• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
Latest
★   सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम सपन्न गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ★   महिला ट्राफिक प्रहरीहरुलाई महिनावारीका ४ दिन सडकमा डिउटी नपर्ने ★   विपक्षी दलको बैठक जारी ★   गणतन्त्र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने प्रयासको प्रतिफल हो: प्रधानमन्त्री ★   खैरालामा स्वास्थ्यचौकी भवन निर्माण ★   गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र: अध्यक्ष ओली ★   बजेटअघि कांग्रेससहितका विपक्षी दलहरुको बैठक बस्दै ★   जनताको अपेक्षा र आकाङ्क्षाभन्दा पर पुगेर गरिने शासनले गणतन्त्र बलियो हुँदैन ★   पशुपतिमा साउनभर कोटिहोम महायज्ञ, विभिन्न उपसमिति गठन ★   सात सदस्यीय समितिलाई तीन महिनाको समय दिने तयारी

पृथ्वी राजमार्ग सडक विस्तारमा दिनरातै काम



फाईल फोटो

तनहुँ । पृथ्वी राजमार्गको मुग्लिन पोखरा सडक विस्तार आयोजना अन्तर्गत तनहुँको जामुनेदेखि पोखरासम्मको पश्चिम खण्ड विस्तारलाई तीव्र बनाउन दिनरातै कामदार खटाइएको आयोजनाले जनाएको छ ।

दिनमा करिब सय जना र रातको समयमा करिब ५० जना कामदार खटाएर निर्माण तीव्र पारिएको चिनियाँ ठेकेदार कम्पनी ‘एनहुई केयुनन हाइवे एण्ड ब्रिज’ का इञ्जिनीयर अनुप श्रेष्ठले  जानकारी दिनुभयो । दिनरात र बिदाको समयमा पनि आफूहरु खटिएकोले हाल २३ प्रतिशतभन्दा धेरै प्रगति हासिल गरेको उहाँले बताउनुभयो । पश्चिम खण्डमा नौ दशमलव दुई किलोमिटर सडक पक्की निर्माण गरिएको इञ्जिनीयर श्रेष्ठले बताउनुभयो ।

ठेकेदार कम्पनीले पनि उक्त आयोजनालाई प्रतिष्ठाको विषय बनाएकोले करिब एक सय जना चिनियाँ प्राविधिकसहित सडक विस्तार तीव्र पारिएको चिनियाँ कम्पनीका साईड इञ्जिनीयर छन्ज लोनले जानकारी दिनुभयो ।

‘‘सडक विस्तारलाई तीव्र पार्न एक सय जना त चिनियाँ प्राविधिक नै खटिएका छन्’’, इञ्जिनीयर छन्ज लोनले भन्नुभयो, ‘‘यो सडक विस्तारलाई प्रभावकारी तवरले कसरी सम्पन्न गर्न सकिन्छ भन्नेमा हामी जुटिरहेका छौँ ।’’ आफूहरुले दिनरात गरी सडक विस्तारलाई अघि बढाएकाले २३ प्रतिशतले प्रगति भएको आयोजनाले जनाएको छ । गण्डकी प्रदेशको राजधानी पोखरालाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने प्रमुख सडक स्तरोन्नतिमा सबैको चासो रहँदै आए पनि लक्ष्यअनुरुप काम हुन नसक्दा आलोजना भएको थियो ।

जामुनेदेखि पोखरासम्म ३८ दशमलव ८८ किलोमिटर दूरीको यस खण्डमा चार वटा ठूलो र आठ वटा सानो गरी १२ वटा पुलसमेत धमाधम निर्माण भइरहेको आयोजना पश्चिम खण्डले जनाएको छ । पश्चिम खण्ड अन्तर्गत पोखरा र दुलेगौँडासहित मुख्य बजार क्षेत्रमा करिब बीस किलोमिटर खण्डमा छ लेन रहने गरी ४६ मिटर फराकिलो र जामुनेदेखि कुम्ले खोलासम्म १८ मिटर र बाँकी सडक खण्ड २३ मिटर फराकिलो कायम रहने गरी कालोपत्र गरिने आयोजना प्रमुख राजेश पौडेलले जानकारी दिनुभयो ।

रु सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा २०७८ जेठ ३ गते ठेक्का सम्झौता भएको हो । जामुनेदेखि आँबुखैरेनीसम्मको ४२ किलोमिटर सडक खण्डको प्रगति भने ५६ प्रतिशत भन्दा धेरै रहेको पूर्वी खण्डका प्रमुख श्यामकुमार यादवले जानकारी दिनुभयो । यस खण्डको २०७८ वैशाख २ गते सम्झौता भई २०८१ वैशाख २ गते म्याद सकिए पनि ठेकेदार कम्पनीले कामलाई तीव्र पारेको यादवले बताउनुभयो ।

यस खण्डको म्याद सकिए पनि दिन र रातको समयमा पनि काम गरी सडक विस्तार तीव्र पारिएको यादवले बताउनुभयो । यस खण्ड विस्तारको ठेक्का चिनियाँ कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले रु ६ अर्ब २१ करोडमा पाएको हो । एसियाली विकास बैंक (एडिबी) को सहुलियत ऋण सहयोगमा मुग्लिन पोखरा सडक विस्तार गरिएको हो । रासस