२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुर्व श्री ५ ज्ञानेन्द्र राहदानी नविकरण गर्न राहदानी विभागमा पुग्दा……



अ+ अ-

काठमाण्डौ । कुनैबेला आफ्ना भतिजा भतिजी (दाजु श्री ५ वीरेन्द्रका छोराछोरी) दिपेन्द्र र श्रुतीले प्राथमिक शिक्षा लिएको कान्ति इश्वरी शिशु निकेतन रहेको ठाउँ त्रिपुरेश्वरमा भव्य भवन बनेर सरकारको राहदानी विभाग बनेपछि पुर्व श्री ५ ज्ञानेन्द्र पत्नि कोमलका साथ पहिलोपटक सोमबार त्यहाँ पुग्नुभयो ।

आफ्नो र पत्नि कोमलको कुटनैतिक राहदानी (रातो पासपोर्ट) को म्याद सकिनै लाग्दा उहाँहरु राहदानी नविकरण गर्न आम सर्वसाधारण जनता झैं राहदानी विभागमा पुग्नुभएको थियो ।
आफ्ना नाती नातिनी विदेशका विश्वविद्यालयमा पढ्ने गरेकोले उनीहरुलाई समय समयमा भेट्न जानुपर्ने,आफ्नो र पत्नि कोमलको स्वास्थ्य जाँचको लागि र धार्मिक भ्रमणहरुमा पनि विदेश गईराख्नुपर्ने भएकोले पनि कुटनैतिक राहदानी नविकरण गर्न आफैं जानुभएको थियो ।

नयाँ राहदानी बनाउन र नविकरण गरि वैदेशिक रोजगारमा जान युवाहरुको एकाविहानैदेखि सो विभागमा लामो लाइनबारेको समाचार र तस्वीरहरु सामाजिक सञ्जालमा देख्दै आउनुभएका पुर्व श्री ५ ज्ञानेन्द्र विभागमा सेवाग्राही सर्वसाधारणको अवस्था बुझ्न पनि त्यहाँ पुग्नुभएको बताइन्छ ।

कुटनैतिक राहदानी प्रयोग गर्ने राष्ट्रप्रमुख तथा विशिष्ट व्यक्तिहरुको नयाँ राहदानी बनाउन होस् या नविकरण गर्न उनीहरुको सचिवालयका अधिकारीहरु जाने भएतापनि आफ्नो र पत्निको राहदानी नविकरण गर्न पत्नि कोमलका साथ पुर्व श्री ५ ज्ञानेन्द्र आफैं राहदानी विभाग पुग्नुभएको हो ।

राहदानी नविकरण गर्न पुर्व श्री ५ दम्पति आउने कुराको पुर्व जानकारी पाएतापनि विभागका कर्मचारीहरुले भने शुरुमा त्यो कुरा पत्याएका थिएनन् । तर उहाँहरुलाई एक्कासी विभागमा देखेपछि सबै कर्मचारीहरु अवाक् झैं देखिए ।

राहदानी नविकरण गरिसकेपछि विभागमा कार्यरत अघिकाँश कर्मचारीहरु पुर्व श्री ५ ज्ञानेन्द्र र पुर्व वडामहारानी कोमलसंग सामुहिक र छुट्टाछुट्टै तस्वीर र सेल्फी खिचेका थिए । सेवाग्राही जनताले पनि उहाँहरुसंग तस्वीर खिचाएका थिए ।

कान्ति ईश्वरी शिशु निकेतन (प्राथमिक विद्यालय) भत्काएर भवन विभागले नयाँ भव्य भवन बनाएर त्यहाँ राहदानी विभाग बनाएपछि विभागले त्यहाँबाट कुटनैतिक राहदानीको साथै काठमाण्डौ उपत्यका बाहिरका बासिन्दाको नयाँ राहदानी बनाउने र पुरानो राहदानी नविकरणको सेवा दिँदै आएको छ ।