२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बस एक्कासि बजारियो, उठेर चिच्याउँदै काखको छोरी खोज्न थालेँ’



अ+ अ-

कास्की । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३ की २८ वर्षीया सरिता ढकाल खड्का पोखराको मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहनुभएको छ । रुकुमबाट काठमाडौँका लागि छुटेको खड्का चढ्नुभएको यात्रुवाहक बस सोमबार साँझ बाग्लुङको निसीखोला–६ मा दुर्घटना भएको थियो । सरिताको ढाड र टाउकामा चोट लागेको छ ।

सरिता तीन महिनाको छोरी ज्ञानु, ससुरा ६२ वर्षीय हर्कबहादुर केसी र सासू ५५ वर्षीया लिलासहित काठमाडौँ जाँदै हुनुहुन्थ्यो । घरबाट खाना खाएर सोमबार बिहान ९:३० बजेतिर चारै जना बसमा चढ्नुभयो । मङ्सिरमा शिक्षक पेसाबाट सेवानिवृत्त सरिताका ससुरा हर्कबहादुरको काठमाडौँमा पेन्सन पट्टाको काम मिलाउनु थियो । सासूले भनेपछि सरिता पनि छोरी लिएर जान तयार हुनुभयो । सरितालाई पेटको समस्या भएकाले यही मेसोमा राजधानीमा राम्रो उपचार गर्ने योजना थियो ।

बस मध्यपहाडी राजमार्गमा आफ्नै गतिमा हिँडिरहेको थियो । साँझ पर्दै थियो । रुकुम र बाग्लुङको सीमा पातीहाल्नेमा खाजा खान बस रोक्ने यात्रुहरुको अनुमान विपरीत बस नरोकिईकन अघि बढ्यो । यात्रुहरु आफ्नै तालमा कोही निदाइरहेका थिए भने कोही मोबाइल हेरिरहेका थिए । सरिता पनि छोरीलाई काखमा सुताएर निदाइरहनुभएको थियो । निसीखोलाको जाउलेपानीमा आइपुगेपछि बसका केही यात्रु गाडी गयो, गयो भनेर एक्कासि चिच्याउन थाले ।

सरिता पनि झल्यास्स हुनुभयो र काखको छारीलाई च्याप्प समाउनुभयो । बस एक बल्डङ खाएको सरितालाई याद छ । उहाँ त्यही अड्किनु भएछ । मणिपाल अस्पतालको आकस्मिक कक्षबाट खड्काले भन्नुभयो, “एक्कासि बस गयो गयो भनेर सबै चिच्याए, मलाई बोल्न आएन, छोरीलाई च्याप्प समाएँ, बस एक्कासि बजारियो, त्यही बेला म बीचमा अड्किएको रहेछु, होसमा आउँदा छोरी काखमा थिइन, बस तल थियो, उठेर छोरी/छोरी भनेर चिच्चाएँ ।”

काखमा छोरी नदेखेपछि सरिता चिच्याउनुभयो । भान्जाले माथि छन् भनेपछि सरिता सकी नसकी उठेर छोरी भएको ठाउँमा पुग्नुभयो । छोरी रोइरहेकी थिइन् । भाञ्जाको सहयोगले माथि सडकमा निस्किनुभयो । बुर्तिबाङमा सामान्य उपचारपछि बाग्लुङ जिल्ला अस्पताल पठाएकामा अहिले सरिता, छोरी, सासू/ससुरासहित पाँच जनाको मणिपालमा उपचार भइरहेको छ । दुर्घटना कसरी भयो भन्ने उहाँलाई केही जानकारी छैन । बस एक्कासि सडकबाट तल खसेको मात्र उहाँलाई थाहा छ । पछि घाइतेहरुले बस तीव्र गतिमा भएको बताएको सरिताले बताउनुभयो ।

अहिले सरितालाई काठमाडौँ जान नहिँडेको भए हुने रहेछ भन्ने लागिरहेको छ । “किन काठमाडौँ जान लागेँ हुँलाजस्तो भइरहेको छ”, उहाँले भन्नुभयो, “ठूलो भाग्यले बाँचियो, जिन्दगीमा यस्तो पनि भोग्नुपर्ने रहेछ ।” दुर्घटनामा परेका सरिता र छोरीको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ ।

उहाँका ससुरा हर्कबहादुर, सासू लिला र सिन्धुपाल्चोकका देवेन्द्र रिजालको अवस्था गम्भीर रहेको अस्पतालका चिकित्सक डा नवराज बस्ताकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार मणिपालमा पाँचजनाको उपचार भइरहेकामा गम्भीर घाइतेको मेरुदण्ड र कम्मरको हड्डी भाँचिएको छ । बाग्लुङको निसीखोला बस दुर्घटनामा नौजनाको मृत्यु भएको छभने घटनामा २८ जना घाइते छन् । घाइतेहरुको पोखरासहित बाग्लुङका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । रासस




भर्खरै