१२ असार २०८३, शुक्रबार
,
Latest
राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोटसँगै मकै बिक्री भएपछि किसान उत्साहित



अ+ अ-

झापा । जिल्लाका विभिन्न स्थानमा गाई फार्म सञ्चालक तथा सहकारीले व्यावसायिकरुपमा साइलेस (पौष्टिक तत्व पर्याप्त हुने घाँस)का लागि ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका मकै बोटसँगै खरिद गरेका छन् । यसरी उत्पादित मकै बोटसँगै बिक्री भएपछि किसान उत्साहित भएका हुन् ।

अर्जुनधारा नगरपालिका–७ का सञ्जय खनाल खेतमा लगाएको मकैले बोटसँगै प्रशस्त आम्दानी दिएपछि उत्साहित हुनुभएको छ । एक बिघा जमिनमा लगाएको मकैमा दाना लागेपछि नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले साइलेस बनाउन बोटै खरिद गरेपछि उहाँ उत्साहित हुनुभएको हो ।

ग्रामीण क्षेत्रका किसान साइलेसका लागि बोेटबाटै मकै बिक्री भएपछि भाँच्नु, नङ्ग्याउनु, छोडाउनु र सुकाउनुपर्ने झन्झटबाट मुक्त भएका खनालले बताउनुभयो । उहाँले यसपाली पोलेर खान मिल्ने भएको दुधिलो मकै प्रतिकेजी रु साढे चारका दरले ११ हजार केजी खेतबाट बिक्री गरेको जानकारी दिनुभयो ।

मकै सुकाएर बेच्दा भने जस्तो मूल्य पनि नपाउने र लागत पनि बढी लाग्ने हुँदा हरियो मकै साइलेसका लागि बोटैसँगै बिक्री गरिएको भन्दै यसबाट बढी फाइदा भएको खनालले सुनाउनुभयो । उहाँले अर्को वर्ष मकैखेती विस्तार गर्ने तयारी रहेको बताउनुभयो ।

एनएमसीले मेचीनगर नगरपालिका–१४ मा अग्र्यानिक तरकारी खेतीसँगै उन्नत जातका गाईफार्मसमेत सञ्चालन गर्दै आएको छ । सहकारीले १८ लाख केजी मकैको साइलेस बनाउनका लागि धमाधम सूचीकृत भएका किसानको खेतबाटै मकै खरिद गरिरहेको नमूना एकीकृत कृषि फामका संयोजक हिरा पोखरेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आफ्नै गाई फार्मका लागि १२ लाख केजी र बिक्री गर्नका लागि छ लाख केजी मकैको साइलेस बनाउने तयारी गरिरहेका छौँ ।” उहाँले मेचीनगर, भद्रपुर नगरपालिका, झापा गाउँपालिका, अर्जुनधारा, विर्तामोड नगरपालिका र बाह्रदशी गाउँपालिकाका किसानले उत्पादन गरेका मकै खरिद गर्ने गरिएको गरेको बताउनुभयो ।

साइलेस घाँसमा पौष्टिक तत्व पर्याप्त हुने गरेकाले पशुको स्वास्थ्यमा पनि कुनै खराबी नहुने मेचीनगर–४ का किसान केदार न्यौपानेले बताउनुभयो । साइलेस खान पायो भने गाईभैँसीले दूध पनि राम्रो दिने उहाँको अनुभव छ । साइलेस एकपटक बनाएर वर्षभरि पशुलाई खुवाउन मिल्ने भएकाले पनि गाई किसान यसतर्फ आकर्षित भएका हुन् ।

जिल्लामा ४४ हजार दुई सय ५० हेक्टर जमिनमा मकैको व्यावसायिक खेती हुँदै आएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । रासस