• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   सहमतिबाट नेतृत्व निर्माण हुन नसके निर्वाचनबाट हुन्छः झलनाथ खनाल ★   नेकपा एसको महाधिवेशन एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प लिएका छौंः माधवकुमार नेपाल ★   नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त झा पक्राउ ★   लालीगुराँस सहकारीका प्रमुख सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ ★   देशलाई धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छः प्रधानमन्त्री ★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर)

च्याउ खेतीबाट मनग्य आम्दानी



घोराही । रुकुम पश्चिम बाँफिकोटका सिजाराम बाठामगरको मुख्य पेसा च्याउ खेती हो । उहाँले विगत आठ वर्षदेखि घोराही–१७ गैरागाउँमा च्याउखेती गर्दै आउनुभएको छ । च्याउ खेतीबाट मनग्य आम्दानी हुन थालेपछि उहाँले लगानी बढाउँदै लैजानुभएको छ ।

अहिले उहाँले वार्षिकरुपमा रु १५ लाख बराबरको च्याउको कारोबार गर्दै आउनुभएको छ । यसबाट रु तीन लाखसम्म बचत हुने गरेको उहाँको भनाइ छ । “२०७२ सालबाट च्याउ खेती सुरु गरेको थिए । अहिले आठ वर्ष भयो । म निरन्तर रुपमा च्याउ उत्पादन गर्दै आएको छु”, उहाँले भन्नुभयो, “यो अवधिमा राम्रो आम्दानी भएको छ ।” पहिले च्याउको बजार कम भए पनि पछिल्लो समय बढ्दै जाँदा च्याउ खेतीमा लाग्ने व्यवसायीसमेत थपिँदै गएको बताउनुभयो । ३९ वर्षीय बाठामगरले देश बाहिर समेत गएर च्याउ खेतीको बारेमा अवलोकन र अध्ययन गरेर आउनुभएको छ । उहाँको च्याउ फार्ममा स्थानीय १२ कामदारले समेत रोजगार पाएका छन् ।

दैनिक करिब ४०/५० केजी बराबरको च्याउ उत्पादन गर्दै आएको बताउने बाठामगरले उत्पादन भएको च्याउ जिल्लाको घोराही, तुलसीपुरसँगै जिल्ला बाहिर प्युठान, बुटवल, कोहलपुर, सुर्खेतलगायतका ठाउँमा समेत पठाउने गरेको बताउनुभयो । उहाँले खुद्रामा रु २०० केजीका दरले बिक्री गर्दै आउनुभएको छ । सुगर, प्रेसरलगायतका बिरामीले समेत खान मिल्ने र मासु नखानेले समेत च्याउ खान मिल्ने भएका कारण पछिल्लो समय जिल्लामा च्याउको माग बढ्दै गएको उहाँको भनाइ छ ।

“पहिले धेरैलाई च्याउ खान हुँदैन भन्ने थियो । तर अहिले त्यो अवस्था हटेको छ”, उहाँले भन्नुभयोे, “अहिले च्याउ खानुपर्छ भन्ने चेतनाको विकास भएको छ । जसले गर्दा खपत बढेको छ ।” बाठामगरले दुई बिघा जग्गा भाडामा लिएर विगत लामो समयदेखि व्यवसाय गर्दै आएको बताउनुहुन्छ । उहाँका अनुसार च्याउ भदौ महिनादेखि चैतसम्म राम्रो आम्दानी लिन सकिने बताउनुभयो । उहाँले अहिले कन्य, पाते जातको च्याउ उत्पादन गरेर बिक्री गर्दै आउनुभएको छ ।

मेहनत गर्न सकियो भने आम्दानी पनि सोचेअनुसारको प्राप्त गर्दै जाने उहाँको अनुभव रहेको छ । आगामी दिनमा च्याउ खेती गरेका किसानलाई बजारीकरणमा सहयोग पुर्‍याउनका लागि सरकारीस्तरबाट पनि च्याउको महत्व र यसले स्वास्थ्यलाई दिने फाइदालगायतका बारेरमा आम नागरिकलाई जानकारी गराउन आवश्यक रहेको बताउनुभयो ।

आफ्नै देशमा कुषि व्यवसायमार्फत स्वरोजगार बन्नका लागि अनुदानसँगै बजारको ग्यारेन्टी गरिदिन स्थानीय सरकारलाई उहाँले आग्रह गर्नुहुन्छ । अनुदान प्राप्त गर्ने वास्तविक किसानभन्दा पनि यहाँ विचौलियाको बढी हाबी हुने हुँदा कृषक सधैँ मारमा पर्ने गरेको उहाँको अनुभव रहेको छ । आफ्नो च्याउ खेतीबाट राम्रो आम्दानीसँगै स्थानीय धेरै नागरिकले रोजगार पाउन सफल भएको हुँदा भोलिका दिनमा व्यवसायलाई बढाउँदै लैजाने किसान बाढामगरको भनाइ रहेको छ । रासस