरुले समस्यामा परेका विद्यार्थीलाई यसरी नै सहयोग गर्न आग्रह गर्नुभयो ।

“कोरोना महामारीको समयमा पनि उहाँले विद्यालयलाई राहत दिनुभएको थियो ।  अहिले फेरि न्यानो कपडा र चामल दिनुभएको छ । उहाँको सहयोगलाई हामी धन्यवाद दिन्छौँ”, उपाध्यक्ष शेर्पाले भन्नुभयो ।

विद्यालयमा विशेषगरी थाङका सिकाइन्छ । बौद्ध संस्कृतिलाई कलामार्फत जीवित बनाउने प्रयास गरिन्छ । गुम्बाभित्र देवताका सबै चित्र यही अध्ययन गरेका विद्यार्थीले बनाएका हुन् । थाङ्का उत्पादन र बिक्री वितरण हुन्छ । युवा भिक्षुहरुले रोजगारी पनि पाएका छन् ।

थाङका पेन्टिङ विद्यालयका शिक्षक साङ्गेलाक्पाले न्यानो कपडाले विद्यार्थीलाई निकै ठूलो राहत मिलेको बताउनुभयो । “विद्यालय उचाइमा अवस्थित छ । जाडो याममा तापक्रम माइनस पाँच डिग्रीसम्म पुग्छ । चिसोका कारण विद्यार्थीमा रुघाखोकी, छातीरोगलगायत समस्या देखिने गरेको छ”, उहाँले भन्नुभयो । इलाम घरभएका उहाँ फर्पिङस्थित गुम्बाबाट अध्ययन गरेर यो विद्यालयमा अध्यापन गर्न आउनुभएको हो ।

व्यवसायी शेर्पाले पेमा छोलिङ गुम्बाको आवास भवनका लागि जस्तापाता र सोही क्षेत्रको माथिल्लो गुम्बालाई भान्साका लागि आवश्यकपर्ने भाँडाकुँडा सहयोग गर्ने बताउनुभयो ।

पेमा छोलिङ गुम्बाका प्रमुख नवाङ ठिले शेर्पाका अनुसार उक्त गुम्बामा ३५ जना अध्ययनरत छन् । विकट गाउँबाट आएका उनीहरुलाई खाना, लत्ताकपडा दाताको भरमै चलेको छ । गुम्बामा खाद्यान्य र लगाउने कपडाको अभाव छ । चार जना शिक्षकलाई तलबको जोहो पनि चुनौती बनिरहेको छ । उहाँले गुम्बामा शेर्पा समाजलगायत संस्थाले पनि विभिन्न सहयोग गर्दै आएको बताउनुभयो ।

पेमा छोलिङ गुम्बा व्यस्थापन समितिका अध्यक्ष लुर्बुठिले शेर्पाका भनाइमा अहिलेको मुख्य चुनौती भनेको भिक्षुहरुको पठनपाठन र पालनपोषण हो । गुम्बाको कुनै आयस्रोत छैन । तरकारी चियापान, खाद्यान्यलगायत सामग्री सहयोगबाटै जुट्छ । यो क्षेत्रका १५ मध्ये यो सबैभन्दा ठूलो गुम्बा हो । पुरानो गुफा तेङबोचे गुम्बा, थामे गुफा, नाम्चे र खुम्जुङको शाखा गुफामा पनि भिक्षु विद्यार्थीको सङ्ख्या बाक्लो छ ।

सामाजिक कार्यक्रमा सक्रिय आङछिरिङ र लक्ष्मीले सोलुका विभिन्न गुम्बामा करिब पाँच सय थान ज्याकेट नि:शुल्क  वितरण गरिसक्नुभएको छ । यीमध्ये दुई सय ६० थान ज्याकेट पुनिल बालन ग्रुपले उपलब्ध गराएको हो भने बाँकी ज्याकेट एसियन ट्रेकिङले सहयोग गरेको हो ।

