१९ असार २०८३, शुक्रबार
,
Latest
राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु कर्तव्य ज्यान मुद्दाका फरार घर्तीमगर पक्राउ धनुषामा अनियन्त्रित रथका कारण बालिकाको मृत्यु सरकारले तत्काल राष्ट्रिय चिया लिलाम बजारको स्थापना गर्नुपर्दछः नेकपा सांसद अर्याल बैतडीमा यात्रुवाहक बस दुर्घटना, क्षतिको विवरण आउन बाँकी नेप्से परिसूचक आठ अङ्कले घट्यो सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

उन्नत सौर्य ऊर्जा परियोजना उद्घाटन



अ+ अ-

काभ्रेपलाञ्चोक (पाँचखाल): नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा निर्माण सम्पन्न १८५ केभिए क्षमताको ‘उन्नत सौर्य ऊर्जा परियोजना’को उद्घाटन गरिएको छ ।

‘संयुक्त राज्य अमेरिका एसिया प्रशान्त कमाण्ड–विश्व शान्ति कार्य प्रयास’को सहयोगमा निर्मित उक्त परियोजनाको आज यहाँ आयोजित समारोहमा संयुक्त राज्य अमेरिकाका राजनीतिक–सैन्य मामिला ब्यूरोका योजना तथा कार्यसञ्चालनसम्बन्धी उपसहायक विदेश मन्त्री रेचल शिलरले उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा उहाँले संयुक्त राज्य अमेरिका, नेपाल र संयुक्त राष्ट्र सङ्घबीचको यो त्रिपक्षीय साझेदारीको ‘हाइब्रिड सौर्य ऊर्जा जेनेरेटर’ योजनाको उद्घाटन गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

“यो परियोजना दक्षिण सुडानमा संयुक्त राष्ट्रसङ्घ मिसनमा सेवारत नेपाली बटालियनले प्रयोग गर्नका लागि पनि विस्तार गरिने छ”, मन्त्री शिलरले भन्नुभयो । यो परियोजनाले दक्षिण सुडानको रुम्बेकमा रहेको नेपालको बटालियनले प्रयोग गरिरहेको डिजेल जेनेरेटरलाई प्रतिस्थापन गरी हाइब्रिड सौर्य ऊर्जाबाट चल्ने जेनेरेटर प्रविधिमा लगिने छ । मन्त्री शिलरले यसले कार्बन उत्सर्जन कम गर्न र इन्धन खपत घटाएर मिसनको लागत घटाउन मद्दत गर्ने उल्लेख गर्नुभयो ।

नेपाली सेनाको युद्धकार्य महानिर्देशक उपरथी प्रेमध्वज अधिकारीले परियोजनाका बारेमा अवगत गराउँदै उक्त अमेरिकी सहयोगप्रति आभार व्यक्त गर्नुभयो । साथै उहाँले सामूहिक प्रयास र प्रतिबद्धतामा परियोजना महत्वपूर्ण भएको उल्लेख गर्नुभयो ।

यस परियोजनाबाट उत्पादन हुने ऊर्जाले नेपाली सेनालाई आफ्नो नियमित काममा थप सहजता हुने भन्दै उपरथी अधिकारीले सौर्य ऊर्जाले वातावरण स्वच्छ बनाउन तथा कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । रासस