• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   राजनीतिक दल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय ★   काँग्रेसको अवरोधपछि जेठ ६ गतेसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिनुपर्नेमा राप्रपाको जोड ★   हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग ★   सन्दीपलाई मेरिना इम्पेक्सको सुट ★   प्रधानमन्त्रीले कांग्रेसका नेताहरूलाई छलफलका लागि बोलाए ★   संसदीय समिति नबनेसम्म सदन चल्न नदिने ‘मुड’मा विपक्षी दल ★   ‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु: उपसभामुख राना (अन्तरवार्ता) ★   न्यायपालिकाप्रतिको आशंका निवारणमा सबै पक्षको प्रयास केन्द्रित हुनुपर्छ: प्रधानन्यायाधीश श्रेष्ठ ★   न्यायपालिकाको सुदृढिकरणका लागि सरकार प्रतिवद्ध: प्रधानमन्त्री

राष्ट्रिपतिद्वारा पञ्चकोटमा ‘मुक्तिनाथ महाघण्ट’ को घण्टानाद गरी उद्घाटन



ढोरपाटन (बागलुङ) : राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा स्थापना गरिएको पाँच हजार ५५५ किलोको मुक्तिनाथ महाघण्ट उद्घाटन गर्नुभएको छ । आज यहाँ आउनुभएका राष्ट्रपति पौडेलले करिब रु दुई करोड लागतमा निर्माण भएको महाघण्टको को घण्टानाद गरी उद्घाटन गर्नुभएको हो ।

पञ्चकोटधामका परिकल्पनाकार एवं संस्थापक मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा बागलुङ नगरपालिका–५ स्थित पञ्चकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न यो महाघण्ट स्थापना गरिएको थियो । पञ्चकोटमा बुधबारदेखि अनन्तश्री ब्रह्माण्डीय महायज्ञ सुरु भएको छ । फागुन ९ देखि सुरु भएको महायज्ञमा पनि राष्ट्रपति पौडेल सहभागी हुनुभएको छ । करिब आधाघण्टा पञ्चकोटमा रहनुभएका पौडेलले यहाँ बन्दै गरेको १०८ फिट गण्डकी कलशकोसमेत अवलोकन गर्नुभएको थियो । दश वर्षअघि स्थापना भएको पञ्चकोटमा निर्माण भएका धार्मिक संरचनाका साथै निर्माणाधीन सो कलसका बारेमा स्वामी कमलनयनाचार्यले राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको थियो ।

मुक्तिनाथ महाघण्ट पञ्चधातु सुन, चाँदी, तामा, पित्तल र फलाम मिसाएर बनाइएकाले यो घण्टीलाई ‘महाघण्ट’ भनिएको हो । महाघण्ट बनाउन आठ वर्ष लागेको जानकारी पनि स्वामी कमलनयनाचार्यले बताउनुभयो । जलसम्पदाको संरक्षण गर्न सो कलश तथा विश्वमा शान्तिको सन्देश फैलाउन सो महाघण्टको स्थापना गरिएको उहाँले जानकारी दिनुभएको हो ।

महाघण्टलाई दुई साता अगाडि पञ्चकोटमा ल्याइए पनि आजमात्रै विधिपूर्वक स्थापना गरिएको उहाँ बताउनुहुन्छ । विसं २०७२ देखि पञ्चकोटमा धार्मिक संरचना बनाउन सुरु गरिएको थियो । पञ्चकोटमा अहिलेसम्म सिसमहल, गण्डकीमाताको मन्दिर, यज्ञशाला, हनुमानको विशाल मूर्तिलगायत दर्जनौँ धार्मिक संरचना बनिसकेका छन् । विभिन्न दाताको सहयोग, महायज्ञबाट सङ्कलन भएको रकम र सरकारबाट भएको करोडौँको लगानीले अहिले पञ्चकोट देशव्यापीरूपमा चर्चित बनेको छ ।

पञ्चकोटमा निर्माण गर्न लागिएको एक सय आठ फिट अग्लो गण्डकी विश्वशान्ति कलशको नजिकै महाघण्ट राखिएको छ । महाघण्टबाट निस्किएको ध्वनि साविक धौलागिरिका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका अधिकांश बस्तीमा सुन्न सकिने दाबी गरिएको छ । महाघण्ट बनाउन करिब रु दुई करोड खर्च लागेको अनुमान गरिएको छ ।

समुन्द्री सतहदेखि एक हजार सात सय ५० मिटरको उचाइमा रहेको पञ्चकोटमा धार्मिक संरचना निर्माणका लागि आठ वर्षअघि तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले शिलान्यास गर्नुभएको थियो । पछिल्लो समय मुस्ताङको मुक्तिनाथ, म्याग्दीको गलेश्वरलगायत ठाउँमा पुग्ने धार्मिक पर्यटक यहाँ आउन थालेपछि चहलपहल बढेको पाइन्छ ।

हिजोदेखि सुरु भएको यस महायज्ञमा देशका विभिन्न जिल्ला तथा भारतबाटसमेत साधुसन्त र भक्तजनहरु आइरहेका छन् । स्वार्मी कमलनयनाचार्यको सङ्कल्पमा नेपालमै पहिलो पटक हुन लागेको यस ब्रह्माण्डीय महायज्ञ यही २३ फागुनसम्म सञ्चालन हुनेछ । रासस