• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo

काम गर्न नसक्नेलाई विश्राम दिउँ, दाग लागेको मन्त्रीलाई घर पठाऔँ: महामन्त्री थापा



महासमिति बैठकमा प्रस्ताव पारितका लागि पेश गर्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बिहीबार जारी नेपाली कांग्रेसको महासमिति बैठकको अन्तिम दिनको बन्दसत्रमा प्रस्ताव निर्णयार्य पारितका लागि पेश गर्दै । तस्बिर : माधवप्रसाद घिमिरे/रासस

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारमा मुछिएका नेता, कार्यकर्ताहरुलाई पार्टीको वरिपरी राख्नु नहुने बताउनुभएको छ ।

बिहीवार महासमिति बैठकको समापन सत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले भ्रष्टाचारमा मुछिएका काँग्रेसका नेता, कार्यकर्ताहरुलाई पार्टीको वरिपरि राख्नु नहुने बताउनुभएको हो । उहाँले दाग लागेका मन्त्रीहरुलाई घर पठाउनुपर्ने बताउनु भयो । उहाँले काम गर्न नसक्ने मन्त्रीहरुलाई विश्राम दिनुपर्ने पनि बताउनु भयो । महामन्त्री थापाले काम गर्न नसक्ने वडाअध्यक्षलाई १० वर्ष घर बसाउनुपर्ने पनि बताउनु भयो ।

उहाँले यसो गर्न सकेमा काँग्रेसको शक्ति बढ्ने बताउनु भयो । उहाँले ०४६ साल पछाडी सार्वजनिक जिवनमा बसेको मान्छेको सम्पत्ति छानविन गर्नुपर्ने पनि बताउनु भयो । आफूमा लागेको दाग मेटाएर पार्टीलाई बलियो बनाउन सकेमा सहकारी ठग्ने, जग्गा किर्ते गर्ने र नागरिकता किर्ते गर्नेहरुलाई कारबाही गर्न सकिने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘हामी अहिले सरकारमा छौँ । सरकारमा भएर यसरी राम्रोसँग काम गरौँ । जसको कारणले गर्दा अर्को सरकारको बारेमा चिन्ता गर्नु नपरोस् । आम नागरिकहरु आज सरकारसँग सुशासन र डेलिभरीको कुरा खोजिरहेका छन् । भ्रष्टाचारीहरु एउटा पनि नउम्कियोस् । ठूलो माछाहरु समातियोस् । यसको निम्ति कानुन बनोस् । बनेको कानून बदल्नुपर्छ भने बदलियोस् । कांग्रेसको पहलमा हामीले कानून बनाउने केही पहलकदमीहरु लिएका छौँ । ०४६ साल पछाडी प्रत्येक सार्वजनिक जीवनमा बसेको मान्छेको सम्पत्ति छानविन होस् भन्ने कानून नेपाली काँग्रेसको पहलकदमीमा यहीँ संसदबाट बनाएर सुशासनको सन्दर्भमा हामीले देखाउनुपर्ने छ । कतिपय ठाउँमा दाग लागेको छ । दाग पुछ्नका लागि ऐन पुछेर हुँदैन । दाग हामी आफैँले मेटाउनुपर्छ । हाम्रो घरलाई ठिक बनाइसकेपछि अनि बलियोसँग उभिएको काँग्रेसले नेताको नाममा सहकारी ठग्नेहरुलाई ठिक ठाउँमा लिएर आउँछ । जग्गा किर्ते गर्नेहरुलाई ठिक ठाउँमा ल्याउँछ । नागरिकता किर्ते गर्नेहरुलाई ठिक ठाउँमा ल्याउँछ । डेलिभरी गर्ने हाम्रो काम हो । जिम्मामा भएका हाम्रा सांसद मन्त्रीहरुले हिसाव किताव दिन सक्नुपर्छ । प्रत्येकले आफ्नो रिपोर्ट कार्ड दिन सक्नुपर्छ । हाम्रो कामबाट नागरिक खुशी भएर कांग्रेसलाई धन्यवाद भन्न सक्नुपर्छ । काम गर्न नसक्ने मन्त्रीलाई विश्राम दिउँ । दाग लागेको मन्त्रीलाई घर पठाऔँ । अनि काम गरेर देखाऔँ काँग्रेसले । काम गर्न नसक्ने वडा अध्यक्षलाई अर्को पटक टिकट होइन, १० वर्ष घर बसाउँछु भनेर भन्न सक्नुपर्छ । भ्रष्टाचारमा मुछिएका एउटा मान्छेलाई काँगेसले वरिपरि राख्दिनँ भनेर भन्न सक्नुपर्छ । भन्नुपर्छ । त्यसपछि हाम्रो शक्ति आफैँ बढ्दै जान्छ ।’

उहाँले काँग्रेस सरकारमा रहेकाले जनतालाई सुशासन र डेलिभरी दिन सक्नुपर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल