१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

मोफसलमा चित्रकारिताको सुगन्ध छरिरहेका कलासाधकहरु

मोफसलमा चित्रकारिताको सुगन्ध छरिरहेका कलासाधकहरु
अ अ+ अ-

झापा । पैतीस वर्ष अघि साथीसँग सापटी मागेको रु ४०० बोकेर राजधानी काठमाडौँ पुग्नुभएका झापाका पवन राजवंशी अहिले आफ्नो समुदायको पहिलो ‘प्राज्ञ’ हुनुहुन्छ । ललितकला क्याम्पसको औपचारिक अध्ययनपछि काठमाडाँैका केही ‘आर्ट ग्यालरी’मा चित्रकारिताको अभ्यास गर्नुभएका राजवंशीले तीन दशकयता गृहजिल्लामै बसेर कला–साहित्य साधना गरिरहनु भएको छ ।

चित्रकार राजवंशीका हास्यव्यङ्ग्य र समसामयिक चित्रकला प्रख्यात छन् । वि।सं। २०६९ मा नेपाल ललितकला प्रतिष्ठानले उहाँलाई प्राज्ञ मनोनयन गरेको हो । कनकाइ नगरपालिका– ८ घैलाडुब्बा निवासी ५४ वर्षीय राजवंशी कलाकारिताकै माध्यमबाट मान, सम्मान र अर्थोपार्जन गर्न सफल भएकामा आल्हादित हुनुहुन्छ ।

“मेची क्याम्पस पढ्दापढ्दै पकेट खर्च बोकेर अवसरको खोजीमा काठमाडौँ भासिएको थिएँ,” कलायात्राका आफ्ना पुराना दिन सम्झिदै उहाँ भन्नुहुन्छ–“म भाग्यमा होइन, कर्ममा विश्वास गर्छु । यही कलाकारिताले मलाई अहिले सबथोक दिएको छ । कलाकर्मीको रुपमा चिनिएको छु ।”

अग्रज साहित्यकार रमेश विकलले चित्र कोर्न हौस्याएपछि चित्रकारितामा जमेर लाग्नु भएको उहाँले पचासको दशकअघि नै राजधानीका स्थापित रुपरेखा, हिन्दू, रविवार, बुधबारलगायत साप्ताहिक पत्रिकामा व्यङ्ग्यचित्र बनाएर चर्चा बटुलिसक्नु भएको थियो ।

कलाकार उत्पादन गर्ने र नवप्रतिभालाई सम्मान गर्ने उद्देश्यले उहाँले स्वर्गीय बुवा कुलदीप राजवंशीको स्मृतिमा कला प्रतिष्ठान स्थापना गर्नुभएको छ । उहाँले बाचमु कला प्रतिष्ठान स्थापना गर्नुभएको छ । “आदिवासी समुदायको भाषा, कला, साहित्य, संस्कार र संस्कृतिको जगेर्ना गर्ने अभियानमा सक्रिय राजवंशीले धार्मिक ग्रन्थ ‘गीता’लाई राजवंशी भाषामा अनुवाद गर्नु भएको छ । झापाका आधा दर्जन जति विद्यालयमा उहाँ चित्रकला शिक्षकको रुपमा कार्यरत हुनुहुन्छ भने उहाँका चित्रकलाले प्रदर्शनीमा स्थान पाउने गरेका छन् ।

झापा ‘गोल्डकप’को प्रतीक चिह्न र बाह्रदशी गाउँपालिकाको आदिवासी पहिचान झल्काउने प्रतिमा निर्माण गर्नुभएका उहाँका चित्रहरुको रङ्गीन पत्रिका ‘अनुभूति’ प्रकाशित भइसकेको छ । झापाकै माटोको सुगन्ध मगमगाउने अर्का प्रतिभा हुनुहुन्छ–छितेन शेर्पा । मेचीनगर–६ काँकडभिट्टालाई कार्यथलो बनाएर जिल्लाभर ललितकलाको उत्थानमा जुट्नु भएको उहाँले देही आर्ट ग्यालरी सञ्चालन गर्दै आउनुभएको छ ।

