• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo

आज क्रिकेटका बादशाह सचिनको जन्मदिन, तोड्न असम्भव जस्तै रहेका उनका ६ रेकर्डहरु



एजेन्सी । क्रिकेटका महान ब्याट्सम्यान सचिन तेन्दुलकरले आज जीवनको अर्धशतक पूरा गरिसकेका छन् । उनी आज ५१ वर्षको भए । उनको जन्म १९७३ अप्रिल २४ मा भारतको मुम्बईमा भएको थियो ।

सचिनले आफ्नो अन्तर्राष्ट्रिय डेब्यू १५ नोभेम्बर १९८९ मा पाकिस्तानविरुद्ध गरेका थिए । अन्तिम खेल १६ नोभेम्बर २०१३ मा वेस्ट इन्डिजसँग खेले । उनको करियर २४ वर्ष १ दिनको थियो । यस अवधिमा उनले कुल ६६४ खेल खेलेर ३४ हजार ३५७ रन बनाए ।

सचिनको जन्मदिनको अवसरमा आज उनले बनाएका ६ रेकर्डहरूबारे चर्चा गरौं, जुन तोड्न असम्भव जस्तै छ ।

१. सचिनको नाममा सबैभन्दा धेरै टेष्ट र एकदिवसीय खेल खेल्ने कीर्तिमान
क्रिकेटमा कुनै पनि कीर्तिमानको कुरा गर्दा सचिनको नाम सधैं आउँछ । सचिन विश्वमा २०० अन्तर्राष्ट्रिय टेस्ट खेल्ने एकमात्र खेलाडी हुन् । यस सूचीमा सचिन नम्बर एकमा छन् भने जेम्स एन्डरसन १७९ टेस्ट खेलेर दोस्रोमा छन् ।

टेस्टमा मात्रै होइन, विश्वमा सबैभन्दा बढी एकदिवसीय खेल्ने कीर्तिमान पनि उनको नाममा छ । सचिन एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै खेल खेल्ने विश्वकै पहिलो खेलाडी पनि हुन् । सन् १९८९ मा आफ्नो एकदिवसीय करियर सुरु गरेका यी खेलाडीले आफ्नो २३ वर्षको एकदिवसीय करियरमा जम्मा ४६३ ओडीआई खेलेका छन् ।

सचिनले टीम इन्डियाका लागि १९९० देखि १९९८ सम्म लगातार १८५ ओडीआई खेले । यो आफैमा विश्व कीर्तिमान हो । एकदिवसीयमा सबैभन्दा धेरै खेल खेल्ने मामिलामा उनी पछि श्रीलंकाका महेला जयवर्धने छन्, जसले ४४८ ओडीआई खेलेका छन् । जयवर्धने उनको नजिक आए, तर यो रेकर्ड तोड्न सकेनन् ।

२. सर्वाधिक अन्तर्राष्ट्रिय रन बनाउने खेलाडी
अन्तर्राष्ट्रिय क्रिकेटमा (तीनवटै ढाँचासहित) सबैभन्दा धेरै रन क्रिकेटका बादशाह सचिनको नाममा छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा ३० हजारभन्दा बढी रन बनाएका छन् । उनी क्रिकेटका तीनवटै फर्म्याटमा यति धेरै रन बनाउने विश्वकै एकमात्र खेलाडी हुन् । उनको कुल रन ३४,३५७ छ । यो मामिलामा श्रीलंकाका कुमार सांगकारा दोस्रो नम्बरमा छन् । उनले २८ हजार १६ रन बनाएका छन् ।

३. अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै शतक
विश्व क्रिकेटमा सय शतक प्रहार गर्ने खेलाडीमध्ये सचिन तेन्दुलकर एकमात्र नाम हुन् । यो ठूलो कीर्तिमान हो, जुन कुनै पनि ब्याट्सम्यानका लागि तोड्न गाह्रो छ । सचिनपछि सबैभन्दा धेरै शतक बनाउनेमा विराट कोहली (८०) पर्छन् । तेस्रो नम्बरमा अस्ट्रेलियाका रिकी पोन्टिङ (७१) को नाम आउँछ । सचिनले टेस्टमा ५१ र एकदिवसीयमा ४९ शतक बनाएका छन् ।

४. सबैभन्दा धेरै अर्धशतक
शतकका अलावा सचिनले धेरै अर्धशतक पनि बनाए । सचिनको नाममा ७८२ इनिङ्समा कुल १६४ (तीनवटै ढाँचामा) अर्धशतक प्रहार गर्ने कीर्तिमान छ । दोस्रोमा अष्ट्रेलियाका रिकी पोन्टिङ छन् जसले १४६ अर्धशतक बनाएका छन् ।

५. अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी चौका सचिनकै नाममा
अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक चौका प्रहार गर्ने कीर्तिमान भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकरको नाममा छ । मास्टर ब्लास्टर सचिन तेन्दुलकरले आफ्नो अन्तर्राष्ट्रिय करियरमा ४ हजार ७६ चौका प्रहार गरेका छन् । उनले टेष्टमा २०५८, ओडीआईमा २०१६ र टी–२० मा २ चौका प्रहार गरेका छन् । उनले ६६४ अन्तर्राष्ट्रिय खेलमा यी चौका प्रहार गरेका हुन् ।

६. विश्वकपमा सबैभन्दा धेरै रन बनाउने खेलाडी
विश्वकपमा सर्वाधिक रन बनाउने कीर्तिमान पनि सचिन तेन्दुलकरकै नाममा छ । सचिन सन् १९९२ देखि २०११ सम्म जम्मा ६ विश्वकपमा टिममा थिए । यस क्रममा उनले ४५ खेलको ४४ इनिङ्समा २२ सय ७८ रन बनाएका थिए । सचिनले विश्वकपमा ६ शतक र १५ अर्धशतक बनाएका छन् । साथै तेन्दुलकरले एउटै विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान पनि बनाएका छन् । उनले २००३ क्रिकेट विश्वकपमा ११ खेलमा ६७३ रन बनाएका थिए ।