• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   संसदबाटै बजेट आउने माओवादी सांसदहरुको दाबी ★   डीपी अर्यालको सम्पत्तिः १५० तोला सुन, हिरा १० तोला ★   महासेठको सम्पत्तिः दुईवटा घर, सवा दुई करोड बैंक ब्यालेन्स ★   नारायणकाजीको सम्पत्तिः प्रधानमन्त्रीले दिएको गाडी चढ्ने, खातामा १ लाख २२ हजार रुपैयाँ ★   सरकारले प्रतिपक्षलाई पेलेर गयो भन्ने कुरा सत्य होइन: कानूनमन्त्री गिरी ★   कति छ शिक्षामन्त्री सुमना श्रेष्ठको सम्पत्ति ? ★   गृहमन्त्रीको सम्पत्तिः ८० तोला सुन, दुईवटा बैंकमा एक लाख १० हजार रुपैयाँ ★   पलाञ्चोक भगवती: संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम ★   कति छ प्रधानमन्त्री ‘प्रचण्ड’को सम्पत्ति ? ★   जलवायु परिवर्तन र हिमाल जोगाउने मुद्दालाई विमस्टेकले गम्भिरतापूर्वक लेओस्: राष्ट्रपति

नयाँ वर्षमा नेपाली चलचित्रलाई दर्शकको साथ



काठमाडौँ । नयाँ वर्षलाई लक्षित गरी हलहरूमा तीन नेपाली चलचित्र प्रदर्शनमा छन् । २०८० सालको अन्तिम दिन शुक्रबारदेखि रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’, फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’ र चौथो सातामा ‘महाजात्रा’ प्रदर्शन भइरहेको छ ।

वितरकले दिएको जानकारीअनुसार आज तीनै चलचित्रका अधिकांश शोे ‘हाउसफुल’ छन् । नयाँ वर्षमा दर्शकले नेपाली चलचित्र हेर्न चाहेको यसले प्रमाणित गरेको छ । डिग्री पास बेरोजगारको कथालाई प्रस्तुत गरिएको चलचित्र ‘डिग्री माइला’ मा अभिनेता दयाहाङ राई शीर्ष भूमिकामा हुनुहुन्छ । युवाको सपना र क्षमतालाई प्रस्तुत गरिएको नाटक ‘डिग्री माइला’ कै पात्रबाट प्रभावित भई चलचित्र तयार गरिएको हो ।

“यो पात्रले हाम्रो समाजको धेरै पक्षलाई देखाएको छ । शिक्षा, समाज, ग्रामीण अवस्था र युवाको बेरोजगारी अवस्थालाई माइलाको पात्रमार्फत व्यक्त गरिएको छ”, अभिनेता राईले भन्नुभयो, “यो पात्रलाई नाटकबाट चलचित्रमा ल्याउने सपना बल्ल पुरा भयो । यो कथा धेरैसम्म पु¥याउनु थियो ।”

डिग्री माइलामा अभिनेता राईसँगै आँचल शर्मा, विजय बराल, बुद्धि तामाङ, माओत्से गुरुङ, प्रकाश घिमिरेलगायत कलाकारले अभिनय गरेका छन् । कलाकारहरूले हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् । प्रदर्शन गरिएको अर्को चलचित्र ‘द रेड सुटकेस’ मा वैदेशिक रोजगारीमा पुगेका युवाको कथा देखाइएको छ । चलचित्रमा अभिनेता बिपिन कार्की, सौगात मल्ल, प्रवीन खतिवडा, अभिनेत्री सृष्टि श्रेष्ठलगायतले अभिनय गरेका छन् ।

विमानस्थलबाट एउटा रातो सुटकेस लिएर गाउँतर्फ लाग्ने यात्रीले यात्राका क्रममा भोगेको कथालाई चलचित्रमा प्रस्तुत गरिएको लेखक तथा निर्देशक देवकोटाले बताउनुभयो । “हामीले मिथक शैलीमा नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर यो चलचित्रको कथा तयार गरेका छौँ”, उहाँले भन्नुभयो, “वर्तमान समयलाई दस्तावेज गरेका छौँ । यसले हाम्रो रहनसहन र समाजलाई देखाउँछ ।”

चौथो सातामा प्रदर्शनरत चलचित्र ‘महाजात्रा’ मा दर्शकको उपस्थिति घटेको छैन । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको महाजात्रामा हरिवंश आचार्य, बिपिन कार्की, वर्षा राउत, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, दिव्य देवलगायतको अभिनय छ । निर्माता दीपेश खत्रीले तीन सातामा नेपालमा १४ करोड र विदेशमा नौ करोडसहित विश्वभर २३ करोडको व्यापार (ग्रस कलेक्सन) गरेको उहाँको दाबी छ । आज १ गते तीनै नेपाली चलचित्रको शो भरिभराउ भएकाले कूल रु तीन करोड बराबरको व्यापार गर्ने अनुमान वितरकको छ ।