• १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
  •   Unicode
Logo
Latest
★   एमालेको विजय सभाबाट फर्किँदै गरेको पिकअप दुर्घटना, १९ जना घाइते ★   उपनिर्वाचनमा चटकेहरु साइडमा आए, ०८४ सालसम्म ठिक हुन्छन्ः सांसद खतिवडा ★   सप्तरीको चिम्टीमा भीषण आगलागी ★   राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा टेलिकमले ल्यायो नयाँ अफर ★   आर्थिक वृद्धिदर ३ दशमलव ५४ प्रतिशत अनुमान ★   डोल्पाका सबै सांसद मन्त्री ★   जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो ★   टी–२० विश्वकपका लागि बटलरको कप्तानीमा इंग्ल्याण्डको टोली घोषणा ★   भारतीय पूर्व अलराउन्डरले दुखी हुँदै भने – रिंकु सिंहमाथि अन्याय भयो ★   उपनिर्वाचनको मत परिणामले राजनीतिक स्थायित्वका लागि दलहरु बलियो बन्नुपर्छ भन्ने संकेत गर्‍यो: मन्त्री गिरी

सत्ता राजनीतिमा ढोक्सा : प्रचण्डले फेरि काँध फेर्न लागेका हुन् ?



फाईल फोटो

काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले बिहीबार राजीनामा दिएपछि पद रिक्त भएको छ । यो अब यो पदमा कुन दलले बाजी मार्छ भन्ने यकिन भइसकेको छैन । तर यही पदलाई लिएर सत्ता गठबन्धनमा खटपट भने सुरु भइसकेको छ । सत्ता गठबन्धन दलले अहिलेसम्म अब कसलाई उपाध्यक्ष बनाउने भन्ने निर्णय गरेका छैन ।

राष्ट्रियसभाको उपाध्यक्षमा नेपाली कांग्रेसले ढोक्सा थाप्ने भएको छ । कांग्रेस–माओवादीबीच गठबन्धन हुँदा राष्ट्रियसभाको अध्यक्ष कांग्रेसले लिने सहमति भएको थियो । त्यही सहमतिका आधारमा कांग्रेसले कृष्णप्रसाद सिटौलालाई कोशी प्रदेशबाट उम्मेदवार बनाएर निर्वाचित समेत गरेको थियो । तर कांग्रेस–माओवादी गठबन्धन भत्किएपछि अध्यक्षमा माओवादी केन्द्रका नारायण दाहाल निर्वाचित भइसकेका छन् । एमालेको सहयोगमा माओवादी केन्द्रले दाहाललाई अध्यक्षमा निर्वाचित गरेको हो । एउटै पार्टीबाट अध्यक्ष र उपाध्यक्ष बन्न नपाउने भएपछि माओवादीबाट यसअघि उपाध्यक्ष भएकी उर्मिला अर्यालले राजीनामा दिएकी हुन् ।

अर्यालको राजीनामासँगै अब उपाध्यक्षमा गठबन्धन दल नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले दाबी गरेको छ । कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग गठबन्धन बनाउने क्रममा राष्ट्रियसभाको अध्यक्ष माओवादी केन्द्रले पाउने निर्णय भएअनुसार माओवादी केन्द्रका दाहाल अध्यक्षमा निर्वाचित भइसकेका छन् । यस्तै त्यस बेला उपाध्यक्ष एमालेले पाउने सहमति बनेको थियो । जुन सहमति भएका बेला एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपासहितको चार दलको गठबन्धन थियो । तर पछि फागुन २९ गते भएको सत्ता गठबन्धन ५ दलको ७ बुँदे सहमतिमा भने एमालेले उपाध्यक्ष पाउने बुँदा हटेको थियो ।

सहमतिमा यो बुँदा हटाइँदै नै गठबन्धनमा केही पाक्दैछ भन्ने आशंका गरिएको थियो । एकथरी नेताहरुले एमाले लचक भएर पछि हटेको अनुमान गरेका थिए । वास्तवमा भन्ने हो भने त्यसबेला नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको जोडबलमा यो बुँदा हटाइएको थियो । त्यसपछि एकीकृत समाजवादीले नै उपाध्यक्ष पाउने सम्भावना रहेको बताइँदै आएको थियो । तर यसलाई गठबन्धन दलले औपचारिक जानकारी दिएका थिएनन् ।

