१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार ! हाम्रा छोरी चेलीले कतिञ्जेल अकालमै ज्यान गुमाउने ?



अ+ अ-

काठमाडौं । यतिखेर देशबासीको मन भागरथी भट्टको तस्बिर देखेर निकै दुखेको छ । त्यो तस्बिरलाई अफ्नै छोरीको मुहार ठानेर हेर्ने हो भने जोसुकैको मन बुझ्दैन, अनुहार टोलाएको टोलायै हुन्छ । राजधानीबाट सयकोडौँ कोस परको यो जघन्य अपराधले यतिखेर राजधानीबासी मात्र देशैभरिको आमाबुबा विक्षिप्त बनेका छन् । मानिसलाई बोध भएको पीडाको मापन असाध्यै गाह्रो बन्दै गएको छ । बैतडीको दोगडकादार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या भएको छ । उनको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ यद्यपि, प्रहरी अनुसन्धानमै छ । यस घटनाको थप अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी लागि परेको छ र आइतबार राति प्राप्त समाचार अनुसार प्रहरी घटनास्थलमा पुगेको छ । क्याम्पस गएकी उनी घर नफर्किएपछि खोजी गरिएको थियो र पछि घरबाट केही परको जंगलमा उनको शव भेटिएको थियो । घटनाको प्रकृति हेर्दा उनको बलात्कारपछि हत्या भएको जस्तो देखिएको छ । सायद प्रहरीको यो प्रारम्भिक अनुसन्धानमा सत्यता हुनसक्छ । तर यो घटनाले मानिसको पशुतुल्य र पाशबिक व्यवहारलाई फेरि एकपटक बाहिर ल्याइदिएको छ । यसले देशका समग्र जिउँदा मानिसहरुको मन आगोको ज्वालाले झैँ पोलेको छ । निर्मला पन्तको हत्याले हाम्रो मन यसैगरी पोलेको थियो ।

उनका हत्यारा अझै पनि पत्ता नलागेको भनिएको छ, बरु अनुसन्धानको दायरामा ल्याइएका प्रहरी समेतलाई सफाइ दिँदै फेरि शान्ति सुरक्षाको ड्युटीमा पठाइएको छ । सरकार हत्यारा पत्ता लगाउँछु भन्छ तर नागरिकमा आशाको त्यान्द्रो बाँकी देखिँदैन । निर्मलाका आमाबुबाका आँखा अझै ओभाएका छैनन् । बरु भगिरथीको यो हत्याले उनीहरुको पीडा थप एकपल्ट बल्झाएको होला । केही समय अघि सम्झना बिक यस्तै सानी नानीको पनि यस्तै पाशविक रुपमा हत्या भएको थियो । बलात्कृति भएर मारिएका यी कलिला नानीहरुका तस्बिरले मानिसभित्र कतिधेरै क्रुरता छ र त्यसले त्यो जिउँदै मानिसले गरेको हो कि होइन भन्ने कुरामा दुविधा गराएको छ । सन् २०१४ मा भारतको मुम्बईमा पनि यस्तै घटना भयो । साँझको समयमा रेलमा यात्रा गरेकी उनलाई छ जनाको समूहले बलात्कार गरे र सडकमा फालिदिए । त्यसपछि अस्पताल पुर्याइएकी उनको ज्यान गयो । यो घटनाले देशव्यापी आक्रोसको रुप लियो । सरकारको व्यापक आलोचना भयो र हत्यारालाई कारबाहीको माग भयो । त्यो घटनाले सारा भारतीयको शिर निहुरिएको सबै नागरिकले बताए ।

भारको संसदमै प्रधानमन्त्री मनमोहन सिंह पनि रोए । उनले हत्यारालाई कडाभन्दा कडा कारबाही हुने बताए र पछि मुत्युदण्डकै कारबाही समेत भयो । उनले सरकारले बलात्कारीलाई हदैसम्मको सजायँको कानुन ल्याउने बताए । कानुन ल्याए पनि । अहिले भारतमा हत्यारालाई मुत्युदण्डको कानुन छ । पहिलेका तुलनामा बलात्कारका घटनामा कमी आएको छ । तर हामीले यस्तो कहिले गर्ने हो ? हाम्रा छोरी चेलीले सुरक्षित जीवन बाँच्न पाउने कहिले हो ? बलात्कारीलाई भारतमा जस्तै झुण्डाएर मार्ने कानुन हामीले कहिले बनाउने हो ? के एकपछि अर्काेगर्दै यस्ता घटनामात्र बाहिर आउने र हत्यारालाई कारबाही गर्ने तथा छोरी चेलीको सुरक्षाको प्रबन्ध नगर्ने हो भने त्यसले हाम्रो समाजलाई कता लैजान्छ ? निर्मलाका हत्यारा अझै पनि खुलेआम हिँडेका होलान् । तिनलाई कारबाही गर्न नसकेर सरकारले देशव्यापी कोकोहोलो मच्चाएको सुन्ने, देख्ने धेरै छन् ।

सुदूरपश्चिमको यो घटना आज त्यहीँको बैतडीलाई थाहा नहुने कुरै भएन । ती हत्यारालाई कडा कारबाही हुन सकेको भए आज भगिरथी र सम्झनाहरुले यसरी अकालमै ज्यान गुमाउनुपर्ने थिएन । समाजमा भएको एउटा अपराधले अर्काे अपराध निम्त्याउँछ भनिएको छ । किनभने दण्डहीनताले मानिसको आपराधिक मानसिकतालाई उल्टै प्रश्रय दिन्छ । एउटा जघन्य अपराधीलाई कारबाही हुन नसकेको देखेको समाजभित्रैबाट अर्काे अपराध जन्मिने डर हुन्छ । यहाँ मौलाउँदो दण्डहीनताले यस्तै दुर्घटनालाई प्रश्रय दिइरहेको छ । फेरि पनि सरकारलाई उही पुरानै प्रश्न दोहोराउने बाहेक निहत्था नागरिकले त के नै गर्न सक्छन् र ? सरकार, हाम्रा छोरी चेलीले अझै कतिञ्जेल अकालमै ज्यान गुमाउनु पर्ने हो ?