• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

रञ्जिता प्रति रेशमको असन्तुष्टि: मन्त्री बनेर कांग्रेस, एमाले र माओवादीको मात्रै काम गर्नुभयो



काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले आफ्नो पार्टीबाट रञ्जिता श्रेष्ठ ११ महिना मन्त्री भएपनि केही काम गर्न नसकेको बताउनु भएको छ ।

आइतबार जापानको थारु कल्याणकारिणी सभाको कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले रञ्जिता मन्त्री हुँदा माओवादी, कांग्रेस, एमालेको मात्रै काम गरेको भन्दै असन्तुष्टि जनाउनु भयो ।

उहाँले भन्नुभयो ‘हामीलाई सरकारमा गएर केही गर्न दिनेवाला छैनन् । ११ महिना रञ्जिताजी मन्त्री बन्नुभयो । काम हाम्रो भएन, कांग्रेस, एमाले, माओवादीको मात्रै भयो ।’ उहाँले भन्नुभयो  ‘जनताको काम गर्नै नसक्ने मन्त्रालय दिएर गाडी चढ्नलाई र उद्घाटन गर्ने जानलाई मन्त्रालय हामीलाई चाहिएको छैन । हामी असली जनताको सेवक बन्न चाहन्छौं । जनतासँग खेतमा गएर किसानको समस्या बुझ्न चाहन्छौं ।’

नाउपाका केही नेताहरुले जनताको सेवक बन्न छाडेर मन्त्री बन्ने अपेक्षा राखेको भन्दै उहाँले आपत्ति जनाउनु भयो । उहाँले नाउपाका नेताहरु सकेसम्म आफ्नो आँखा छलेर सिंहदरबार जान खोजेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो ‘मेरो पार्टीमा पनि धेरै साथीहरुको आकांक्षा रहेछ मन्त्री बन्ने । म भन्छु जनताको सेवक बन्न पाऊँ । मेरा साथीहरु भन्नुहुन्छ मन्त्री बन्न पाऊँ । म भन्छु– जनताको सेवा गर ।’ उहाँले भन्नुभयो, ‘मेरा साथीहरु भन्छन्– गाडी चढेर सिंहदरबार कतिबेला जान पाइएला ? सकेसम्म रेशम चौधरीको आँखा छलेर जान पाए हुन्थ्यो ।’

रेशम र रञ्जिता श्रीमान श्रीमती हुन् । पार्टीको विषयलाई लिएर उनीहरुबीच तिक्तता बढिरहेको छ ।