• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo

यो संसद रहुन्जेलसम्म सरकार कायम रहन्छ, अर्को बनाउने कोशिस हुँदैनः योगेश भट्टराई



काठमाडौँ । नेकपा(एमाले)का सांसद योगेशकुमार भट्टराईले वर्तमान संसद रहुन्जेलसम्म सरकार कायम रहने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद भट्टराईले वर्तमान संसद रहुन्जेलसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार कायम रहने बताउनुभएको हो । उहाँले अहिलेको संसदको लागि यो सरकार बनाउनु अन्तिम विकल्प भएको बताउनु भयो । उहाँले अर्को कुनै सरकार बनाउने कोशिस नहुने पनि बताउनु भयो । सरकार निर्माणको निर्णायक शक्ति एमाले भएको उल्लेख गर्दै उहाँले सरकारलाई आगामी चार वर्षसम्म अगाडी बढाउने दायित्व एमालेकै भएको बताउनु भयो । उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने चर्चा गरेर वर्तमान सत्ता समिकरणलाई अविश्वासतिर नधकेल्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेकपा(एमाले)को समर्थनमा आज १५७ जना माननीयज्यूहरुले विश्वासको मतमा मत दिनुभएको छ । र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यूले विश्वासको मत पाउनुभएको छ । विश्वासको मत पाउनु भनेको मतलव यो संसद रहँदासम्म यो सरकार कायम रहन्छ । किनकी यो संसदको लागि यो लगलग अन्तिम विकल्प हो । त्यसैले अब अर्को कुनै सरकार बनाउने कोशिस हुँदैन ।

यो सरकारको निर्णायक शक्ति नै नेकपा(एमाले) छ । प्रधानमन्त्रीको रुपमा प्रचण्डजीलाई हामीले स्वीकारेका छौँ । त्यसो हुँदा नेकपा(एमाले)को दायित्व छ कि यो सरकारलाई आउने चार वर्षसम्म अगाडी बढाउने । यो संसदलाई आउने चार वर्षसम्म अगाडी बढाउने । र मुलुकमा व्याप्त भएका कतिपय समस्याहरुको सकारात्मक निकास दिने । जनतामा भएको निराशालाई आशामा बदल्ने । अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित गर्ने ।

अर्थतन्त्रलाई सन्तुलित बनाउने । र अन्य कतिपय सामाजिक, आर्थिक समस्यालाई हल गर्ने र संसदबाट आवश्यक विधेयकहरु संसदमा टेबुल गर्ने, त्यसलाई पास गर्ने र विशेष गरी संघीय निजामती ऐन, विद्यालय शिक्षा ऐन लगायतका संघीयताका कार्यान्वयन सँग सम्बन्धित ऐनहरुलाई छिटोभन्दा छिटो संसदबाट अगाडी बढाउने । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षबाट टुंग्याउने । ओलीलाई प्रधानमन्त्री बनाउने चर्चा गरेर हामी गठबन्धनलाई, सत्ता समिकरणलाई अविश्वासतिर धकेल्न चाहँदैनौँ ।’

उहाँले एमालेले प्रधानमन्त्री पदलाई नपर्खिएको बताउनु भयो ।