• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

कुवेतमा श्रम शोषणमा परेकी सपनाको उद्धारका लागि आग्रह



झापा । वैदेशिक रोजगारीका लागि कुवेत जानुभएकी मेचीनगर नगरपालिका–८ की २८ वर्षीया सपना ठटालले आफूलाई रोजगारदाताले बन्धक बनाएर श्रम शोषण गरिरहेको जनाउँदै उद्धारका लागि आग्रह गर्नुभएको छ ।

काठमाडौँका नारायण थापा नामका एजेन्टले अल्फा नामक मेनपावर कम्पनीमार्फत मासिक रु ४० हजार पारिश्रमिक हुने प्रलोभन देखाएर सात महिना अघि कुवेत पुर्याएको सपनाका पति श्यामबहादुर ठटालले बताउनुभयो ।

मध्य कुवेतबाट ३२ किलोमिटर पश्चिमस्थित अल जहार सहरमा घरेलु कामदारका रुपमा पुर्याइएकी सपनाले दश दिन अघि साथीको मोबाइलमार्फत पतिसँग सम्पर्क गरी आफ्नो नाजुक अवस्थाबारे जानकारी गराउँदै जतिसक्दो छिटो उद्धार गरिदिन आग्रह गर्नुभएको हो ।

“कुवेत गएको चार महिनादेखि सम्पर्कविहीन अवस्था थियो”, सपनाका पति श्यामबहादुरले भन्नुभयो, “१० दिनअघि एक्कासी फोन आयो, साथीको फोनबाट लुकेर सम्पर्क गरेको बताएकी थिइन्, बिना पैसा रातदिन काम लगाउने गरेको र केही बोल्यो भने उल्टै साहुनीले कोठामा थुनेर कुटपिट गर्ने गरेको बताउँदै जतिसक्दो छिटो उद्धार गरिदिनु भनेर भनिन् ।”

सपना जस्तै थुप्रै महिलालाई कोठामा थुनेर राख्ने गरेको र कामका लागि गाडीमा हालेर टाढासम्म पुर्याउने गरेको सपनाका पति श्यामबहादुरले पत्नीको भनाइ उद्धृत गर्दै बताउनुभयो । मोबाइल खोसेर परिवार र साथीसँग सम्पर्कविहीन बनाएर श्रम शोषण गरिरहेको उहाँले जानकारी दिनुभयो ।

कुवेत गएपछि एकपटक रु ४० हजार पठाएको र त्यसपछि सम्पर्क टुटेको सपनाकी आमा कृष्णमाया परियारले बताउनुभयो । नाताले भाउजु पर्ने पुष्पा दर्जीमार्फत एजेन्ट थापासँग सम्पर्क भएको र पुष्पा पनि हाल कुवेतमै रहेको कृष्णमायाले बताउनुभयो ।

काठमाडौँ घर बताउने एजेन्ट थापाले पीडितलाई उद्धार गरेर नेपाल ल्याउन रु नौ लाख फिरौती रकम मागेको कृष्णमायाले बताउनुभयो । “रु नौ लाख दिनु, म सपनालाई झिकाइदिन्छु भनेर नारायण थापाले भन्नुभयो”, कृष्णमायाले भन्नुभयो, “पुष्पा दर्जीलाई सम्पर्क गर्दा उहाँले पनि केही मदत गर्न नसक्ने बताउनुभयो ।”

दैनिक ज्यालादारी गरेर गुजारा चलाउँदै आएको आफ्नो परिवारसँग फिरौती रकम बुझाउने कुनै सम्भावना नरहेको उहाँले गुनासो गर्नुभयो । वैदेशिक रोजगारीमा जान सपनाले बनाएको कागजातअनुसार उहाँको विसं २०८० भदौ १८ गते कुवेतको भिसा जारी भएको छ भने त्यसको बैधता चार महिना अर्थात् गत पुस १८ गतेसम्म मात्र भएको पाइएको छ ।

सपनाको भिसा कागजातअनुसार उहाँलाई घरेलु कामदारका रुपमा कुवेतको मोदार रियल इस्टेटमा लगेको देखिन्छ । त्यहाँको ठेगाना अल जहरा ब्लक–८, सडक–१६० भएको पनि कागजातमा उल्लेख छ । छोटो अवधिको भिसा बनाएर विदेशमा लैजाने र भिसाको म्याद गुज्रिएपछि अवैध रुपमा काममा लगाएर श्रम शोषण गर्ने गिरोहको फन्दामा पीडित महिला परेको हुनसक्ने आशंका छ । विदेश लैजाँदा लागेको सबै खर्च एजेन्ट थापाले नै व्यहोरेको बताइएको छ ।

कुवेतमा बन्धक जस्तै अवस्था भोगिरहनुभएकी सपनाको घरमा दुई छोरा छन् । सानो छोरा १४ महिनाको छ । उहाँका पति श्यामबहादुर ट्याक्टरमा मजदुरी काम गर्दै आउनुभएको छ । आमा कृष्णमायाले छोरीको सकुशल उद्धार गरी नेपाल ल्याइदिन नेपाल सरकारसँग अनुरोध गर्नुभएको छ । रासस