• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   ३९ जिल्लाका १ सय ६५ ठाउँमा डढेलो, ठाउँठाउँमा आगलागी ★   राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस आज मनाइँदै ★   च्याम्पियन्स लिगः डर्टमण्डले पिएसजीलाई हरायो ★   आईपीएलमा पञ्जाबले चेन्नईलाई लगातार पाँचौं पटक हरायो ★   नागरिक उड्डयनमन्त्री तामाङ्गद्वारा त्रिदेवीनगर, कोटेश्वरको सडक चौडा गर्न स्थलगत निरीक्षण ★   रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा ★   हार्दिक पाण्ड्यालाई २४ लाख जरिवाना ★   विभिन्न देशका ओलम्पिक खेलाडी विराटनगरमा ★   यी ४ टोली टी–२० विश्वकपको सेमिफाइनल पुग्ने, इंग्ल्याण्डका पूर्व कप्तानले गरे भविष्यवाणी ★   पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि नि:शुल्क गरिने

चिनियाँ नववर्ष कार्यक्रम सम्पन्न



काठमाडौँ :  चिनियाँ नववर्षसम्बन्धी नेपालका सबै कार्यक्रम सम्पन्न भएको छ । यस वर्ष चिनियाँ नववर्ष ड्रयागन वर्षका रूपमा मनाइएको थियो । संयुक्त राष्ट्र सङ्घले समेत गत वर्ष मान्यता दिएको चिनियाँ वसन्त पर्व नेपालका काठमाडौँ, भक्तपुर, ललितपुर र कास्की पोखरामा विभिन्न कार्यक्रम गरी मनाइएको थियो ।

सो कार्यक्रमको सुरुआत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  र नेपालका लागि चिनियाँ राजदूत छन सोङले गत पुस २९ गते यहाँ शुभारम्भ गर्नुभएको थियो । चिनियाँ नयाँ वर्षका अवसरमा नेपाल चीन मैत्री फुटबल म्याच, चिनियाँ इलेक्ट्रिकल सामग्री र लालटिन प्रदर्शनीलगायत विभिन्न सांस्कृतिक कार्यक्रम नेपालका विभिन्न दरबार, सडक,  उद्यान र खेलमैदानमा आयोजना गरिएको थियो ।

चिनियाँ नववर्ष समारोह समापनका अवसरमा यहाँस्थित चिनियाँ राजदूतावासमा आज आयोजित आभार कार्यक्रममा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले चीनको उदयबाट नेपाल र नेपाली खुसी भएको र उसबाट नेपालले  आर्थिक, सामाजिक र प्राविधिक विकासबारे सिक्ने बताउनुभयो । उहाँले चीन नेपालको विश्वासयोग्य विकास साझेदार भएको र उसले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गरेकामा कृतज्ञता पनि व्यक्त गर्नुभयो ।

नेपालका लागि चिनियाँ राजदूत छनले पहिलो पल्ट नेपालमा मनाइएको सो कार्यक्रमले चीनबारे बुझ्ने नेपालीको सङ्ख्या ३५ प्रतिशतले बढेको र यसबाट दुई देशबिच सांस्कृतिक आदानप्रदान, ज्ञान, समझदारी र सम्बन्धले गहिरो जरा गाडेको बताउनुभयो । उहाँले भन्नुभयो, “अर्काे वर्ष समाजवादी चीन स्थापनाको ७५ वर्ष र चीन नेपाल कूटनीतिक सम्बन्धको ७० वर्ष पुग्ने छ । चीनले नेपालसँगको सम्पर्क र सहयोग जारी नै राख्ने छ । हाम्रो सहकार्यको नयाँ सुरुआती विन्दु  सुरु हुने छ र हामी मिलेर काम गर्ने छौँ   ।”

राजदूतावासका डेपुटी चिफ अफ मिसन वाङ सिनले नेपालमा आयोजित वसन्त पर्वमा नेपाल पर्यटन बोर्ड, तामाङ सङ्घसंस्था, नेपाल मार्सल आर्ट सङ्घ, काठमाडौँ, ललितपुर,  भक्तपुर महानगरपालिका र नगरपालिका आदिले सहयोग गरेकामा आभार व्यक्त गर्दै यसबाट धेरै नेपालीले  चिनियाँ संस्कृति बुझ्न सकेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ र पर्यटन बोर्डका प्रतिनिधि नलिनी लाखेले नेपाल र चीनबीच खेलकुद तथा सांस्कृतिक– पर्यटकीय गतिविधि अझ वृद्धि गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । शनिबार भने चिनियाँ लालटिन पर्व मनाइने जनाइएको छ । कार्यक्रममा राजधानीका विभिन्न नगरपालिकाका प्रमुख–उपप्रमुख, नेपाल चीन मैत्री सङ्घसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी, यहाँस्थित चिनियाँ र नेपाली बुद्धिजीवीको सहभागिता थियो ।रासस