• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षित ★   रोजगारीका लागि ११ महिनामा झण्डै सात लाख नेपाली विदेशिए ★   राष्ट्रपति पौडेलद्वारा भत्किएको बर्लिनको पर्खाल अवलोकन ★   भोजपुरको जरायोटार–सिक्रेटार सडक स्तरोन्नति गरिँदै ★   बजार व्यवस्थित नहुँदा सडकमै आँप किनबेच ★   सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारदेखि ★   चाँगुनारायणमा बस्ती विकासको नाममा खहरे मासेर सडक निर्माणको काम थालेपछि स्थानीयहरु आन्दोलित ★   लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना ★   ‘बोक्सीको घर’ ले पूरा गर्‍यो ५१ औँ दिन ★   वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतिमा नेतृत्व चयन गर्नुपर्छ: झलनाथ खनाल

‘सुरक्षित आन्तरिक रोजगारी पहिलो प्राथमिकतामा’



काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सुरक्षित आन्तरिक रोजगारीलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ ।

‘डेमोक्रेसी मिडिया नेटवर्क’ले आज काठमाडौँमा आयोजना गरेको ‘श्रम बजार, आप्रवास र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री अर्यालले देश बन्नका लागि मुलुकभित्रै रोजगारी सृजना हुनुपर्नेमा जोड दिनुभयो । उहाँले रोजगारी सृजना गर्न निजी क्षेत्रलाई संरक्षणसहित प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

“सरकारले अनुमति दिएर सञ्चालन भएका निजी क्षेत्रलाई सरकारले नै संरक्षण गरी प्रोत्साहित गर्नुपर्छ । निजी क्षेत्र बलियो भएपछि नै आन्तरिक रोजगारी वृद्धि हुन्छ”, मन्त्री अर्यालले भन्नुभयो, “त्यसैले निजी क्षेत्रसँग सहकार्य गरी अगाडी बढ्न मन्त्रालय सधैँ तयार छ ।”

आन्तरिक रोजगारीका लागि मन्त्रालयले तालिमलाई जोड दिएको उहाँको भनाइ थियो । “मन्त्रालय अन्तर्गत भैँसेपाटीमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान छ । त्यहाँ हामीले ६ महिनाभन्दा कम अवधिको तालिम प्रदान गर्ने योजना बनाएका छौँ । त्यस्तै, शिक्षा मन्त्रालयअन्तर्गत रहेको सिटिइभिटीसँग पनि समन्वय गरी हरेकलाई सीप सिकाउनुपर्छ भन्नेमा हामी छौँ”, उहाँले भन्नुभयो ।

आगामी दिनमा कोही वैदेशिक रोजगारीमा जान चाहे पनि सीप सिकेर मात्रै जानुपर्ने अवस्थाको सृजना गर्ने कार्यमा बहस चलाउन मन्त्री अर्यालले सबैलाई आग्रह गर्नुभयो । रासस