४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

छ वर्षमा पूरा भयो विमानस्थल विस्तारको सपना: प्रमुख दाहाल

छ वर्षमा पूरा भयो विमानस्थल विस्तारको सपना: प्रमुख दाहाल
अ+ अ-

चितवन: बिहीबार दिउँसो आफ्नो कार्यकक्षमै रहेका बेला भरतपुर महानगरका प्रमुख रेनु दाहाललाई काठमाडौँबाट फोन गयो । फोनको सन्देशमा नेपाल सरकारले चितवनको भरतपुर विमानस्थल विस्तारको निर्णय गरेको कुरा रहेछ । प्रमुख दाहाल आफ्नो कुर्सीबाटै जुरुक्क उठ्नुभयो र हर्षित हुँदै धन्यवाद व्यक्त गर्नुभयो ।

काठमाडौँबाट फोनमा हुनुहुन्थ्यो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चितवनमा महानगर प्रमुख दाहाल । सम्वाद बाबुछोरीको थियो । हामीले फोनबाट सुनेको धन्यवाद पनि उहाँले आफ्ना पिता दाहाललाई नै दिनुभएको थियो । तर यो संवादले भरतपुर विमानस्थललाई ठूलो जहाज बस्नेगरी विस्तार गर्ने सरकारको निर्णयको खुसीको खबर बोकेको थियो । जुन काम महानगरप्रमुख दाहालको अघिल्लो कार्यकालदेखिकै सपना थियो । त्यसैले महानगर प्रमुख दाहालले प्रधानमन्त्रीसहित नेपाल सरकारलाई विशेष धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

निर्णयपछि कार्यकक्षमा पुगेका सञ्चारकर्मीसँग महानगर प्रमुख दाहालले भन्नुभयो, “मैले पहिलो कार्यकालको सुरुआतमै राखेको ‘एजेन्डा’ थियो यो । आज सरकारले निर्णय गरेपछि आफ्नो वाचा र चितवनका जनताको माया अकस्मात सम्झिएँ र निकै खुसी भएँ ।” निरन्तर लागेर छ वर्षपछि मन्त्रिपरिषद्बाट निर्णय गराउन सफल हुँदा निकै खुसी लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली सेनाको घोडा प्रजनन केन्द्र शक्तिखोर स्थानान्तरण गरेर विमानस्थलको धावनमार्ग विस्तार गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । अब यो निर्णयलाई साकार पार्न यसअघि र अहिलेजस्तै चितवनका सबै नागरिकको साथ र सहयोग आवश्यक छ ।”

हालका पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसहित ६ वर्षमा छजना मन्त्रीसँग विमानस्थल विस्तारका लागि छलफल गरेको महानगर प्रमुख दाहालले सुनाउनुभयो । उहाँले आफ्नो मोबाइलमा तस्बिर देखाउँदै भन्नुभयो, “जिल्लाका सरोकारवालालाई जम्मा गरेर धेरै पटक बैठक बसियो । कहिले निराशा त धेरै आशा नै पलाएको हो । मलाई लाग्छ त्यसैले आज यो निर्णय हुन सकेको छ ।”

विमानस्थल विस्तार भएपछि ठूला जहाज उडान भर्न सक्नेछन् । रात्रिकालीन उडानसमेत हुनेछन् । यससँगै सस्तो मूल्यमा यात्रुले टिकट पाउनेछन् । अहिले भरतपुर–काठमाडौँको हवाई टिकट रु चार हजार आठ सय हाराहारी पर्दछ । यकिन नभए पनि ठूला जहाज उड्दै गर्दा रु तीन हजार हाराहारीमा टिकटको मूल्य झर्ने अनुमान छ ।

प्रमुख दाहालले भन्नुभयो, “बिहान काठमाडौँ गएर दिनभरि काम गरेर साँझ फर्किन सकिन्छ ।” दुई साताअघि भरतपुरस्थित नेपाली सेनाको ब्यारेकमा आउनुभएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रमुख दाहाललाई बोलाउनु भएको थियो । संयोग त्यतिबेला दाहाल काठमाडौँ हुनुहुन्थ्यो । उहाँले विमानस्थल विस्तारका लागि सकारात्मक पहल गर्न प्रमुख दाहाललाई बोलाउनुभएको थियो ।

प्रमुख दाहालले निरन्तररुपमा विमानस्थल विस्तारका लागि पहल गरिरहँदा प्रधानमन्त्री प्रचण्ड यसलाई सार्थक बनाउन लागिपर्नुभएको थियो । रक्षा मन्त्रालय, नेपाली सेना, पर्यटन मन्त्रालय सबैलाई समेटेर यो काम गर्नुपर्ने अवस्था थियो । प्रमुख दाहालले भन्नुभयो, “धेरै पटक म महानगरपालिकाको निर्णय बोकेर मन्त्री र प्रधानमन्त्री कार्यालयमा पुगेकी छु”, उहाँले अगाडि थप्नुभयो, “पर्यटन र रक्षा मन्त्रालयमा धेरै पटक छलफल गर्‍यौँ ।” भरतपुर विमानस्थलमा टर्मिनल भवन बन्दै गरेकाले अबको केही समयमै नयाँ टर्मिनल र ठूला जहाज अवतरण हुने विमानस्थल बन्ने उहाँ बताउनुहुन्छ ।

यसैले पनि यथासक्य छिटो विमानस्थल विस्तार गर्नुपर्नेमा प्रमुख दाहालको जोड थियो । उहाँले भन्नुभयो, “चितवनबासी मात्रै होइन, छिमेकी जिल्लाका बासिन्दालाई पनि विमानस्थल विस्तार हुँदै गर्दा प्रत्यक्ष फाइदा पुग्छ ।” नवलपरासीको दाउन्ने पूर्वदेखि हेटौँडासम्मका बासिन्दाको पायक विमानस्थल यही नै हो । त्यसो त तनहुँ, गोरखा, लम्जुङ, धादिङबासीका लागि पनि यो विमानस्थल उपयोगी छ ।

देशकै तेस्रो पर्यटकीय गन्तव्य भएकाले चितवन आउने पर्यटकका लागि विमानस्थल महत्वपूर्ण हुने प्रमुख दाहाल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हामीले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला बनाउँदैछौँ, देश विदेशका खेलाडी र दर्शक यहाँ आउँछन् । त्यसका लागि पनि विमानस्थल विस्तार आवश्यक थियो ।”

भरतपुरको नेपाली सेनाको ब्यारेक विमानस्थलसँग जोडिएको छ । ब्यारेकमा ७० बिगाहा आठ कठ्ठा चार धुर जग्गामध्ये १९ बिगाहा चार कठ्ठा चार धुर विमानस्थल विस्तारका लागि आवश्यक पर्ने देखिएको छ । यससँगै यहाँको घोडा प्रजनन केन्द्रलाई जिल्लाकै कालिका नगरपालिकाको शक्तिखोरस्थित ब्यारेक हाताभित्र स्थानान्तरण गरिने उहाँले बताउनुभयो । यो विमानस्थल २०१५ सालमा स्थापना भएर २०१८ सालदेखि सञ्चालन हुँदै आएको हो । विमानस्थलको हाल कूल क्षेत्रफल ६२ बिगाहा रहेको छ जसमा एक हजार दुई सय मिटरमात्र धावनमार्ग छ । यो विमानस्थलबाट अहिले काठमाडौँ र पोखरा उडान हुँदै आएको छ । छोटो धावन मार्गका कारण साना जहाज दिउँसोमा मात्रै उडान हुँदा महँगो भाडा तिर्नुपर्ने बाध्यता छ ।रासस