११ असार २०८३, बिहीबार
,
Latest
स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

देवघाटमा पुरातत्व विभागद्वारा पञ्चदेवल निर्माण



अ+ अ-

दमौली (तनहुँ) : तनहुँको देवघाट गाउँपालिका–५ स्थित मणिमुकुन्देश्वर चक्रवर्ती महादेव मन्दिर परिसरमा पुरातत्व विभागले पाँच सय वर्षअघिका पञ्चदेवलको पुन:निर्माण गरेको छ । पुरातत्व विभागद्वारा तीन वर्षअघि उत्खनन गरिएको स्थानमा मन्दिर निर्माण गरिएको हो ।

विभागको टोलीे मन्दिर परिसरको पाँचवटा मन्दिर (पञ्चदेवल) को उत्खनन गरेको थियो । पाँच सय वर्षअघि सोह्रौँ शताब्दीमा तत्कालीन पाल्पाली राजा मणिमुकुन्द सेनले त्रिशूली र कालीगण्डकीको सङ्गम देवघाटमा आई ध्यान गरी विभिन्न मठमन्दिर र देवालयको निर्माण गरेको बताइएको छ । विभिन्न प्रमाणका आधारमा त्यस समयमा निर्मित मठमन्दिर र देवालयको शैली, ढाँचा र शिल्पीको पहिचान गर्न उत्खनन् गरिएको पुरातत्व विभागले जनाएको छ ।

मन्दिर परिसरमा रहेका पाँच मन्दिरमध्ये चक्रवर्ती महादेवको मन्दिरको यसअघि नै रु ८० लाखको लागतमा पुन:निर्माण सम्पन्न गरिएको थियो । बाँकी चार मन्दिरको उत्खनन गरी हालै पुन:निर्माण सम्पन्न भइसकेको छ । उत्खननका क्रममा शताब्दिऔँ अघिको शिलालेख र करुवामा पैसाको सिक्का भेटिएको देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष शिवराज पौडेलले जानकारी दिनुभयो ।

उत्खनन तथा पुन:निर्माणमा विभागका प्राविधिकसहित पाँच र गैरप्राविधिक मजदुरसहित २५ खटिएका थिए । उत्खननका क्रममा मुख्य मन्दिरको गर्भ भागमा शिवलिङ्ग भेटिएको उहाँले बताउनुभयो । उहाँका अनुसार उक्त शिवलिङ्ग भेटिएपछि उक्त मन्दिर महादेवको मन्दिर रहेको पुष्टि भएको थियो ।

उक्त मन्दिर मुकुन्देश्वर महादेवको नामले चिनिन्छ । पाल्पाका तत्कालीन राजा मुकन्द सेनले स्थापना गरी पूजाआजा गरी मानी आएकाले यसको नाम मुकुन्द ईश्वर हुँदै मुकुन्देश्वेर महादेव भयो भन्ने भनाइ रहेको बताइन्छ । जुन–जुन स्थानमा उत्खनन गर्दा जे प्रमाण भेटिन्छ सोहीअनुसारको मन्दिरको पुन:निर्माण गरिएको थियो ।

उत्खनन कार्यपश्चात त्यसको प्रतिवेदनका आधारमा मन्दिर पुन:निर्माणको ढाँचा र शैली तयार भएको थियो । पूर्व अध्यक्ष पौडेलका अनुसार पुरातत्व विभागबाट शिला कुँदेर मन्दिर पुन:निर्माण गर्दा सिमेन्ट र छडको प्रयोग गरिएको छैन । ऐतिहासिक, पौराणिक एवं पुरातात्विक महत्वको पावन तीर्थस्थल देवघाटधाममा रहेका यस्ता सम्पदाको संरक्षण गर्नसके धार्मिक पर्यटनको विकास गर्न सकिने उहाँको भनाइ छ । रासस