लन्डन । बुधबार इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा म्यानचेस्टर सिटीले आफ्नो तीन अंकको अग्रता फेरि कायम राखेको छ । यसक्रममा टोलीले लगातार १३ औं जित आत्मसात् गरेको छ । यसका लागि उसले बर्नलीलाई सजिलै २–० ले हरायो । सिटीले तेस्रो मिनेटमा ग्याब्रिएल जेससको गोलले अग्रता लिएयता रहिम स्टर्लिङले दोस्रो गोल थपे ।
यो जितपछि सिटीको २१ खेलबाट ४७ अंक भएको छ । म्यानचेस्टर युनाइटेड ४४ अंकसहित दोस्रो स्थानमा छ । डिफेन्डिङ च्याम्पियन लिभरपुल भने ब्राइटनको हातबाट १–० ले पराजित रह्यो । स्टेफेन एलाजेटले खेलको एक मात्र गोल गरे । लिभरपुल हारपछि ४० अंकमा सीमित रहेर चौथो स्थानमा झरेको छ ।
लेस्टर सिटी भने फुलहमलाई २–० ले हराएर तेस्रो स्थानमा उक्लिन सफल रह्यो । त्यसमा केलेची इहनाचो र जेम्स जस्टिनले गोल गरे । यससँगै लेस्टर शीर्ष चारमा आफ्नो पकड बलियो बनाउन सफल रह्यो । अन्य खेलमा एभरटनले लिड्सलाई २–१ र वेस्ट ह्यामले एस्टन भिल्लालाई ३–१ ले हराए ।










