१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल

चिस्यान केन्द्र बनेपछि किसान लाभान्वित, ‘सिजन’ नभए पनि मुस्ताङका स्याउ बजारमा

चिस्यान केन्द्र बनेपछि किसान लाभान्वित, ‘सिजन’ नभए पनि मुस्ताङका स्याउ बजारमा
file photo
अ अ+ अ-

म्याग्दी । मुस्ताङका किसानले चिस्यान केन्द्रमा भण्डारण गरेर बेसिजन पनि स्याउ बेच्न थालेका छन् । स्याउको याममा व्यापारीले भनेको मूल्यमा बेच्नुपर्ने र बढी मूल्य पार्न बेसिजनमा बिक्रीका लागि चिस्यान केन्द्र बनाएर स्याउ भण्डारण गरेका थिए । चिस्यान केन्द्रमा भण्डारण गर्ने सुविधा भएपछि लामो समय खुला ठाउँमा भण्डारण गरेर राख्दा स्याउ कुहिएर क्षति व्यहोर्नुपर्ने समस्या हटेको किसानहरूले बताएका छन् ।

घरपझोङ गाउँपालिका–२ मार्फाका विश्व लालचनले बेसिजनमा बिक्री गर्न आठ हजार किलो स्याउ चिस्यान केन्द्रमा भण्डारण गरेको बताउनुभयो । “असोज–कात्तिकमा व्यापारीले जति भन्यो त्यति मूल्यमा स्याउ बेच्नुपर्छ”, किसान लालचनले भन्नुभयो, “चिस्यान केन्द्रमा कात्तिकमा राखेको स्याउ बेसिजनमा बिक्री गर्न थालेका छौँ ।”

“गुणस्तर, आकार र तौलमा कुनै फरक छैन”, चिसो घटेर मुस्ताङमा पर्यटक आगमन हुन थालेसँगै स्याउ बेच्न थालिएको हो । केही वर्षअघिसम्म चिस्यान केन्द्रको सुविधा नहुँदा मुस्ताङका किसानले घरको कोठा, चिसो ठाउँमा स्याउ भण्डारण गर्दै आएका थिए । त्यसरी राख्दा तापक्रम नमिलेर कुहिने गरेको थियो । बिक्री नहुने स्याउ घोडा, खच्चर, गाईगोरुलाई खुवाउने गरेका थिए । चिस्यान केन्द्रमा भण्डारणको सुविधा भएपछि किसानले भनेको मूल्य र बजार दुवै पाउन सहज भएको मार्फाका किसान राजु लालचनले बताउनुभयो ।

“पहिले बोटबाट टिपेको स्याउ आफ्नै तरिकाले भण्डारण गरेर राख्दा ७० प्रतिशतभन्दा बढी कुहिएर फाल्नुपर्ने समस्या थियो”, उहाँले भन्नुभयो, “सिजनमा प्रतिकिलो रु ९० देखि एक सय पर्ने स्याउ चिस्यान गृहमा राख्दा बेसिजनमा प्रतिकिलो रु एक सय ८० देखि दुई सय सम्ममा बिक्री हुने गरेको छ ।”

राजु र विश्वले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन कार्यक्रमको ८५ प्रतिशत अनुदानमा १०–१० मेट्रिक टन क्षमताको चिस्यान गृह बनाउनुभएको थियो । परियोजनामार्फत मुस्ताङमा पाँचवटा चिस्यान गृह निर्माण भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका निमित्त प्रमुख नेत्र भट्टले बताउनुभयो । “वातावरण अनुकूल बनाउने उपकरण जडान भएको चिस्यान गृहमा भण्डारण गर्दा बजार नपाउने समस्या हट्नुका साथै बढी मूल्यमा बिक्री गर्न पाएका छन्”, उहाँले भन्नुभयो, “मुस्ताङमा प्रभावकारी भएकाले चिस्यान गृहको माग बढी छ ।” उहाँका अनुसार परियोजनाको सहयोगमा निर्माण भएको चिस्यानगृहमा यसपालि पाँच हजार किलो स्याउ भण्डारण गरेर राखिएको छ ।

मुस्ताङको एक हजार चार सय ७५ हेक्टर क्षेत्रफलमा स्याउखेती भएकामा पाँच सय ८० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ ।स्याउ जोन मुस्ताङका प्रमुख भट्टले जिल्लाभर चार हजार नौ सय ७५ मेट्रिक टन स्याउ उत्पादन भएकोमध्ये रु ४९ करोड मूल्यबराबरको चार हजार चार सय ७७ दशमलव पाँच मेट्रिक टन स्याउ देशका विभिन्न ठाउँमा निकासी भएको बताउनुभयो । स्याउ मुस्ताङबाट निकासी हुने प्रमुख कृषि उपज हो ।

म्याग्दी, बागलुुङ, पोखरा, चितवन, बुटवल, काठमाडौँलगायतका सहरका व्यापारी बगैँचामा नपाक्दै अग्रिम पैसा दिएर ठेक्कामा स्याउ खरिद गर्छन् । मुस्ताङ घुम्न आउने पर्यटकले पनि कोसेलीका रूपमा स्याउ किनेर लैजाने गर्छन् । मुस्ताङमा ‘रेडडेलिसिएस, रोयल डेलिसिएस, रिचारेड डेलिसिएस र गोल्डेन डेलिसिएस’ जातका स्याउखेती भएको छ । सडक यातायातको सुविधासँगै सहज बजार र राम्रो मूल्य पाउन थालेपछि मुस्ताङका किसान स्याउखेतीमा आकर्षित भएका छन् । कृषि ज्ञान केन्द्र कार्यालय मुस्ताङका अनुसार गत वर्षसम्म कुल एक हजार चार सय ७५ हेक्टर जमिनमा स्याउखेती भएको थियो ।

यस वर्ष २० हेक्टर क्षेत्रफलमा स्याउखेती विस्तार भएको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले बताउनुभयो । कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन र स्थानीय तहको कृषि शाखाले अनुदानमा स्याउका बिरुवा वितरण, सिँचाइ, चिस्यानगृह निर्माणलगायत काममा किसानलाई सहयोग गर्दै आएका छन् । रासस