• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ र ३ को मतगणना सकियो ★   फुपुको छोरीको हत्या गरी फरार रहेका अभियुक्त ९ वर्षपछि पक्राउ ★   खेलाडीले प्रेसर अझै राम्रोसँग म्यानेज गर्नसक्थेँ– प्रशिक्षक मोन्टी ★   सन्दीपको मुद्दा आज पनि हेर्न नभ्याइनेमा ★   नेपालमा लगानीका लागि धेरै सम्भावना छन्: मन्त्री चौधरी ★   इलाम अपडेटः कांग्रेसको अग्रता कायमै, कसको मत कति ? ★   प्रिमियर लिगमा आज आर्सनल र टोटेनहमबीच प्रतिस्पर्धा, म्यान्चेस्टर सिटीले नटिङहमसँग खेल्दै ★   युद्धविरामका लागि इजरायली प्रस्ताव अध्ययन गरिँदै: हमास ★   आगामी डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्नेछौँ: प्रधानमन्त्री ★   दर्शकको साथ पाए नेपाली चलचित्रले

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राजस्व सङ्कलन ११ अर्बभन्दा बढी



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हवाई उडानका दृष्टिकोणले अति व्यस्त विमानस्थल हो । आन्तरिक र अन्तर्राष्ट्रिय उडान चाप बढ्दो छ भने विमानस्थल भएर हवाईयात्रा गर्ने यात्रुको सङ्ख्या पनि बर्सेनि बढिरहेको छ ।

विमानस्थलमा उडान र यात्रुसँगै आम्दानी पनि बढ्दो छ । विमानस्थलका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा रु ११ अर्ब ३८ करोड राजस्व सङ्कलन भएको छ । चालु आवमा रु १३ अर्ब राजस्व उठाउने लक्ष्य लिइएको विमानस्थलले आजसम्म रु छ अर्ब ७६ करोड राजस्व उठेको उल्लेख गरेको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले विमानस्थल पूर्णक्षमतामा सञ्चालनमा आएको, अन्तर्राष्ट्रिय हवाई यात्रु बढेको तथा विमानस्थल सुधारका समग्र प्रयासबाट राजस्व क्रमश: बढिरहेको उल्लेख गर्नुभयो । विमानस्थलले यात्रुसेवा शुल्कबापत, कोठा र सटर बाहल तथा जहाजको अवतरण, बिसानलगायत शीर्षकबाट राजस्व उठाउँदै आएको छ ।

विमानस्थलले आव २०७७/७८ मा रु दुई अर्ब ४६ करोड राजस्व उठाएको थियो । कोभिड–१९ का कारण उक्त वर्ष राजस्व घटेको विमानस्थलले उल्लेख गरेको छ । कोभिडपछि विमानस्थल पूर्ण क्षमतामा सञ्चालित छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या पनि बढ्दो क्रममा छ । विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैगरी कुल ८६ लाख ९१ हजार चार सय ४३ यात्रुले हवाईयात्रा गरेका छन् । सन् २०२२ मा यो सङ्ख्या ७९ लाख ५४ हजार चार सय ९५ थियो । जुन अघिल्लो वर्षको तुलनामा नौ दशमलव दुई प्रतिशतले बढी हो । एक वर्षमा अन्तर्राष्ट्रियतर्फ ४५ लाख ४१ हजार एक सय ३७ ले हवाईयात्रा गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा ३० दशमलव १८ प्रतिशतले बढी हो । आन्तरिकतर्फ हवाईयात्रा गर्नेको सङ्ख्या ४१ लाख ५० हजार तीन सय २६ पुगेको छ ।

कोभिडअघि सन् २०१८ मा ७१ लाख ९० हजार नौ सय १२ र सन् २०१९ मा ७३ लाख २७ हजार ३१ यात्रुले हवाईयात्रा गरेका थिए । यो सङ्ख्या कोभिड–१९ अघि सन् २०१८ को भन्दा चार दशमलव पाँच प्रतिशतले बढी रहेको विमानस्थलले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल आन्तरिकतर्फ नौ एयरलाइन्स कम्पनी र १२ हेलिकोप्टर कम्पनी सञ्चालनमा छन् भने अन्तर्राष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले १६ देशका ३१ गन्तव्यमा सेवा दिइरहेका छन् ।

नेपालले हाल ४२ मुलुकसँग दुई पक्षीय हवाई सेवा सम्झौता गरेको छ । पछिल्लोपटक गत माघ २३ गते नेपाल र स्वीट्जरल्याण्डबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको थियो । रासस