• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   चेल्सीले टोटेनहमलाई हरायो ★   वैशाख २८ गतेका लागि बजेट अधिवेशन आह्वान ★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने, एमाले अनिर्णित, कांग्रेसले प्रदेशसभा नै अवरुद्ध पार्ने ★   राजस्थान रोयल्समाथि हैदरावादको रोमाञ्चक जित ★   इन्टरनेट सेवामा समस्या, भुक्तानी नगर्दा काटियो नेट ★   चीनमा सडक भाँसिदा हुँदा मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो ★   कर्णालीका जनतालाई सडक चाहिएको छ: प्रमुख सचेतक शाही ★   क्यान को सरकारसँग माग: सूचना प्रविधि उद्योगग्रामको लागि आवश्यक बजेटको व्यवस्था गरौँ ★   मेयर बालेन्द्रलक्षित ओलीको टिप्पणी: सुकुम्वासीलाई तर्साउने काम नगरौं ★   विश्वकपका लागि छानिएको टोली अहिलेको ‘बेस्ट १५’: कप्तान रोहित

प्रतिपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभाको बैठक स्थगन



कास्की । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगन भएको छ ।

सभाको आजको बैठकमा प्रदेश प्रमुख डिल्लीराज भट्टले पठाएको अधिवेशन आह्वानसम्बन्धी पत्र सभामा सुनाएर बैठक स्थगन गरिएको हो । प्रतिपक्षी बेञ्च खाली भएपछि सभामुख कृष्णप्रसाद धितालले छ मिनेटमै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगन गर्नुभएको हो ।

बैठकमा बिनाविभागीयमन्त्री हरिबहादुर चुमानले जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा प्रस्तुत गर्ने कार्यसूची थियो ।

नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका सभा सदस्यहरु बैठकमा उपस्थित नभएपछि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगन भएको सभामुखले सभामा जानकारी गराउनुभयो ।

यसअघि कांग्रेस संसदीय दलको बैठकले गण्डकी प्रदेश सरकारका विषयमा सर्वोच्च अदालतले सरकारलाई नियमित कार्य सञ्चालनबाहेक अन्य दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नगर्न आदेश भएकामा सरकारले अधिवेशन बोलाउनु गैरकानुनी भएकाले प्रदेशसभा बैठक बहिष्कारको निर्णय गरेको थियो । कांग्रेसले सरकार गठन र प्रदेशसभा बैठक आह्वान गरिनु असंवैधानिक भन्दै सभामुखलाई पत्र बुझाएको थियो ।

कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले सर्वोच्च अदालतबाट भएको अन्तरिम आदेश, संविधान र विद्यमान कानुनको बेवास्ता गर्दै बोलाइएको प्रदेशसभा बैठक र अदालतबाट मुद्दाको अन्तिम फैसला नहुँदासम्म आह्वान गरिने प्रदेशसभाको कुनै पनि बैठकमा आफ्नो दलका सदस्यहरु सहभागी नहुने बताउनुभयो ।

“सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको अन्तिम किनारा नलाग्दासम्म प्रदेश सभाको बैठक सञ्चालन गर्नु संवैधानिक दृष्टिले त्रुटिपूर्ण र संसदीय मर्यादा एवं परम्परा विपरीत हुने भएकाले प्रदेशसभा बैठक सञ्चालन नगर्नरनगराउन अनुरोध गरेका हौँ,” न्यौपानेले भन्नुभयो । रासस