• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा ★   तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात ★   नेताहरुको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो: विप्लव ★   कसैलाई आरोप लगाएको छैन, समाचार सदनमा पढेर सुनाएको हुँ – गृहमन्त्री ★   गेललाई जर्सी उपहार दिँदै कोहलीले भने – काका अर्को सिजन आईपीएलमा फर्किनु ★   कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय

दलका नेतृत्व मठाधीश बनेका कारण लोकतन्त्रमाथि टिकाटिप्पणी भयो: सांसद पौडेल



काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले राजनीतिक दलका नेतृत्व मठाधीश बनेका कारण लोकतान्त्रिक प्रणालीमाथि नै टिकाटिप्पणी हुने गरेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित लोकतान्त्रिक प्रणालीमा नीति, नेतृत्व र नैतिकता विषयक संवाद कार्यक्रममा बोल्दै सांसद पौडेलले दलका नेतृत्वहरु मठाधीश बनेका कारण लोकतन्त्रमाथि प्रश्न उठ्न थालेको बताउनुभएको हो । उहाँले अहिलेको लोकतन्त्रमा नीति, नेतृत्व र नैतिकता नै नभएको टिप्पणी गर्नुभयो ।

उहाँले लोकतन्त्रको विकल्प अर्को कुनै शासन प्रणाली नहुने स्पष्ट पार्दै संविधानलाई कार्यान्वयन गर्न नसक्दा लोकतन्त्र कमजोर हुने बताउनु भयो । उहाँले संविधानले कुनैपनि मठाधीश, निरंकुश शासक र सामन्तीको परिकल्पना नगरेको भएपनि नेतृत्वको व्यवहार निरंकुश शासक र सामन्तीको भन्दा फरक नभएको बताउनु भयो । दलमा नेतृत्वकै कुरा सर्वेसर्वा हुने भन्दै उहाँले नेतृत्व मठाधीशको रुपमा प्रश्तुत हुने गरेका बताउनु भयो । उहाँले उहाँले राजनीतिक दलहरुले आन्तरिक लोकतन्त्रको सम्पूर्ण रुपमा प्रयोग नगरेसम्म दलिय व्यवस्था सुदृढ हुन नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘मैले शिर्षक हेरेँ । लोकतन्त्र, नीति, नेतृत्व र नैतिकता । एकदमै धेरै क्रिटिकल भएर भन्दा हाम्रो लोकतन्त्रमा यो तिन चिजबाहेक सबै कुरा छ । तर हाम्रो लोकतन्त्रभित्र यो छ भनेर नीछि छ, नेतृत्व नैतिकवान छ, या समग्र राजनीति नैतिकवान छ भनेर भन्नसक्ने स्थिति छैन । नीति, नेतृत्व र नैतिकता नभएको लोकतन्त्र हामीले खोजेको लोकतन्त्र हो त ? मैले निराशा बाँड्न खोजेको होइन । दुनियाँमा लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन्छ । लोकतन्त्रको विकल्प अर्को कुनै शासन प्रणाली हुँदैन । संसारको सबैभन्दा अधिकार सम्पन्न नागरिक बन्न पाएका हामीहरु, हामीलाई अधिकार दिने यो व्यवस्थाप्रति किन असन्तुष्छ छौँ ? यो व्यवस्थाको यति ज्यादा किन टिकाटिप्पणी भइरहेको छ ? लामो संघर्ष र बलिदानबाट प्राप्त भएको यो उपलब्धी हाम्रालागि कामयाव किन हुन सकिरहेको छैन ? यसको खोट कहाँनिर छ ? यसको खोट संविधानभित्र छ, मान्छेहरुले भन्ने गर्छन् । यो संविधानको ६ वर्ष मात्रै भयो । ६ वर्षमै संविधानका धाराहरु फेरेर हामीले नयाँ व्यवस्था गर्नुपर्छ भन्नेकुरा उपयुक्त हो भन्ने लाग्दैन । संवैधानिक व्यवस्थाले लोकतन्त्र कमजोर बनाउने काम कहीँ पनि गरेको छैन । संविधानमात्रै भएर हुँदोरहेनछ ।’