प्रधानमन्त्री दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सहमति भएपछि अहिलेको पाँच दलीय गठबन्धन बनेको हो । तर यो गठबन्धनपछि सबैभन्दा रुष्ट नेपाली कांग्रेस बनेको छ । गठबन्धन बनेकै दिनदेखि कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ समीकरण बनाउने प्रयास थालिसकेका थिए । सके प्रधानमन्त्री दाहाललाई फकाउने र नभए नेकपा एमालेसँग हातेमालो गर्ने कसरत गरेका थिए । त्यसका लागि देउवाले गठबन्धन बनेकै दिन दाहालसँग रुष्ट बनेर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई फकाएका थिए । तत्काल उनको प्रयास सफल नभए पनि अब राष्ट्रिय सभाको उपाध्यक्ष चयन हुने बेलासम्म आफ्नो उद्देश्य पूरा गर्ने गरी लागेका छन् ।

अहिलेको गठबन्धनलाई हेर्ने दृष्टिकोण माओवादीभित्र दुई वटा छ । प्रधानमन्त्री दाहालका विश्वासपात्र वर्षमा पुनको जोडबलमा यो गठबन्धन बनेको हो । तर अर्का विश्वास पात्र जनार्दन शर्मा भने असन्तुष्ट छन् । उनी कांग्रेस–माओवादी गठबन्धन हुनुपर्ने पक्षमा छन् । त्यसमाथि नेपाली कांग्रेसले जनार्दन शर्मालाई अर्थमन्त्री बनाउने आश्वासन दिएको छ । गृहमन्त्रीबाट रवि लामिछानेलाई हटाउन सकेर नयाँ समीकरण भए गृहमन्त्री आफूले लिने दाउ माओवादीको छ ।

कांग्रेस सभापति देउवाले बुधबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल निवास बालुवाटार पुगेर दुई घण्टाभन्दा बढी छलफल गरे । प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाबीच संवैधानिक परिषद् बैठक बोलाउने र अवरुद्ध बन्दै आएको प्रतिनिधिसभा सुचारु गर्ने विषयमा छलफल भएको सार्वजनिक गरिएको छ । प्रधानमन्त्री र देउवाको सचिवालयले पनि यसैलाई पुष्टि गरेका छन् । तर कुरा यतिमा मात्र सीमित छैन । दुई नेताबीच सरकारको कार्यशैली, सत्ता गठबन्धन दलबीचको सहकार्य र जनतालाई राहत दिनेलगायतका विषयमा छलफल भएको थियो ।

त्यसो त सभापति देउवाले यसअघि पनि प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर दाहालसँग छलफल गरिसकेका छन् । तर यसबारे दुवैतर्फबाट औपचारिक जानकारी आएको छैन । दुई नेताबीच भएको  संवादमा राजनीतिक विषय वस्तुमै छलफल भएको दाबी नेताहरुको छ । यसरी बसेर गरिएको छलफल सकारात्मक दिशामा अघि बढेको दाबी पनि कांग्रेसका नेताले गरेका छन् ।

सभापति देउवाले मात्र होइन, कांग्रेसका महामन्त्री गगन थापाले पनि प्रधानमन्त्री दाहालसँग भेटघाट गरिसकेका छन् । थापाले प्रधानमन्त्री निवासमै गएर छलफल गरेको बताइएको छ । दाहाल र थापाबीच भएको छलफलमा पनि फेरि नयाँ समीकरण बनाउने विषयमा कुरा भएको स्रोतको दाबी ।

प्रधानमन्त्री दाहालसँग पटकपटक कुरा गरिसकेका देउवा अब फेरि पार्टीलाई सत्तामा पुर्‍याउनेमा ढुक्क देखिएका छन् । उनले आफूसँग भेट्न आउनेलाई धैर्य गर्न आग्रह गर्दै आएका छन् । केही समयमै पार्टीलाई सरकारमा पुर्‍याउने दाबी उनको छ । देउवाले भने जस्तै महामन्त्री गगन थापा पनि कांग्रेस चाँडै सत्तामा पुग्ने बताउँदै छन् । शुक्रबार मात्रै एक सार्वजनिक कार्यक्रममा महामन्त्री थापाले अब कांग्रेस फेरि चाँडै सत्तामा पुग्ने बताए । तर कसरी पुग्ने भन्ने उनले स्पष्ट पारेका छैनन् । यसले गर्दा पनि प्रधानमन्त्री दाहाल फेरि कांग्रेसतिर नजिक हुन लागेका त होइनन् भन्ने प्रश्न उठेको छ ।

