• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo

लिङदेनको चेतावनी: राप्रपाका मागलाई उपेक्षा गरे बिद्रोहमा परिणत हुन्छ



file photo

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राप्रपाका मागलाई सरकारले उपेक्षा गरे बिद्रोहमा परिणत हुने चेतावनी दिनुभएको छ ।

बुधवार ४० बुँदे ज्ञापनपत्र सिंहदरबारमा प्रधानमन्त्रीलाई बुझाउँदै जनदबाबका कार्यक्रमको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले औपचारिक रुपमा जनदबाबका कार्यक्रम शुरु गरेको बताउनु भयो । उहाँले ज्ञापन पत्रमा देशको समसामयिक राजनीति र परिस्थितिको बारेमा उल्लेख गरिएको बताउनु भयो । उहाँले देश धेरै नै बिग्रिसकेको बताउँदै अब यही अवस्थामा रहिरहन नसक्ने जिकिर गर्नुभयो । उहाँले देशलाई नविन सम्झौता गरेर अघि बढाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले सबैले स्थान पाउने गरी अघि बढ्न ज्ञापन पत्रमा सुझाव दिएको बताउनु भयो । उहाँले अभिभावकीय संस्थाको रुपमा राजसंस्था, सर्वधर्मसमभावपूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र हुनुपर्ने आफूहरुको माग रहेको बताउनु भयो । उहाँले धर्मान्तरणलाई निषेध गर्नुपर्ने, जनप्रतिनिधिको संख्यामा कटौति गर्नुपर्ने, प्रदेश तह खारेज गर्नुपर्ने बताउनु भयो । उहाँले बैंकको ब्याज एकल अंकमा झार्नुपर्ने सुझाव दिएको पनि बताउनु भयो । उहाँले राप्रपाका मागप्रति प्रधानमन्त्री सकारात्मक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज प्रधानमन्त्रीलाई ४० बुँदे ज्ञापन पत्र दिएका छौँ र औपचारिक रुपमा जनदबाबका कार्यक्रम शुरु गरेका छौँ । त्यसमा देशको समसामयिक राजनीति र परिस्थितिको बारेमा उल्लेख गरेका छौँ । देशको स्थिति यो अवस्थामा पुग्यो की अब यो यहीँ रही राख्न सक्दैन । राष्ट्रिय प्रजातन्त्र पार्टीले अब पछाडि फर्किनुपर्छ भनेको होइन । अब देश यहीँ पनि बसिरहन सक्दैन । अब नविन सम्झौता गरेर देशलाई नयाँ बाटोमा लैजानुपर्छ । सबैको स्थान होस्, सबैको सहभागिता होस् । देशले नयाँ बाटो लिओस् । अभिभावकीय संस्थाको रुपमा राजसंस्था, सर्वधर्मसमभावपूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र हुनुपर्छ । धर्मान्तरणलाई निषेध गर्नुपर्छ ।’

‘अहिले जनप्रतिनिधिहरुको संख्या यति ठूलो रुपमा छ की देशको अर्थतन्त्रले त्यसलाई धान्नै सक्दैन । जनप्रतिनिधिहरुको संख्यामा व्यापक कटौति हुनुपर्छ । त्यसमा सबैभन्दा पहिला प्रदेश तह खारेज हुनुपर्छ । केन्द्र र बलियो स्थानीय तह बन्नुपर्छ । बैंक तथा वित्तीय संस्थाको बारेमा सरकारको ध्यानाकर्षण गराएका छाँै । बैंकको ब्याज एकल अंकमा झार्नुपर्छ । प्रधानमन्त्रीले यसलाई सकारात्मक रुपमा लिनुभएको छ । ललितानिवास जग्गा प्रकरण, सुन काण्डको कुरा होस्, नक्कली भूटानी शरणार्थी प्रकरणको कुरा होस्, बाइडबडी लगायतका काण्डहरुको पुन: र पूर्ण छानबिनको कुरा उठाएका छाँै । हामीले यो आन्दोलनलाई सशक्त रुपमा लैजान्छौँ र सरकारले यसलाई मागको रुपमा मात्रै लियो भने र राप्रपका माग उपेक्षा गरियो भने त्यो कठोर बन्दै बिद्रोहसम्म जानसक्छ ।’

अध्यक्ष लिङदेनले ललितानिवास जग्गा प्रकरण, सुन काण्ड, नक्कली भूटानी शरणार्थी प्रकरण, बाइडबडी लगायतका भ्रष्टाचार प्रकरणमा पुन: र पूर्ण छानबिन गर्न माग गरेको बताउनु भयो ।