• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

राष्ट्रियसभाको अध्यक्षमा माओवादीको दाबी, सत्ता गठबन्धन भत्किने खतरा



काठमाडौँ । राष्ट्रियसभाको अध्यक्षमा माओवादीले दाबी गरेको छ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र माओवादीका बीचमा यसअघि नै काँग्रेसलाई अध्यक्ष दिने सहमति भएको भनिएको भए पनि अहिले आएर राष्ट्रियसभाको अध्यक्षमा माओवादीले दाबी तेर्साएको छ ।

माओवादीको हिजो सम्पन्न संसदीय दलको बैठकमा माओवादीका सांसदहरुले अबको वर्षदिनभित्रै प्रधानमन्त्रीबाट प्रचण्ड हट्नुपर्ने भएकाले त्यसपछि संवैधानिक परिषदमा माओवादीको शुन्य उपस्थिति हुन जाने कारण देखाएर राष्ट्रियसभाको अध्यक्षमा माओवादीले दाबी तेर्साएको हो ।

हिजोको बैठकमा प्रधानमन्त्री एवं सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै राष्ट्रियसभामा माओवादी सबैभन्दा ठूलो दल रहेकाले त्यसमा स्वभाविकै रुपमा अध्यक्ष दाबी गर्ने बताएका थिए ।

यसअघि माओवादीका सांसदहरुले सो दाबी गर्दा पनि माओवादी अध्यक्ष प्रचण्डले आफूले कृष्ण सिटौलालाई वर्ड दिइ सकेकाले त्यसो गर्न नहुने बताउने गरेका थिए । तर हिजो प्रचण्ड स्वयंले नै अध्यक्षको दाबी गरेकाले नयाँ परिस्थिति बनेको माओवादीका एकजना नेताले बताए । उनले माओवादी पार्टी यसमा अडिग रहेको र आवश्यक परे अहिलेको सत्ता गठबन्धन भत्किए पनि यो एजेण्डाबाट पछि नहट्ने बताए ।

राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशमा काँग्रेसका सांसदहरुले भोट नहालेकाले माओवादीकी सांसदले हार व्यहोर्नुपरेको उनीहरुको दाबी छ । त्यसैले पनि उनीहरुले अबका दिनमा काँग्रेससँग सहकार्य गरेर अघि बढ्न नसकिने जिकीर उनीहरुले गर्दै आएका छन् । यो नयाँ परिस्थितिपछि वर्तमान सत्ता गठबन्धनमा दरार उत्पन्न हुन सक्ने देखिएको छ । यता शेखर कोइराला समूहले देउबामाथि राष्ट्रियसभामा आफ्नो दाबी छोड्न नहुने दबाब दिन थालेका छन् भने उता प्रधानमन्त्री स्वयंले नै यो प्रस्ताव अघि सारेका छन् ।

यसकारणले पनि सत्तारुढ दलको अहिलेको गठबन्धन भत्किन सक्ने देखिएको छ । यदि माओवादीले नै राष्ट्रियसभाको अध्यक्षमा दाबी गर्यो र छोडेन भने कृष्ण सिटौलालाई सरकारका पठाउनुपर्ने हुन्छ । त्यसका लागि उनलाई उपप्रधानमन्त्री तथा कुनै दरिलो मन्त्रालय दिनुपर्ने हुन्छ । त्यसका लागि देउवा गुटका पूर्णबहादुर खड्का पछि हट्नुपर्ने पनि हुनसक्छ ।

यसका लागि खड्काहरु तयार नभएको पनि बुझिएको छ । राष्ट्रियसभाको अध्यक्षको चुनाव आगामी फागुन २० गते हुने तय भएको छ । अबको राष्ट्रियसभाको उपस्थितिमा माओवादी सबैभन्दा ठूलो पार्टी हुनेछ । यही आधारमा पनि सो दलले अध्यक्ष नछोड्ने जनाएको हो ।