• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

भीम र अनिलको सानदार शतकमा क्यानडाविरुद्ध नेपालको क्लीन स्वीप



काठमाडौँ । क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा नेपालले क्लीन स्वीप गरेको छ ।

त्रिवि मैदानमा भर्खरै सम्पन्न तेस्रो तथा अन्तिम खेलमा क्यानडालाई ९ विकेटले हराउँदै नेपालले सिरिज ३–० ले जितेको हो । २३३ रनको लक्ष्य पछ्याएको नेपाललाई जित दिलाउन अनिल शाह र भीम सार्कीले शतकीय पारी खेले ।

अनिल ११२ तथा भीम १०१ रनमा अविजित रहे । यस्तै, कुशल भुर्तेलले १३ रन जोडे ।

क्यानडाका लागि एकमात्र विकेट दिलोन हेलिगरले लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ३२ रनको योगफल बनायो । क्यानडाका लागि नवनीत धलिवालले अर्धशतकीय पारी खेले । उनले ८२ बल खेल्दै पाँच चौकाको मद्दतमा सर्वाधिक ५० रन जोडेका हुन् ।

त्यस्तै क्यानडाका अर्का ओपनर निखिल दत्तले ४५ रन बनाए भने कप्तान साद बीन जाफरले ३१ रन बनाए । हर्ष थेकरले २९, श्रेयस मोब्बाले २५ र श्रीमान्थ विजेरत्नले २२ रन जोडे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

क्यानडालाई मध्यम रनमा रोक्ने क्रममा नेपालका लागि डेब्यू खेलाडी हेमन्त धामी र कुशल मल्लले समान दुई/दुई विकेट लिए भने ललित राजवंशी र अकाश चन्दले समान एक/एक विकेट लिए ।

नेपालले यसअघि भएको दुवै खेलमा जित हासिल गरेको थियो । पहिलो खेलमा नेपालले क्यानडालाई ७ रन र दोस्रो खेलमा ४ विकेटले पराजित गरेको थियो ।

आइसिसी विश्वकप लिग–२ को तयारी स्वरुप नेपालले क्यानडासँग खेलेको हो ।

क्यानडाले पनि मार्चदेखि संयुक्त अरब इमिरेट्स (युएई)मा आइसिसी क्रिकेट विश्वकप लिग–२ को सुरुवात गर्दैछ । त्यसका लागि क्यानडा नेपाल आएको हो ।