काँकडभिट्टामा २०७१ देखि ०७५ सम्म तीनपटक आयोजना भएको साहित्य कला उत्सवमा शेर्पाले नै कला विधाको नेतृत्व गर्नु भएको थियो । समाजमा कला चिनाउन कठिन भइरहेका बेला यसबाटै जीविका चलाउन सहज थिएन तर, उहाँले विद्यालयहरुमा कला शिक्षकका रुपमा काम गरेर जीवनयापनलाई सहज बनाउने प्रयास गर्नुभयो । उहाँले स्वध्ययनबाटै चित्रकारितालाई उजिल्याउनु भएको हो । उहाँका कलाकृतिहरु अन्तर्राष्ट्रिय ग्यालरीहरुमा सजिइसकेका छन् । उहाँ कुलदिप राजवंशी स्मृति कला उत्थान सम्मान र सुसेली प्रतिभा पुरस्कारबाट सम्मानित भइसक्नु भएको छ ।

पूर्वी नेपालका जातीय तथा सांस्कृतिक बिम्बहरुलाई कलामा उतार्ने उहाँको विशेषता लोकप्रिय छ । “कला साधनामा मौलिकता भेटिएन भने खल्लो हुन्छ,” उहाँ भन्नुहुन्छ–“राज्यको संरचनाले कलाको सही मूल्याङ्कन गर्न सकेन भने चोकहरुमा विकृत मूर्तिहरु ठडिन्छन् । पर्यटन प्रवद्र्धनको बहानामा राज्यको ढुकुटी खर्चेर पर्यावरण नै नाश हुने संरचनाहरू बनिरहन्छन् ।”

उहाँले पूर्वी नेपाल कला र संस्कृतिमा धनी भए तापनि त्यसको जगेर्ना हुन नसकेकामा गुनासो गर्नुहुन्छ । हरेक विद्यालयमा कला शिक्षक तोकिनुपर्ने र कलाकृतिको बजारीकरणमा स्थानीय सरकारले ध्यान दिनु पर्नेमा उहाँको जोड छ ।

देही आर्ट ग्यालरीमा उहाँसँग कला सिक्नका लागि नयाँ पुस्ताका प्रशिक्षार्थीको घुइँचो लाग्छ । आफ्ना शिष्यहरुलाई लिएर उहाँ नेपाल र भारतका कला कार्यशाला र प्रदर्शनीहरुमा पुग्ने गर्नुहुन्छ । यसोगर्दा सिकारु कलाकारको सीप तिखारिने उहाँ बताउनुहुन्छ । झापामा बसेर चित्रकारितामा योगदान पुर्याइरहेका अर्का प्रतिभा हुनुहुन्छ– हिम्मत नेम्वाङ । कनकाइ–३ निवासी ५३ वर्षीय नेम्वाङ दृष्टिविहीनहरुले समेत अनुभूति गर्न सक्ने ‘रिलिफ पेन्टिङ’ बनाउन सिपालु हुनुहुन्छ । गत साता झापाको सुरुङ्गामा रोटरी क्लबले आयोजना गरेको कला साहित्य उत्सवमा उहाँका ‘रिलिफ पेन्टिङ’ले धेरै प्रशंसा पाएको थियो ।

“वि.सं. २०६१ मा आफूसँगै नवप्रतिभाको पुरस्कार पाउने दृष्टिविहीन जेठा मुर्मुले चित्रकलाको अनुभूति गर्न नसकेको गुनासो गरेपछि मेरो दिमागमा नयाँ उपाय फुर्यो,” उहाँले ‘रिलिफ पेन्टिङ’का बारेमा बताउँदै भन्नुभयो–“त्यसपछि मैले चिनियाँ माटोलाई काठ र भित्ताहरुमा पोत्दै मूर्ति र चित्रको सम्मिश्रणबाट नयाँ प्रयोग गरेँ । त्यही नयाँ प्रयोग नै ‘रिलिफ पेन्टिङ’ थियो ।” हेर्दा चित्र जस्तो र छाम्दा मूर्ति जस्तो अनुभूति हुने उहाँका ‘रिलिफ पेन्टिङ’ अचेल प्रदर्शनीहरुमा अवलोकनकर्ताको आकर्षण बन्ने गरेको छन् । उहाँ परम्परागत र आधुनिक दुवै विषयमा चित्र र मूर्ति बनाउनुहुन्छ । उहाँले बनाउनु भएको ‘भारी बोकिरहेका गौतम बुद्ध’को मूर्तिले अत्यधिक चर्चा पाएको छ । यसलाई उहाँ आध्यात्मिक र माक्र्सबादी दर्शनको फ्यूजन भन्न रुचाउनुहुन्छ ।