जिल्लाको तेङ्बुचे गुम्बा, पेमाछोलिङ, गुम्बा, रिमिजुङ गुम्बा, थाङका पेन्टिक लुक्का, थाकसेन्दु गुम्बा, चिवाङ गुम्बा, सल्लेरी गुम्बा र व्यक्तिगत रुपमा पनि ज्याकेट वितरण गरिएको शेर्पाले जानकारी दिनिुभयो । उहाँका अनुसार अहिले विभिन्न गुम्बाबाट थप एक हजार चार सय थान ज्याकेटको माग भइआएको र सोको जोहोका लागि लागिपरेको बताउनुभयो ।

व्यवसायी शेर्पाले गुम्बामा ज्याकेट, स्वास्थ्य शिविर, खाद्यान्य, लत्ताकपडालगायतमा अहिलेसम्म रु ५० लाखभन्दा बढी व्यक्तिगतरुपमा खर्च भइसकेको बताउनुभयो । भूकम्प, कोरोनालगायत महामारीका समयमा पनि स्वास्थ्य सामग्री र शिविर सञ्चालन र राहत वितरणमा करोडौँ रकम खर्चिसकेको उहाँको दाबी छ ।

हाल सोलुमा एक सय २६ गुम्बा छन् । ती गुम्बाबाट एक हजार तीन सय ५९ भिक्षुलाई ज्याकेट माग भइआएकाले व्यवस्थापनका लागि लागेको शेर्पाले बताउनुभयो । उहाँले भविष्यमा उपलब्ध स्रोतअनुरुप वितरण गर्ने योजना रहेको सुनाउनुभयो । “नि:शुल्क स्वास्थ्य शिविरको माग धेरै छ । पैसा भएपनि औषधि किन्ने स्थान नभएकाले चारदेखि छ महिनाको औषधिको माग पनि आइरहेको छ । गुम्बामा बस्ने धेरैजसो लामालाई उच्च रक्तचाप, छाती, आँखालगायतमा समस्या छ”, व्यवसायी शेर्पाले भन्नुभयो ।

दुर्गमका मठमा भिक्षुहरुले सामना गर्ने चुनौतीलाई सम्बोधन गर्ने प्रयासमा व्यवसायी आङछिरिङ र डा लक्ष्मीको पहल तथा पुनित बालेन ग्रुपको सहयोगमा सोलुखुम्बुका दुर्गम हिमाली क्षेत्रका गुम्बामा न्यानो ज्याकेट वितरण गरिएको हो । यसले भिक्षुहरुको कठोर जीवनलाई केही सहजता प्रदान गरेको छ ।

खुम्जुङमा जन्मिएर हुर्केका आङछिरिङ शेर्पा पर्यटन क्षेत्रमा मात्रै नभई  वातावरण संरक्षणको प्रयासमा पनि सक्रियरुपमा संलग्न हुनुहुन्छ । डा लक्ष्मीले पनि चिकित्सा पेसाबाट भएको आम्दानी सामाजिक काममा लगाउनुभएको छ । नेपालको पहाडी क्षेत्रको प्राकृतिक वातावरण र संस्कृतिक सम्पदा उहाँहरुको पहलहरुले संरक्षणको महत्वबारे चेतना जगाउनमा केन्द्रित छन् ।

पुनित बालन समूहले सामाजिक आर्थिक समस्याको सामना गरिरहेका हिमाली क्षेत्रमा विपन्न समुदायलाई  खाद्यान्य, लत्ताकपडा र आश्रयजस्ता आवश्यक स्रोतहरु उपलब्ध गराउँदै आएको छ । साथै शिक्षा, स्वास्थ्य सेवा, र दिगो विकास परियोजनालाई समर्थन गर्दै तिनीहरुको पहलले कमजोर जनसङ्ख्यालाई सशक्त बनाउन र दीर्घकालीन समाजिक आर्थिक वृद्धि, सामाजिक उत्तरदायित्व प्रति प्रतिबिद्धता प्रदर्शन गर्दै समुदायको कल्याणमा केन्द्रित छ । रासस