५ श्रावण २०८३, मंगलवार
,
Latest
नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लेवल’ बिनाका खुला मिठाई बिक्रीमा रोक



अ+ अ-

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले ‘लेवल’ बिनाका खुला मिठाई बिक्रीमा रोक लगाएको छ ।

काठमाडौँका पेटी, हाटबजार, मेलालगायतमा खुलारूपमा बिक्री हुँदै आएको रङ्गीन कटन क्यान्डी (चिनीमा रङ मिसाइ रेसा गरी बनाइएको भुवादार मिठाई)मा मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने अखाद्य रङ ‘रोडमाइन बी’ प्रयोग भएको पाइएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले बुधबार तनहुँ क्षेत्रमा समेत कटन क्यान्डी बिक्री हुनसक्ने भन्दै रोक लगाएको हो ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी कमलराज अधिकारीद्वारा जारी विज्ञप्तिमा प्याक नगरिएको र लेवलसमेत नराखी बजारमा बिक्री गरिएको रङ्गीन कटन क्यान्डी नखान सबैमा आग्रह गरिएको छ । “कटन क्यान्डीका उत्पादकले आफ्नो उत्पादनलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा जाँच गरी खाद्य अनुज्ञापत्र लिएर मात्र बिक्री वितरण गर्न अनुरोध छ, अन्यथा मातहतको निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तनहुँबाट कानुनबमोजिम कारबाही हुने व्यहोरा अनुरोध छ”, जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सहायक प्रजिअ अधिकारीले उपभोक्ता हितविपरीतका कार्यलाई निरुत्साहित गर्न स्वयं उपभोक्तासमेत सचेत बन्नुपर्नेमा जोड दिनुभयो । “अखाद्य पदार्थको सहज बिक्री रोक्न उपभोक्ता र नागरिक समाजको ठूलो हात रहन्छ”, सहायक प्रजिअ अधिकारीले भन्नुभयो, “उपभोक्ता हितविपरीतको कार्यमा हामीले सूचना पाए तुरुन्तै अनुगमन र कानुनी कारबाही प्रक्रियामा जान्छौँ ।”

तनहुँका मुख्य बजार दमौली, दुलेगौँडा, खैरेनीटार, आँबुखैरेनी, डुम्रे, भिमादलगायत क्षेत्रमा बिना लेवल र प्याक नगरी खुलारूपमा रङ्गीन कटन क्यान्डी बिक्री गरिँदै आएको र जिल्ला प्रशासन कार्यालयको बिक्री नगर्न सूचना जारी गर्नु प्रभावकारी निर्णय भएको उपभोक्ता हित संरक्षण मञ्च तनहुँका अध्यक्ष प्रकाशचन्द्र भट्टराईले बताउनुभयो ।

उपभोक्ता हितविपरीतको कार्यलाई सामान्य ठान्न नसकिने र स्वयं उपभोक्ता पनि सचेत बन्नुपर्ने अध्यक्ष भट्टराईले बताउनुभयो । “जिल्ला प्रशासन कार्यालयको निर्णय सकारात्मक छ”, भट्टराईले भन्नुभयो, “तर बजारमा अनुगमनलाई थप प्रभावकारी बनाउन आवश्यक छ ।” रासस