उता प्रधानमन्त्री दाहाल पनि आफूले फेरि राजनीतिक उथलपुथल गर्ने बताउन थालेका छन् । बिहीबार मात्र एक कार्यक्रममा प्रधानमन्त्री दाहालले राजनीतिक उथलपुथलको प्रसंग निकालेका हुन् । उनको यो भनाईले एमालेसँगको गठबन्धनमा आफू असन्तुष्ट बनेको संकेत गरेको छ । तर कस्तो उथलपुथल गर्ने भन्ने चाहिँ उनलै स्पष्ट पारेका छैनन् ।

तर अहिले प्रधानमन्त्री दाहाल नेपाली कांग्रेसको मोहजालमा फस्दै गएको आंकलन गरिएको छ । कांग्रेस सभापति देउवाले प्रधानमन्त्री दाहाललाई पुन: सत्तासमीकरण बनाए पाँच वर्ष नै सरकारको नेतृत्व गर्न दिने, प्रदेशको मुख्यमन्त्रीको संख्या बढाइ दिने, महत्वपूर्ण मन्त्रालय पनि माओवादीलाई दिने आश्वासन दिएका छन् । माओवादी केन्द्रका एक नेताले बताएअनुसार अहिले दाहाल र देउवाको सम्बन्ध सुमधुर बनिसकेको छ । त्यति मात्र होइन, प्रधानमन्त्री दाहाल देउवासँग प्रसन्न भएका छन् । कांग्रेसका महामन्त्री थापाले पनि दाहाललाई धेरैथरी आश्वासन दिएको माओवादी वृत्तमा चर्चा छ ।

कांग्रेससँग माया–पिरती लाउन थालेका प्रधानमन्त्री दाहालले अब एमालेसँग कुन विषयमा निहुँ खोज्ने भन्ने बहाना खोजिरहेका छन् । उनले इलाम–२ को निर्वाचनमा एमालेले छलफल नै नगरी उम्मेदवारी दिएको विषय छ पाइसकेका छन् । त्यसैको काउन्टरस्वरुप दाहालले पनि माओवादी केन्द्रबाट अलग उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

एमालेसँग प्रधानमन्त्री दाहाल असन्तुष्टि हुनुको अर्को कारण हो– प्रदेशको नेतृत्व भागबन्डा नमिल्नु । एमाले र माओवादीबीच प्रदेशका मुख्यमन्त्री बाँडफाँटमा सहमति भएको छैन । एमालेले बढी भाग मागेको भन्दै प्रधानमन्त्री दाहाल असन्तुष्ट हुन थालिसकेका छन् । त्यसैगरी एमालेबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले पनि आफूलाई नटेरेको महसुस दाहालले गरेका छन् ।

प्रधानमन्त्री दाहालले अब राष्ट्रिय सभाको उपाध्यक्ष चयनका विषयलाई लिएर एमालेसँगको गठबन्धन टुटाउने मनस्थिति बनाउन थालेका छन् । योसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाउनु परेकोमा पनि उनले असन्तुष्टि जनाएका छन् । लामिछानेलाई एमाले अध्यक्ष ओलीको जोडबलमा गृह मन्त्रालयको जिम्मेवारी दिइएको थियो । रविको विषयलाई लिएर कांग्रेसले प्रतिनिधिसभा बैठक नै नियमित हुन दिएको छैन । कानुन निर्माणसम्बन्धी कामसमेत अलपत्र पर्ने अवस्था छ । रविलाई हटाउँदा आफू अल्पमतमा पर्ने डर दाहालमा छ । त्यही भएर एमालेसँगको गठबन्धनभन्दा कांग्रेससँगकै सहकार्य ठीक रहेछ भन्ने अवस्थामा दाहाल पुग्न लागेका हुन् ।

राजनीतिमा कतिबेला कताको हावा बग्छ थाहा हुँदैन । तर पछिल्ला केही दिनयता बढेको राजनीतिक भेटवार्ता, नेताको अभिव्यक्ति, गठबन्धन दलमा भागबन्डा नमिलेको परिस्थिति हेर्दा माओवादी–एमाले गठबन्धन पनि लामो समयसम्म जान सक्ने देखिन्न ।