‘त्यो संविधान कार्यान्वयन गर्ने शैलीमा समस्या भयो भने लोकतन्त्र कमजोर हुँदोरहेछ । संविधानको आशय के हो ? संविधानले कुनैपनि मठाधीशको परिकल्पना गरेको छैन । संविधानले कुनैपनि निरंकुश शासकको परिकल्पना गरेको छैन । सामन्तीको परिकल्पना गरेको छैन । संविधानले त जनताका प्रतिनिधिलाई सेवक भनेको छ । तर आज हाम्रो नेतृत्वको व्यवहार सामन्तीको भन्दा कहाँनिर फरक छ ? हाम्रो नेतृत्वको व्यवहार निरंकुश शासक या राजतन्त्रभन्दा कहाँनिर फरक छ ? संविधानमा भएको आशय अनुसार नेतृत्वले व्यवहार गर्न नसकेको कारणले समस्या भएको हो । संविधानले भन्यो समानुपातिक प्रणाली राखेर भुँइमान्छेलाई माथि ल्याउँ । प्रतिस्पर्धा गर्नसक्ने क्षमता बढाउँ । तर आज नेपालको कुनचाहीँ नेताले संविधानको त्यो मर्मलाई बुझेर त्यस अनुसार समानुपातिक प्रतिनिधित्व गराउने काम भयो ? संविधानको आशय बमोजिमको संघीयता आज हाम्रो व्यवहारमा कस्तो भएको छ ? महंगो, बोझिलो संघीयता । बोक्नै नसक्ने संघीयता । चालु खर्च बढाउने संघीयता । केही सिमित मान्छेहरुले सुविधा उपभोग गर्ने संघीयता ।’

‘संघीयताको यो परिभाषा होइन । तर हाम्रो व्यवहारले संघीयताको परिभाषा यस्तो बनाइदियो । दलको नेतृत्व नयाँ होस् वा पुरानो । नेतृत्वको सबै कुरा चल्छ । त्यो नेतृत्व होइन । मठाधीश हो । उसले आदेश गर्छ, फलानो, फलानो मन्त्री हुने । फलानो, फलानो मत्रालय लिने । त्यो भन्दा फरक कुरा अरु कसैले गर्न सक्दैन । उसले आदेश, फर्मान जारी गर्छ, यो विषयमा यसो भन्ने । त्यो भन्दा फरक कुरा विवेकमा लाग्यो भनेपनि कसैले बोल्न सक्दैन । यो दलिय व्यवस्था हो । दलिय व्यवस्थामा दल सुदृढ नभएसम्म, दल लोकतान्त्रिक नभएसम्म, दलले आन्तरिक लोकतन्त्रको सम्पूर्ण रुपमा प्रयोग गर्न नसकेसम्म दलिय व्यवस्था सुदृढ हुन सक्दैन । दलहरुलाई मठाधिसहरुले चलाएका कारणले समस्या उत्पन्न भयो । नेतृत्वको व्यवहार लोकतान्त्रिक हुन सकेन । विधि, व्यवस्था अनुसार होइन । व्यक्तिको प्रभुत्व लाद्ने ढंगबाट व्यवहार भयो । त्यसकारण टिकाटिप्पणी भयो । हामीले हाम्रो लोकतन्त्रलाई विधिको शासन भएको महशुस गर्ने स्थिति निर्माण गर्नका निम्ति, कानूनी राज्य भएको स्थिति निर्माण गर्नका निम्ति दलभित्र व्यापक रुपमा सुधारको आवश्यकता छ ।’

उहाँले लोकतन्त्रलाई विधिको शासनको रुपमा महशुस गराउन र कानूनी राज्य भएको स्थिति निर्माण गर्न दलभित्र व्यापक सुधारको आवश्यकता रहेको बताउनु भयो ।