• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

शिवलिङ्गमा किन जल र दूध चढाइन्छ ?



शुक्रबार महाशिवरात्रि पर्व मनाईदैछ । पौराणिक र धार्मिक मान्यताहरुका अनुसार तीन कारणहरुले महाशिवरात्री पर्व मनाइन्छ ।

भगवान शिव र पार्वतीको विवाह फागुन मास कृष्ण पक्षको चतुर्दशी तिथिमा भएको थियो । यो तिथिमा भगवान शिव र पार्वतीको महामिलनको रुपमा पनि मनाइन्छ । महाशिवरात्रीको दिन शिव–पार्वतीको विवाह हुनाले यसको महत्व धेरै रहेको छ ।

यस्तै, महाशिवरात्री कै दिन भगवान शिवले आफ्नो शिवलिङ्ग स्वरुपमा प्रकट भएका थिए । यही कारणले महाशिवरात्रीको दिन विशेष प्रकारले शिव लिङ्गको पूजा आरधना गर्ने विधान रहेको छ । त्यसैगरी त्यहि दिन समुद्र मन्थनबाट निस्किएको विष पिएर भगवान शिवले यो सृष्टिलाई संकटबाट बचाएका पनि पौराणिक मान्यता छ ।

शिवलिङ्गको जलाभिषेक गरेर पुजाअर्चना गर्न राम्ररो मानिन्छ । विशेषगरी भगवान शिवलाई पानी, दूध, दही, घिउ जस्ता शीतल वस्तु चढाउने चलन छ ।

शिवलिङ्गलाई किन चढाइन्छ जल र दूध ?

प्राचीन कालमा देवता र दानव मिलेर समुद्र मन्थन गर्थे । समुन्द्र मन्थनमा कौस्तुभमणि, कल्पवृक्ष, ऐरावत हात्ती, उच्चश्रेव घोडा, महालक्ष्मी, धन्वंतरी, अमृत कलश जस्ता १४ रत्न निस्किए तर सबै रत्नभन्दा अगाडि हलाहल नामको विष निस्कियो ।

हलाहल विषका कारण संसारका सबै प्राणीको जीवन खतरामा परेको थियो । भगवान शिवले सबै जीवित प्राणीहरूलाई बचाउनको लागि यो विष पिएका थिए। भगवान शिवले विषलाई आफ्नो घाँटीमा राखेका थिए । घाँटीमा विषको रहेको कारण भगवान शिवको घाँटी नीलो भयो । नीलो घाँटी भएकै कारण भगवानको एउटा नाम नीलकण्ठ पनि हो ।

विषको कारणले भगवान शिवको शरीरमा जलन हुन थालेपछि यसलाई शान्त पार्न जल, दूध, दही पिलाईएकोे थियो । त्यसैले शिवलाई शीतलता प्रदान गर्न शिवलिङ्गमा जल, दूध, दही, घिउ जस्ता शीतल पदार्थ चढाउने चलन छ । साथै, शीतलताका लागि भगवान शिवले आफ्नो शिरमा चन्द्रमा धारण गरेका छन् ।

पानी र दूध चढाउँदा यी कुरामा ध्यान दिनुहोस्:

शिवलिंगलाई जल चढाउदा सुन, चाँदी, पीतल वा तामाको भाँडोबाट चढाउनुपर्छ। दूधको लागि चाँदीका भाँडाहरू प्रयोग गर्नु राम्रो हुन्छ। यदि तपाईंसँग चाँदीको भाँडो छैन भने, तपाईं माटोको भाँडोबाट पानी र दूध चढाउन सक्नुहुन्छ। स्टिल, आल्मुनियम वा फलामका भाँडाहरू प्रयोग नगर्दा राम्रो मानिन्छ । जल र दूध चढाउँदा ओम नम: शिवाय मन्त्रको जप गरिरहनुपर्छ।

यसरी गर्न सकिन्छ भगवान शिवको पूजा:

सबैभन्दा पहिले गणेशको पूजा गर्नुहोस्। गणेश पूजापछि तामा, चाँदी वा सुनको भाँडोबाट शिवलिंगमा जल चढाउनुहोस्। जल अर्पण गर्दा भगवान शिवको मन्त्र जप गर्नुहोस्। शिवलिंगमा जलसँगै दूध, दही र मह पनि चढाउनुपर्छ। अभिषेक गरेपछि शिवलिङ्गमा बेलपत्र, धतुरा, दत्तिका फूल आदि वस्तु चढाउनुहोस् । अन्तिममा धूप बालेर आरती गर्नुहोस् ।