“माक्र्सवादी दर्शनले श्रम गर्नुपर्छ भन्छ, अहिले भौतिक विज्ञानको युगमा धर्मको कुरा मात्र गरेर हुँदैन,” उहाँ बुद्ध मूर्तिको व्याख्या गर्दै भन्नुहुन्छ–“पूजापाठ गरिरहँदा पनि त्यहाँ नैवेद्य, फलफूल र पैसा चाहिन्छ । त्यसका लागि श्रम अर्थात् काम गर्नुपर्छ । काम नगरी धर्मकर्म हुँदैन । पहिलो श्रम अनि मात्र धर्म हो । यस मूर्तिकलामा बुद्ध आफैले साधना गरेर भोको पेटमा निरन्तर श्रम गरिरहेको देख्न सकिन्छ ।”

उहाँको कलायात्राको प्रेरणाको स्रोत हजुरबुवा रणध्वज नेम्वाङ हुनुहुन्थ्यो । उहाँको हजुरबुवा शिक्षाविद्, साहित्यकार र मूर्तिकार हुनुहुन्थ्यो । पछि यो कला उहाँले आफ्ना बुवामार्फत सिक्नु भयो । स्कुल पढ्दा अंशु वर्माको चित्र बनाएर कालोपाटीमा टाँस्दा साथी र शिक्षकले प्रशंसा गरिदिदा आफूमा कलाप्रतिको प्रेम मौलाएको उहाँले बताउनुभयो । “गोठालो जाँदा धुलोमा चित्र बनाइन्थ्यो । तिनलाई साथीले राम्रो मान्थे । त्यतिखेर रङ थिएन । अँगार र सिमीको पातको झोलले चित्र कोरिन्थ्यो । सनपाटको बुरुस बनाएर कोरिन्थ्यो । चित्र कोर्दै जाँदा एउटा चीज हुन्थ्यो । त्यसरी नै कलामा प्रभावित भइयो,” उहाँले कलायात्रा बताउँदै भन्नुभयो–“म स्वध्ययनबाट चित्रकार बनेको हुँ । ‘सिनियर आर्टिस्ट’सँग सम्पर्क भयो । भारतमा एउटा इस्न्टिच्यूटमा छ महिना कला अभ्यास गरेँ । समसामयिक आधुनिक मूर्तिकलाका बारेमा अध्ययन गरेँ । विश्वप्रसिद्ध कलाकारहरुको जीवनी पढेँ ।”

उहाँले आफ्नी छोरी सपनालाई पनि चित्रकारितामा लाग्न प्रेरित गर्नु भएको छ । हाल सपना ललितकला विषयमै स्नातकोत्तर तहको अध्ययन गरिरहनु भएको छ । उहाँले सन्थाल समुदायको बब्लु हेमरमलाई चित्रकला सिकाएर विभिन्न आदिवासी क्षेत्रमा कला कौशललाई विस्तार गर्नु भएको छ । कनकाइ–३ कै बब्लु हेमरमले सन्थाल संस्कृति र परम्परालाई झल्काउने विभिन्न चित्र कोर्नु भएको छ । नेम्वाङले त्यस्ता चित्रकलालाई प्रोत्साहित गर्न आफ्नै प्रदर्शनीमा स्थान दिने गर्नु भएको छ । टुकीको मधुरो प्रकाशमा फाटेको लुगा सिइरहेकी एउटी सन्थाल महिला र उनको छोराको चित्र हालै सुरुङगामा आयोजित महोत्सवमा चर्चित भएको थियो ।

