• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

प्रचण्ड सरकारको आयु एक महिना: मेटमणि चौधरी



काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले एमाले–माओवादी नेतृत्वको सरकारको आयु एक महिना पनि नरहेको दाबी गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले विकसित राजनीतिक घटनाक्रमबारे दलको धारणा लिनको आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो सरकार बेठीक नियतका साथ बनेकाले यसको आयु लामो नरहेको दाबी गरेका हुन् ।

‘यो सरकार बेठीक नियतको साथ बनेको छ । यद्यपि मेरो पार्टी पनि सरकारमा सहभागी छ । बेठीक नियतको साथ बनेको कारणले यो सरकारसँग अपार चुनौति छ । निकै सानो अवसर छ । यो कुरा म विश्वासका साथ भन्छ, यो सरकार मुस्किलले बढीमा एक महिनाभन्दा यसको आयु छैन,’– उनले भने ।

नेता चौधरीले सरकार निरन्तर रुपमा अगाडि बढिरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनलाई घात गरेको आरोपव लगाए । प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिका कारण देशमा अस्थिरता मच्चिएको पनि उनको दाबी छ । नेता चौधरीले प्रधानमन्त्री प्रचण्डको कदम गलत रहेको जिकिर गरे । प्रचण्ड केपी ओलीभन्दा पनि गलत र अस्थिरसिद्ध भएको उनको भनाइ छ । प्रचण्डको नियतमा नै खोट रहेको र यस्तो मनोविज्ञानले बनेको सरकार भत्काउन सक्नुपर्ने उनले बताए । नेता चौधरीले प्रचण्डको जस्तो चिन्तन भएका मानिसहरुलाई मुलुकको राजनीतिको मूलधारबाट सिमान्तकृत गर्नुपर्ने उनको भनाइ छ ।

‘अहिले उहाँको कारणले मुलुकमा अस्थिरता मच्चिने काम भइरहेको छ । उहाँकै कारणले, उहाँबाहेक अरु कोही होईन । म हिजोका दिनमा केपी कमरेडप्रति एकखाल्को आलोचन गर्थैं तर केपी ओलीभन्दा पनि धेरै अस्थिर, गलत मान्छे । आफ्नो कुर्सी फेरिराख्छन्, सत्ता सहकर्मीहरुलाई फेरिराख्छन्, तर आफ्नो कुर्सी जोगाइराख्ने उहाँको प्रवृत्ति छ । उहाँले नेतृत्व गरेको समीकरण अब कुनै हालतमा टिक्दैन । उहाँको नियतमै खोट छ । यो मनोविज्ञानले निर्माण भएको समीकरण भत्काउनै पर्छ,’– नेता चौधरीले भने ।

प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत पाएमा मुलुकले दु:ख पाइराख्ने र प्रचण्डले आफ्नो अनुकूलतामा फेरि अर्को गठबन्धन बनाउने उनको दाबी छ । आफूले संसद्मा बोलेको कुरालाई लिएर माओवादीकै सांसदहरुले ‘प्रचण्डका कारण हामीलाई मुख देखाउन पनि लाज लागिरहेको बेला तपाईँले बोलिदिनु भयो, धेरै खुसी लागेको छ’ भनेर टेलिफोन गरेकोसमेत उनले सुनाए ।

अबको सात दिनभित्र मुलुकको राजनीतिक कोर्ष नयाँ ढंगले अगाडि बढ्ने उनको दाबी छ । प्रधानमन्त्री प्रचण्डले दुई जना काण्डवाला मानिसहरुलाई लिएर अहिलेको सरकार बनाएको उनको टिप्पणी छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले गृहमन्त्री भएर आफूमाथि आइलागेको मुद्दाहरु राफसाफ गर्ने मनशाय राखेको उनको दाबी छ । नेता चौधरीले गृहमन्त्री लामिछानेको उक्त चाहना पूरा हुन नदिने बताए ।

‘उहाँको आफ्नो मनशाय छ– गृहमन्त्री भएर आफूमाथि आइपरेका मुद्दाहरु राफसाफ गर्ने चाहना छ । तर, त्यो राफसाफ गर्ने चाहना पुरा हुनेवाला छैन । प्रचण्डभन्दा पनि अस्थिर मान्छे घण्टी पार्टी, रवि लामिछाने,’– उनले भने ।

केपी ओलीले प्रचण्डसँग बदला लिन हिसाब किताब गरेर बसकेको उनको भनाइ छ । नेता चौधरीले ओलीले साँवामात्रै राफसाफमात्रै नभएर ब्याज र हर्जनासमेत असुल गर्न तयार भएर बसेको उनको दाबी छ ।

साथै, ओलीले प्रचण्डको नेतृत्वमा प्रतिनिधि सभा विघटन गराएर विगतमा आफूले ठीक गरेको थिएँ भन्ने भाष्य निर्माण गर्नसमेत चाहेको उनको दाबी छ ।

उनले आफू वर्तमान सरकार ढाल्न र आफ्नै पार्टी अध्यक्ष माधव कुमार नेपाललाई प्रधानमन्त्री बनाउने उनले बताए । यदि अध्यक्ष नेपाल प्रधानमन्त्री नबने प्रचण्डबाहेक जोसुकैलाई पनि प्रधानमन्त्री बनाउन आफूहरु तयार रहेको बताए । साथै, एकीकृत समाजवादीको तर्फबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउने र जतिसक्यो आफूहरु बिगार्ने खेलमै लाग्ने पनि उनले बताए ।

‘म मेरो ठाउँबाट यो सरकार ढाल्ने काममा लाग्छु । सकभर मेरै पार्टीका अध्यक्षलाई प्रधानमन्त्री बनाउने काममा लाग्छु । यदि भएन भने प्रचण्डबाहेक जोसुकै होस् प्रधानमन्त्री बनाउने,’– उनले भने ।

जहिले पनि प्रधानमन्त्री बनाउन आफूहरुले त्याग गरेपनि माधव नेपाल विरामी भएर ओच्छानमा सुतिरहेको बेला थाहै नदिई प्रचण्डले अर्को गठबन्धन बनाएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । साथै, ललिता निवास र माधव नेपालप्रति कुनै साइनो सम्बन्ध नरहेको उनको दाबी छ ।