६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगञ्जको बागेश्वरीमा प्रजापतिले १५औँ पटक जिब्रो छेडे



अ+ अ-

राँझा । रामनवमी पर्वको अवसरमा हिन्दू धर्मावलम्बीहरुले जिब्रो छेडेर नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको दर्शन गरेका छन् ।

भारतको रुपैडिहा बागमराका ६५ वर्षीय रमेश प्रजापतिले आज १५औँ पटक जिब्रो छेड्नुभयो । उहाँले आफू विगत १५ वर्षदेखि निरन्तर बागेश्वरी मन्दिरमा आएर जिब्रो छेडेर दर्शन गर्ने गरेको सुनाउनुभयो । उहाँ जस्तै अन्य भक्तजनले पनि आज यहाँ जिब्रो छेडेर दर्शन गरेका छन् ।

नेपाललगायत भारतका विभिन्न स्थानबाट चैते दसैँ र बिजयादशमीको रामनवमीको अवसरमा बागेश्वरी मन्दिरमा आएर जिब्रो छेडेर दर्शन गर्ने परम्परा छ । नवरात्रको व्रत बसेका पुरुषले आफ्नो भाकल पूरा गराउन वा मागेको वर पूरा भएपछि देवी बागेश्वरीलाई जिब्रो छेडेर चढाउने चलन परापूर्वकालदेखि नै चल्दै आएको हिन्दू धर्मगुरु तथा बागेश्वरी मन्दिरका मूलपुरोहित चन्द्रनाथ योगीले बताउनुभयो ।

महन्थ योगीले देवीको मन्दिरमा पशुवली चढाउने परम्परा रहे पनि केही भक्तजनहरुले आफ्नै रगत चढाउने उद्देश्यले जिब्रो छेड्ने गरेको उल्लेख गर्नुभयो । नवरात्रको व्रत बसेका ब्रतालु पुरुषहरु नवमीको दिन मन्दिरमा आएर त्रिशुलले जिब्रो छेड्ने परम्परा छ । हरेक वर्ष करिब एक सय ५० भन्दा बढी धर्मावलम्बीले जिब्रो छेड्ने गरेको उहाँले जानकारी दिनुभयो ।

“नेपालगञ्जको बागेश्वरी मन्दिरमा बडादसैँ र चैतेदसैँमा जिब्रो छेडेर बागेश्वरी माताको दर्शन गर्ने चलन छ”, उहाँले भन्नुभयो, “निराहार व्रत बसेर नवमीको दिन बागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा दुःख बिरामी नहुने, सम्पत्तिको रक्षा हुने, यश र मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।”

बागेश्वरी मन्दिरमा आज नेपाल र भारतीय भक्तजनले जिब्रो छेडेका छन् । नेपालमात्रै होइन, भारतबाट आएका भक्तजनले समेत जिब्रो छेडेर बागेश्वरी माताको दर्शन गरेका छन् ।

सतिदेवीको जिब्रो पतन भएको ठाउँ भएकाले बागेश्वरी मातालाई खुशी तुल्याउन जिब्रो छेड्ने गरेको जनविश्वास छ । बागेश्वरी मन्दिरमा रामनवमीमा बर्षेनि कैयौँले जिब्रो छेड्ने गर्दछन् ।

रामनवमीको अवसरमा बागेश्वरी मन्दिरमा पूजा गर्न आउने भक्तजनको ठूलो भीड लागेको छ । भीड व्यवस्थापन गर्न ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । रासस