“मलाई हिम्मत सरले नै चित्रकला सिकाउनु भएको हो,” हेमरमले भन्नुभयो–“हुन त म अहिले ‘वाल आर्ट’गर्छु । कला प्रदर्शनीह आयोजना हुँदा उहाँसँगै सहकार्य गरेर विभिन्न मौलिक चित्रहरु बनाउने गर्छु ।” स्थानीय पालिकाहरुले स्थानीय कला र कलाकर्मीहरुको संरक्षण गर्ने हो भने नेपालमा चित्रकारिता गरेर सहजै गुजारा चल्ने नेम्बाङ बताउनुहुन्छ । आम मानिसमा चित्रकला, मूर्तिकला र हस्तकलासम्बन्धी चेतना कम भएको जनाउँदै उहाँले यसलाई विद्यालयस्तरदेखि नै पाठ्यक्रममा समावेश गर्न आवश्यक भएको बताउनुभयो । त्रिभुवन विश्वविद्यालयअन्तर्गत ललितकला क्याम्पस र काठमाडौँ विश्वविद्यालयमा मात्र उच्च तहको कला विधामा अध्ययन अध्यापन हुने तर भारतका प्रत्येक प्रान्तमा कला विश्वविद्यालय रहेका उहाँले बताउनुभयो ।

उहाँले आफ्नै घरमा ‘सेवारो आर्ट ग्यालरी’ सञ्चालन गर्दै आउनु भएको छ । वि।सं। २०६१ मा क्रियटिभ आर्टस् ग्यालरीबाट मूर्तिकला र चित्रकला बनाउन थाल्नु भएका उहाँले ग्यालरीमा २५ वटा ढुङ्गाका ठूला मूर्ति कुँदेर सजाउनु भएको छ भने त्यसलाई सङ्ग्रहालय बनाउने उहाँको भावी योजना छ । भारतको विहार, सिक्किम र पश्चिम बङ्गालका विभिन्न स्थानमा उहाँका मूर्ति बिक्री भएका छन् । उहाँले काठमाडौंमा सातपटक, बङ्गलादेशमा एकपटक, भारतको मध्यप्रदेशमा एकपटक कला प्रदर्शनी आयोजना गर्नु भएको छ । मोफसलमा पनि उहाँको पाँचौँ एकल कला प्रदर्शनी भइसकेको छ ।

मेचीनगर–६ काँकरभिट्टालाई नै कर्मथलो बनाउँदै आउनु भएको झापाका अर्का प्रतिभाशाली कला साधक हुनुहुन्छ– ५२ वर्षीय केसाङ लामा । विद्यार्थी छँदा साथीहरुले तत्कालीन राजा वीरेन्द्रको दुरुस्त चित्र बनाएको देखेपछि चित्रकलामा आकर्षित भएको बताउने उहाँले वि।सं। २०७८ मा तीन दशक राजधानीको बसाई टुङ्ग्याएर आफ्नै गृहनगर मेचीनगरमा आएर कला सिकाउने अभियान थाल्नु भयो ।

बहुसांस्कृतिक एकता समाज नामको ग्यालरी स्थापना गर्नु भएको उहाँले मेचीनगरका चार वटा विद्यालयमा नियमित रुपमा नृत्य र चित्रकला प्रशिक्षण गरिरहनुभएको छ । “कला धेरै प्रकारका हुन्छन्, तर उपयोगी कला जानेको व्यक्ति कहिल्यै भोको बस्नु पर्दैन,” उहाँ भन्नुहुन्छ–“ललितकलाका साथीहरु आफ्नै कल्पनामा मात्र चित्र कोर्नुहुन्छ । हामी चाहिँ अर्काले गरेको परिकल्पनामा कागज, काठ वा भित्ताहरुमा चित्र कोर्छौं । त्यहीभएर हाम्रो कलालाई उपयोगी कला भनिएको हो ।”

उहाँले बुद्धको जन्मस्थल नेपाल हो भनेर चिनाउने उद्देश्यले हालै ८० मिटर लामो उपयोगी चित्रकला बनाउनु भएको थियो । झापामा त्यसको सार्वजनिक प्रदर्शनी भएको थियो । नयाँ पुस्तालाई कलाकारिताका सीप हस्तान्तरण गर्दै नयाँ कलाकार उत्पादनका लागि आफू अहोरात्र खटिरहेको चित्रकार लामा बताउनुहुन्छ । रासस