• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’ ★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित ★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि ★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी



खजुरा । जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगञ्जबाट नौ महिनामा रु ७० करोडभन्दा बढी मूल्यको जडिबुटी निकासी भएको छ ।

विभिन्न समस्या र अवरोधका बावजुद चालु आवको साउनदेखि चैतसम्म नौ महिनाको अवधिमा रु ७० करोडको जडिबुटी निकासी भएको नेपाल जडिबुटी व्यवसायी सङ्घले जनाएको छ । जडिबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्कप्रसाद शर्माका अनुसार निकासीमा आन्तरिक तथा बाह्य क्षेत्रबाट झेल्नुपरेको कठिनाइका कारण व्यवसायीले नौ महिनामा रु ७० करोडको जडिबुटी निकासी गर्न सफल भएका छन् ।

नेपाली जडिबुटीप्रति भारतको झन्झटिलो प्रक्रिया र नेपाल सरकारको अस्पष्ट नीतिका कारण जडिबुटी निकासी हरेक वर्ष घट्दै गए पनि यो वर्षदेखि पुन: उकालो लाग्ने सङ्केत देखिन थालेको अध्यक्ष शर्माले बताउनुभयो ।

नेपालगञ्ज भन्सार कार्यालयका अनुसार चालु आव २०८०/८१ को चैत मसान्तसम्म नेपालगन्ज नाकाबाट रु ७० करोड ६२ लाख ३५ हजार मूल्य बराबरको २८ लाख पाँच हजार आठ सय ३९ किलोग्राम विभिन्न जडिबुटी निकासी भएको हो । गत आव २०७९/८० को चैत मसान्तसम्म यो नाकाबाट रु ७० करोड ९६ लाख १० हजार मूल्यको जडिबुटी निकासी भएको थियो ।

कर्णाली प्रदेशलगायतका पहाडी जिल्लामा उत्पादन भएका जडिबुटीको भण्डारण र विदेश निर्यातका लागि नेपालगञ्ज प्रमुख ट्रान्जिट हो । नेपालगञ्ज हुँदै भारतलगायत विभिन्न देशमा जडिबुटी निकासी हुँदै आएको छ । यो नाकाबाट टिम्मुर, रिठा र काउलो सबैभन्दा बढी निकासी भइरहेको छ । औषधि, साबुन, स्याम्पु जस्ता सामग्री बनाउन प्रयोग गरिने यी जडिबुटी भारतमा मात्र नभई जर्मन, बङ्गलादेश जस्ता तेस्रो मुलुकमा पनि निर्यात भइरहेको नेपाल जडिबुटी व्यवसायी सङ्घले जनाएको छ ।

कर्णाली प्रदेशका पहाडी जिल्लामा पाइने टिम्मुर, काउलो र रिठा त्यहाँबाट खरिद गरी व्यवसायीले विदेश निकासी गर्दै आएका छन् । तर निकासीका क्रममा जडिबुटी व्यवसायीले विगत केही वर्षदेखि विभिन्न झन्झट बेहोर्नुपरेकाले समस्या हुँदै आएको जडिबुटी व्यवसायी सङ्घका अध्यक्ष शर्माले बताउनुभयो । रासस