• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
Latest
★   हल्का वर्षा पछि कस्तो छ वायु प्रदूषणको अबस्था ★   काँग्रेस गृहमन्त्रीलाई संसदमा बोल्न दिनुपर्छ भन्ने ठाउँमा आएको छः सन्तोष परियार ★   काँग्रेस जिम्मेवार प्रतिपक्ष बनोस्, म माथि संसदीय समिति बनाउनुपर्ने स्पष्ट आधार छैनः गृहमन्त्री ★   काँग्रेसको व्यक्ति लक्षित संसदीय समितिको माग सम्भव छैन: एमाले ★   गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउने काँग्रेसको अडान कायमै ★   अमेरिकामा प्रथम विद्वत् धर्मसभा ! ★   चितवनमा बाघ र गैँडा मृत फेला ★   सिन्धुलीमा रहेका मुख्यमन्त्री जम्कट्टेल बिरामी, हेलिकोप्टरमार्फत काठमाडौँ ल्याईदै ★   उपेन्द्र यादव नेतृत्वको जसपाले सरकारलाई दिएको समर्थन कायम राख्ने ★   दुई वर्षमा दुई वटा पनि कानून बनेनन्: मन्त्री भण्डारी

अमेरिकी लगानीकर्तालाई लगानी सम्मेनलमा सहभागी हुन अर्थमन्त्रीको अपिल



काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी वैशाखमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनमा सहभागिता जनाउन अमेरिकी लगानीकर्तालाई आग्रह गर्नुभएको छ । नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनसँग आज अर्थमन्त्रालयमा भेटवार्ता गर्नुहुँदै अर्थमन्त्री पुनले अमेरिकाबाट बढीभन्दा बढी लगानीकर्ता आउने वातावरण बनाइदिन आग्रह गर्नुभयो ।

नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण रहेको उल्लेख गर्नुहुँदै अर्थमन्त्री पुनले लगानीकर्ताका लागि आवश्यक कानुनी तथा व्यावहारिक सहजीकरणका लागि सरकार तत्पर रहेको बताउनुभयो । “अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल ‘भर्जिनल्याण्ड’ हो”, पुनले भन्नुभयो, “तपाईंमार्फत लगानी सम्मेलनमा अमेरिकी लगानीकर्ताको सहभागिता बढीभन्दा बढी होओस् भन्ने आग्रह गर्न चाहन्छु ।”

पुनले नेपालमा लगानीका लागि कृषि, उद्योग तथा सूचना प्रविधि क्षेत्रमा राम्रो सम्भावनाको क्षेत्र भएको बताउनुभयो । लगानी सम्मेलन पूर्वनिर्धारित समयमै हुने बताउँदै सरकारले त्यसको तयारीका लागि तीव्रता दिइरहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

राजदूत थम्प्सनले लगानी सम्मेलनमा अमेरिकी लगानीकर्ता आउन इच्छुक रहेको जानकारी दिनुभयो । उहाँले अमेरिकी लगानीकर्ता नेपालमा आउने वातावरण बनाउन नेपालस्थित अमेरिकी दूतावासले सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

अर्को प्रसङ्गमा राजदूत थम्प्सनले सङ्क्रमणालीन न्यायसम्बन्धी विधेयक चाँडै टुङ्गो लाग्ने र त्यसलगत्तै शान्ति प्रक्रियाको कामले तीव्रता पाउनेमा विश्वास व्यक्त गर्नुभयो ।

“सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक चाँडै टुङ्गिने र शान्ति प्रक्रियाका बाँकी काम सकिनेमा अमेरिका आशावादी छ”, राजदूत थम्प्सनले भन्नुभयो, “त्यसमा सहयोग गर्न अमेरिकी सरकार तयार छ ।”

थम्प्सनले शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन आवश्यक आर्थिक सहयोगका लागि अमेरिका तयार रहेको र विश्वका अरु धेरै देश पनि सहयोगका लागि तत्पर रहेको पाएको उल्लेख गर्नुभयो । भेटमा उहाँले अमेरिकाले गर्दै आएको विकास सहयोग जारी रहने प्रतिबद्धता जनाउनुभयो ।

आजको भेटवार्ताका क्रममा राजदूत थम्प्सनले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को अनुदानअन्तर्गत नेपालमा कार्यान्वयन भइरहेको परियोजना समयमै सक्ने गरी काम अघि बढोस् भन्नेमा पनि चासो राख्नुभएको छ । त्यसको जवाफमा मन्त्री पुनले अमेरिकाले नेपालको समग्र विकासमा सहयोग गर्दै आएको उल्लेख गर्नुहुँदै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धताका लागि थम्प्सनलाई धन्यवाद ज्ञापन गर्नुभयो । एमसिसीअन्तर्गतका परियोजनाको काम सुरु भइसकेको भन्दै समयमै सम्पन्न गर्न नेपाल सरकार प्रतिबद्ध रहेको पनि मन्त्री पुनले बताउनुभयो । रासस