काठमाडौँ । भारतको बथनाहादेखि विराटनगर–१८ बुधनगरसम्म मालवाहक रेल सेवाले निरन्तरता पाउन नसकेपछि स्थानीय व्यापारीहरु निराश भएका छन् ।
नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा भर्चुअल माध्यमबाट उद्घाटन गरेपछि गत जेठ १८ मा एक पटक विराटनगर आइपुगेको कार्गो’ रेल सेवा पुन: फर्किएन । गत जेठ १८ गते बथनाहादेखि विराटनगरस्थित एकीकृत भन्सार जाँच बिन्दु (आइसिपी) मा निर्माण भएको रेल्वे कस्टम यार्डसम्म आठ किलोमिटर दूरीको रेल चलेपछि धेरैमा उत्साह छाएको थियो । भारतबाट औद्योगिक कच्चा पदार्थ बोकेको मालवाहक रेल विराटनगर आएपछि उत्साहित बनेका नेपाली उद्योगीहरू अहिले निराश छन् ।
त्यसबेला आरती स्ट्रिप्सको औद्योगिक कच्चा पदार्थ झारेर जेठ १९ गते भारत फर्किएको मालवाहक रेल फेरि फर्किएर नआएपछि उद्योगीमा निराशा छाएको हो । आयातको लागत न्युनिकरण हुने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको नेपाल–भारत कार्गो रेल अहिले अलपत्र बनेको छ । नेपालले भारतसँग गरेको रुट सम्झौता बमोजिम सिमित मालसामान मात्र आयात गर्न पाएपछि रेल सञ्चालन अनिश्चित बनेको विराटनगरका उद्योगीहरूले बताएका छन् । उद्योगी पवन सारडाले
सरकारले सबै प्रकारका तयारी मालसामान तथा औद्योगिक कच्चा पदार्थ आयातको अनुमति नदिएपछि कार्गोरेल पुन: सञ्चालनको सम्भावना घट्दै गएको छ । रेल सञ्चालनमा आउनुअघि दुवै देशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले सन्धि सम्झौतामा हस्ताक्षर गरेका थिए । सन्धिमा कोलकत्ता बन्दरगाहबाट विराटनगर भन्सारसम्म रासायनिक मल, पत्थर तथा कोइला, क्लिंकर र सिमेन्ट मात्र आयात गर्न पाउने विषय उल्लेख छ । नजिकको बन्दरगाहबाट सीमित मालवस्तु मात्र आयात गर्न दिने सरकारको त्रुटिपूर्ण सम्झौताकै कारण ‘मालवाहक रेल पुन: सञ्चालनमा आउन नसकेको उद्योगीहरू बताउँछन् । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले कार्गोरेल पुन: सञ्चालनका लागि कोलकत्ताबाट सबै प्रकारका मालवस्तु आयातको अनुमति दिनुपर्ने बताउनु भयो ।
कार्गोरेल सञ्चालनमा नआउनुको अर्को मुख्य कारण लोडिङ–अनलोडिङको लागत हो । विराटनगर भन्सारमा कार्गो व्यवस्थापनको जिम्मा पाएको ट्रान्स नेपालको लोडिङ–अनलोडिङ चार्ज भारतको तुलनामा निकै महँगो रहेको उद्योगीको गुनासो छ । अहिले उद्योगीहरूले भारतबाट आयातित सामान भारतीय भन्सारमै अनलोड गरेर स्थलमार्र्गबाट आयात गर्दै आएका छन् । त्यसरी गरिएको आयात २०० रुपैयाँ प्रतिमेट्रिक टनले सस्तो परिरहेको उनीहरूको तर्क छ । यता बथनाहा–विराटनगर कार्गोरेल पुन: सञ्चालनको विषयमा भने आवश्यक पहल भइरहेको विराटनगर भन्सार कार्यालय जनाएको छ । कोलकत्ता बन्दरगाहबाट सबै प्रकारका मालसामान आयात गर्न पाउने व्यवस्था मिलाउन सरोकारवाला मन्त्रालयले भारतीय पक्षसँग समन्वय गरिरहेको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी पर्शुराम दाहालले बताउनु भयो ।
भारतले पछिल्लो समय बिशाखापटनम बन्दरगाहलाई विशेष महत्त्व दिएर कार्गोरेल सञ्चालन गरिरहेको छ । नेपालले पनि विशाखापटनम बन्दरगाह नै प्रयोग गरोस् भन्ने भारतको चाहना छ । तर विशाखापटनमबाट गरिने आयात कोलकत्ताको तुलनामा लागतको दृष्टिकोणले निकै खर्चिलो पर्ने भएकाले उद्योगीहरू त्यसका लागि तयार नदेखिएका हुन् ।