पोखरा । पहिलो पटक फाइनलमा पुगेको एपीएफले पहिलो प्रयासमा नै २० औं आहारारा गोल्डकपको उपाधि हात पार्न सफल भएको छ । सर्वाधिक विजेता मनाङ मर्स्याङ्दीलाई टाइब्रेकरमा ५–४ ले स्तब्ध पार्दै एपीएफले जित हासिल गरेको हो ।
खेलको २० औं मिनेटमै एपीएफले अग्रता लिएको हो । यसै सिजनबाट एपीएफबाट खेल्न सुरु गरेका युवराज खड्काले वर्मन्ड बिडोमको पासलाई नियन्त्रणमा लिँदै बललाई जाली चुमाएका हुन् ।
सर्वाधिक उपाधि विजेता टोली र १४ वर्षपछि फाइनल पुगेको विभागीय टोली एपीएफबीचको खेल प्रतियोगिताकै रोमाञ्चक बनेको थियो । एपीएफसँग हारसँगै मनाङको ७ औं पल्ट उपाधि चुम्ने सपना विफल भएको छ ।
मनाङ र एपिएफ आहा राराको २० औं संस्करणमा आइपुग्दा ६ पटक भिडेका छन् । मनाङ र एपीएफ अहिलेसम्म चौथो, ५ औं, ८ औं, ९ औं, १७ औं र २० औं आहारारा गोल्डकपमा आमनेसामने भएका हुन् । जसमा पुलिस २ खेलबाहेक ४ मा हार व्यहोरेको छ
आहा राराको दुई दशकको इतिहासमा छपटकको च्याम्पियन मनाङ मस्र्याङदी फुटबल क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले पहिलोपटक गोल्डकपको उपाधि चुमेको छ ।
यही माघ ६ गतेदेखि सहारा क्लब पोखराको आयोजनामा पोखरा रङ्गशालामा सञ्चालन भएको २०औँ संस्करणको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा एपिएफले मनाङलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले हराउँदै इतिहास रच्न सफल भएको हो ।
आहा रारामा १४ वर्षपछि फाइनलमा स्थान बनाएको एपिएफले च्याम्पियन बन्दै रु १० लाख एक हजार पुरस्कार र ट्रफी हात पार्न सफल हुँदा मनाङले रु पाँच लाख एक हजारमा चित्त बुझाउन बाध्य बन्यो । हालसम्म उपाधि जित्न नसकेको विभागीय टोली एपिएफले उपाधि उचालेसँगै आहा राराले नयाँ च्याम्पियन पाएको छ ।
खेलको निर्धारित र अतिरिक्त ३० मिनेटको खेल दुई गोलको बराबरीमा सकिएपछि टाइब्रेकरबाट खेलको निर्णय गरिएकामा एपिएफ टाइब्रेकरमा भाग्यमानी भयो । एपीएफको जितमा गोलकिपर युया कोरियामा नायक बन्नुभयो । पेनाल्टी सुटआउटमा मनाङका ओलावाले अफिजको प्रहारलाई रोक्दै कोरियामाले एपिएफलाई पहिलोपटक च्याम्पियन बनाउँदै ऐतिहासिक सफलता दिलाउनुभयो ।
टाइब्रेकरमा एपिएफका नवीन लामा, सनिष श्रेष्ठ, रवि थिङ, मणि लामा र अर्मान्ड बिडोमले गोल गर्न सफल हुनुभयो । मनाङका फ्रेङलिन, दयानन्द सिंह, शिव गुरुङ र रुपेश केसीले मात्र गोल गर्नुभयो । खेलको २१औँ मिनेटमा एपिएफका युवराज खड्काले गोल गर्दै अग्रता बनाउनुभएको थियो । पहिलो हाफमा १–० ले पछि परेको मनाङले दोस्रो हाफमा खेलको ६७औँ मिनेटमा दयानन्द सिंहको गोलमार्फत खेल बराबरीमा ल्याउन सफल भयो ।
खेलको ८४औँ मिनेटमा फ्रेङलिनको गोलमार्फत मनाङले अग्रता बनाएर विजय नजिक पुगेको अवस्थामा पाँच मिनेटको इन्ज्यूरी समयको पहिलो मिनेटमा एपिएफका रवि थिङले गोल गर्दै खेललाई अतिरिक्त समयमा लैजान सफल हुनुभएको थियो । अतिरिक्त समयमा दुवै टोलीबाट कुनै पनि गोल हुनसकेको थिएन ।
‘क्याराभान गोल्डकप’ सहित १२औँ पटक फाइनल खेलेको मनाङलाई दुईपटक मात्र फाइनल पुगेको एपिएफले स्तब्ध बनाउँदै उपाधि जित्न सफल भएको हो । एपिएफ १४ वर्षपछि दोस्रोपटक फाइनल पुगेको हो । विसं २०६४ मा छैटौँ संस्करणमा पहिलोपटक फाइनल पुगेको एपिएफ नेपाल पुलिस क्लबसँग २–० ले पराजित भएको थियो ।
मनाङले भने विसं २०६० को दोस्रो, विसं २०६१ मा तेस्रो, २०६८ को दशौँ, विसं २०७२ मा चौधौँ, विसं २०७३ को पन्धौँ र विसं २०७६ को १८औँ संस्करणको उपाधि जितेको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि एपिएफका डिफेण्डर राजन गुरुङले प्राप्त गर्नुभयो । उहाँले पुरस्कारवापत एक थान स्कुटर पाउनुभयो ।
यसैगरी उत्कृष्ट गोलकिपर एपिएफका युया कोरियाम, डिफेण्डर एपिएफका राजन गुरुङ, मिडफिल्डर एपिएफकै रवि थिङ, फरवार्ड मनाङका ओलावाले अफिज, उत्कृष्ट प्रशिक्षक एपिएफका कुमार थापा, सर्वाधिक गोलकर्ता एपिएफका रवि थिङ घोषित हुँदै जनही रु २५ हजारका दरले पुरस्कार पाउनुभयो । प्रतियोगितामा नेपालका ए डिभिजनका आठ क्लब, विदेशी एक र आयोजक सहाराको गरी १० टोलीले सहभागिता जनाएका थिए । रासस
–––











