• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

गोरखा–जितगढी पदयात्रा टोलीलाई तनहुँमा स्वागत-फोटो फिचर



दमौली (तनहुँ) : गोरखाबाट सुरु भएको नेपाली सेनाको गोरखा–जितगढी पदयात्राको टोलीलाई तनहुँको भानु नगरपालिकास्थित सतिघाटमा बाजागाजासहित स्वागत गरिएको छ ।

ऐतिहासिक महत्व बोकेका स्थानको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आजदेखि सुरु भएको एकीकरण पदयात्रा टोलीलाई भानु नगरपालिकामा स्थानीयले भव्यताका साथ स्वागत गरेका हुन् ।

पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा प्रयोग गरेका पदमार्गको प्रचारप्रसार गर्दै कोट, गढी, किल्लाको संरक्षण गर्ने र इतिहासबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यसहित आजदेखि पदयात्रा सुरु भएको हो ।

गोरखा दरबारबाट ३० किलोमिटर दूरी पार गर्दै सतिघाट आइपुगेको अवसरमा रिपुपर्दन गणले नगरपालिकास्थित रुरु भैरव दल गणलाई पदयात्राको झण्डा हस्तान्तरण गरेको छ । भानुको सतिघाटमा आयोजित कार्यक्रममा नगरप्रमुख आनन्दराज त्रिपाठीले टोलीलाई स्वागत गर्दै पदयात्राले स्थानीय र सेनाबीच सुमधुर सम्बन्ध बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गनुृभयो ।

राष्ट्रिय एकताको भावना जागृत हुने कार्य सम्पादन गर्ने उल्लेख भएअनुसार नेपाली सेनाको अगुवाइमा ऐतिहासिक महत्व बोकेका गढी, किल्ला, युद्धस्थल पदमार्गलगायत धरोहरको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनका लागि यस वर्ष पनि पदयात्रा गरिएको रुरु भैरव दल गणका गणपति प्रमुख सेनानी हिमाचल जङ्ग शाहले बताउनुभयो ।

उक्त टोलीको बास आज भानुमै हुनेछ । भानुबाट भोलि प्रस्थान गर्ने टोली तनहुँको बाङ्गेरह, शेपाबगैँचा, टुहुरेपसल हुँदै तनहुँसुर पुग्नेछ । तनहुँसुर दरबारमा व्यास नगरपालिकाको समन्वयमा पदयात्रीलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । तनहुँसुर पुगेर उक्त पदयात्राको झण्डा कालीभञ्जन गण (इ) लाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

तनहुँसुरबाट पदयात्रा टोली तनहुँकै धेनुङ देउराली पुग्नेछ । धेनुङ देउरालीमा श्री नम्बर ३ राजदल गणलाई झण्डा हस्तान्तरण गरिनेछ । धेनुङ देउरालीबाट केलादीघाटसम्म पुगेको टोलीलाई श्री दि फेमस महेन्द्रदल गणलाई झण्डा हस्तान्तरण गरिनेछ । पदयात्रा टोली चैत २९ देखि आगामी वैशाख २ गतेसम्म तनहुँ खण्डमा रहनेछ ।

केलादीघाटबाट नुवाकोटगढीसम्म पुग्ने टोलीले गरुणदल गणलाई झण्डा हस्तान्तरण गर्ने र आगामी वैशाख ७ गते पदयात्रा टोली नुवाकोटगढीबाट जीतगढीसम्म पुग्ने कार्यक्रम रहेको छ । पदयात्रामा से.मु. नफ्रिको फौज, बाजागाजा, राष्ट्रिय झण्डा तथा एकीकरणको दौरान स्थापना भएका पाँच प्रथम कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज) र जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डा समावेश गरिएको नेपाली सेनाले जनाएको छ ।

गोरखाबाट जितगढीसम्मको दूरी दुई सय सात किलोमिटर रहेको छ । नेपाली सेनाले हरेक वर्ष गोरखा–जितगढी पदयात्रा गर्दै आएको छ । रासस