• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   ब्रोइलर कुखुराको रोग मानिसमा सर्दैन: नेपाल भेटेरिनरी एशोसिएशन ★   कार्यदल बैठक निष्कर्षविहीन ★   रिसाए रोहितः प्रशारणकर्तामाथि किन एक्कासी आक्रोशित बने ? ★   नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार ★   आईपीएलमा धोनीका यी विवादहरु जसलाई उनका फ्यानहरु विश्वास गर्न सक्दैनन् ★   गण्डकीमा पूर्वाधार निर्माण तीव्र गतिमा ★   करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु ★   उपप्रधानमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेबिसंघको प्रदर्शन– तस्बिरहरु ★   प्रधानमन्त्रीले संसद्‌मा लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्चमा रिट ★   प्रधानमन्त्रीलाई विश्वास मत दिन्छौँ, कसैले शंका नगरे हुन्छ: माधवकुमार नेपाल

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावकलाई



कास्की : पोखरामा आज सम्पन्न १८औँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक जुलियास मुरियाली वाहोमले जित्नुभएको छ ।

नेपाली खेलाडीको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा आयोजित म्याराथनमा केन्याली धावकले उपाधि चुम्नुभएको हो । उहाँले निर्धारित ४२.१९५ किलोमिटर दुई घण्टा १९ मिनेट ३६ सेकेन्डमा पूरा गरेर नगद रु पाँच लाख पुरस्कार प्राप्त गर्नुभएको छ ।

यसैगरी, केन्याकै अर्का धावक इसाक किहारा कमिरीले दुई घण्टा २० मिनेट ०५ सेकेन्डमा दौड पूरा गरेर उपविजेताको पुरस्कार हासिल गर्नुभयो । पुरस्कारको राशि रु तीन लाख छ ।

अघिल्लो संस्करणका विजेता केन्याली धावक इडविन किप्लागटले दुई घण्टा २० मिनेट ४५ सेकेन्डमा निर्धारित दूरी पार गरी तृतीय हुँदै रु दुई लाख पुरस्कार प्राप्त गर्नुभयो । नेपाली धावक किरण सिंह बोगटी चौथो स्थानमा समेटिनुभयो । उहाँले उक्त दूरी २ घण्टा २४ मिनेट ०२ सेकेन्डमा पूरा गर्नुभएको थियो । प्रात्साहनस्वरुप उहाँलाई रु ३० हजार नगद  पुरस्कार प्रदान गरिएको थियो ।

गण्डकी प्रदेशतर्फ सफल लामा, देवप्रसाद जलारी र मनोज अधिकारी क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभयो । यसैगरी, महिला हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जित्नुभयो । उहाँले निर्धारित २१ किलोमिटर एक घण्टा १८ मिनेट ३९ सेकेन्डमा पार गर्दै नगद रु एक लाख ५० हजार प्राप्त गर्नुभयो ।

केन्याली अवीजल जेरोप एक घण्टा १९ मिनेट दुई सेकेन्डमा उक्त दूरी पार गर्दै दोस्रो हुँदा राममाया बुढाले एक घण्टा १९ मिनेट २२ सेकेन्डमा दूरी पार गर्दै तृतीय स्थान हासिल गर्नुभयो । नेपालकी फूलमती रानाले एक घण्टा २१ मिनेट ०७ सेकेन्डमा निर्धारित दूरी पार गरी सान्त्वना स्थान हासिल गर्नुभयो ।

पुरुष १० किलोमिटर दौडमा ३१ मिनेट १५ सेकेन्डमा दूरी पार गरी टङ्कबहादुर कार्की प्रथम, सुवास कार्की द्वितीय हुँदा ३२ मिनेट ३७ सेकेन्डमा पार गर्नुभयो । तृतीय हुनुभएका सञ्जीव नेपालीले ३३ मिनेट २९ सेकेन्डमा दूरी पूरा गर्नुभयो । प्रथम हुनुभएका कार्कीले रु ३० हजार, द्वितीय हुनुभएका सुवासले रु २० हजार र तृतीय हुनुभएका नेपालीले रु १५ हजारसहित पदक र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

महिला १० किलोमिटर दौडमा ४२ मिनेट १६ सेकेन्डमा दूरी पार गरी आशा रावत पहिलो हुँदा ४२ मिनेट २४ सेकेन्डमा दूरी पार गरेकी सीमा चौधरी द्वितीय र ४४ मिनेट २१ सेकेन्डमा दूरी पार गर्दै नम्रता गुरुङ तृतीय हुनुभयो ।

यसैगरी, पाँच किमी छात्र दौडमा तेन्जन रोक्का मगर पहिलो, प्रकाश थिङ दोस्रो र ईश्वर ढकाल तृतीय हुनुभयो । छात्रातर्फ नारायणी भण्डारी पहिलो, गीता श्रेष्ठ दोस्रो र एन्जीला जिटी तृतीय हुन सफल हुनुभयो ।

यसैगरी, पाँच किमी भेट्रान पुरुषतर्फ कपिल श्रेष्ठ, आइलाल शाही,  नीमबहादुर थापा क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभयो । महिलातर्फ चित्रा गुरुङ, विष्णुकुमारी गुरुङ र चेतमाया पँगेनी क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभयो ।

प्रतियोगिताको पाँच किलोमिटर छात्रछात्रा तथा भेट्रान दौडमा प्रथम हुनेलाई जनही रु १५ हजार, दोस्रोलाई जनही रु १०  हजार र तेस्रो स्थान प्राप्त गर्नेलाई जनही रु सात हजार पुरस्कार प्रदान गरिएको थियो । रासस