२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक विषयक प्रतिवेदन पारित News Polar महामन्त्री गुरुराज घिमिरेको प्रतिवेदन महाधिवेशनबाट पारित News Polar कांग्रेस महाधिवेशन : कोषाध्यक्ष श्रेष्ठको आर्थिक प्रतिवेदन पारित News Polar मन्त्रिपरिषद्को बैठक जारी News Polar सन् २०३० सम्म मानव रेबिज मृत्यु शून्यमा झार्ने सरकारको लक्ष्य News Polar कांग्रेसको महाधिवेशन ऐतिहासिक, नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे News Polar पाँच घण्टा ढिलो गरी कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु News Polar रसायनशास्त्र तर्फको नोबेल पुरस्कार हेनरी कागान र केन्सो सोईलाई News Polar देवराज चालिसेले लिए उपसभापतिबाट उम्मेदवारी फिर्ता News Polar नेपाली सेनाद्वारा चिसापानीगढीमा सरसफाइ News Polar ओमान ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य News Polar नेप्से परिसूचक सामान्य अङ्कले घट्यो News Polar पूर्वप्रधानन्यायाधीश जबराको घरमा सम्पत्ति शुद्धीकरणको छापा, आफन्त र निकटस्थ पनि अनुसन्धानको घेरामा News Polar मधेसको शिक्षा क्षेत्रका समस्या पहिचान गरी मन्त्रालयमा पेश गर्न मन्त्री पोखरेलको निर्देशन News Polar धादिङको गजुरी गाउँपालिकाले दसैँमा काठमाडौंमा रहेका गजुरीवासीलाई निःशुल्क यातायात सेवा दिने News Polar मन्त्रिपरिषद्को बैठक आज अपराह्न ४ बजे बस्दै News Polar कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन गर्ने News Polar विमानस्थल निर्माणदेखि सञ्चालनसम्म निजी क्षेत्रलाई सहभागी गराउने कानुनी तयारी News Polar न्यायाधीश नियुक्ति सिफारिसप्रति नेपाल बारको आपत्ति News Polar भुइँ तहका कार्यकर्ताको मूल्यांकनबिना कांग्रेस रूपान्तरण सम्भव छैन : डिला संग्रौला

‘संवैधानिक बाटोबाटै परिवर्तन ल्याउछौँ’

‘संवैधानिक बाटोबाटै परिवर्तन ल्याउछौँ’
अ अ+ अ-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संस्थापक एवं विधायक पशुपतिशम्सेर जबराले प्रत्येक व्यक्तिमा सबैभन्दा पहिला मुलुकप्रति इमान्दार रहने प्रतिबद्धताको खाँचो औल्याउनुभएको छ । उहाँले राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र इमान्दार भएको खण्डमा प्राकृतिक स्रोत साधानले परिपूर्ण संसारकै सुन्दर देश नेपाललाई यहाँको अथाह जलस्रोत विकासका माध्यमद्वारा समुन्नत बनाउन सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालजस्तो प्राकृतिक स्रोतसाधनले भरिपूर्ण अर्को देश संसारमा पाउन कठिन छ । सम्भावना धेरै भए पनि देशलाई ठीक ढङ्गले अघि बढाउन सकेनौँ, पटक्कै काम भएन ।” राणा परिवारमा जन्मिएर बेलायतबाट उच्च शिक्षा हासिल गर्नुभएका उहाँले गृह पञ्चायत मन्त्रालयको सहसचिव, नेपाल राष्ट्र बैङ्कको महानिर्देशकको जिम्मेवारी पूरा गर्नुभयो । पाँच दशकअघि राजनीतिमा प्रवेश गर्नुभएका जबरा सङ्घीय संसद्मा ज्येष्ठ सदस्य हुनुहुन्छ ।

सांसद जबराले यसअघि शिक्षा राज्यमन्त्री, शिक्षामन्त्री, यातायात, पर्यटन, जलस्रोत, स्थानीय विकास, परराष्ट्र, अर्थ, सूचना तथा सञ्चारमन्त्री तथा राष्ट्रिय पञ्चायत सदस्य, प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षको जिम्मेवारी सम्हाली सक्नुभएको छ । राप्रपाका पूर्वअध्यक्ष एवं संस्थापक महामन्त्री जबरासँग राष्ट्रिय समाचार समिति (रासस)का उपप्रमुख समाचारदाता नारायण न्यौपानेले लिएको अन्तर्वार्ताको सम्पादित अंशः

माननीयज्यू, दिनचर्या कसरी बितिरहेको छ ?
धर्ममा विश्वास गर्ने भएकाले बिहानको नित्यकर्म सकेपछि पूजा पाठ गर्छु, केहीबेर हिँड्छु । त्यसक्रमा कहिले बाहिर शिवपुरीसम्म जान्छु, कहिले कम्पाउण्डभित्रै घुम्छु । दह्रो ‘ब्रेक फाष्ट’ खान्छु । अखबार पढ्ने पुरानै बानी छ । त्यसपछि भेटघाट अघि बढ्छ । सदन चलेको बेला संसद्मा गइन्छ । अन्य समयमा पार्टीको काम गर्छु । अहिले एउटा महत्वपूर्ण नयाँ काम सुरु गरेको छु । आफ्नो जीवनी लेख्दैछु । जीवनी लेख्दा मेरो मात्र लेखेर पुग्दैन । म के हुँभन्दा मेरो बाजे मोहनशम्शेर हो, उहाँ श्री ३ महाराज हुनुहुन्थ्यो । राजनीतिक परिवर्तनपछि दलीय व्यवस्थामा उहाँ पहिलो प्रधानमन्त्री हुनुभयो । त्यसमा उहाँको वर्णन छ । धेरै ठूलो काम गरेता पनि नेपालीले नचिनेको तथा थाहा नपाएको व्यक्ति मेरो बुबा विजयशम्शेर हुनुहुन्छ । उहाँले उद्योग परिषद् र बाजेमुनि रही परराष्ट्र मन्त्रालय चलाउनुभयो । पछि राजदूत हुनुभयो । उहाँबारे धेरै मानिसलाई थाहा छैन । यी दुवैलाई नचिनाई पशुपतिशम्शेर को होमै सीमित हुन्छ । त्यो लेख्ने काममा लागि रहेको छु ।

पुरानो राजनीतिक पृष्ठभूमि रहेको परिपक्व नेता हुनुहुन्छ, अहिले भइरहेको संसदीय अभ्यासलाई कसरी लिनुहुन्छ ?
अहिले संसद्मा अत्यन्त असल मानिस पनि आएका छन्, उहाँहरुसँग कहिलेकाहीँ भेटघाट हुँदा अचम्म लाग्छ । उदाहरणका लागि एकजना महिला सांसदले ‘आर्टिफिसियल इन्टेलिजेन्स’बारे संसद्मा भाषण गर्नुभयो । त्यस्ता महिला सांसदको पनि प्रतिनिधित्व छ । अरू धेरै काबिल र महत्वपूर्ण नेता पनि हुनुहुन्छ । अहिलेको संसद् विभिन्न कोणबाट रमाइलो र अध्ययन गर्न लायक छ । ठिकै ढङ्गबाट अभ्यास अघि बढिरहेको छ भन्ने लाग्छ ।

यहाँलाई नेपालको संसदीय अभ्यासमा पञ्चायत, प्रजातन्त्र पुनःस्थापन र गणतन्त्रसमेतको अनुभव छ, तुलनात्मकरुपमा के भिन्नता पाउनु हुन्छ ?
यो विषयमा सोच्नपर्छ । पञ्चायतकाल एउटा नियन्त्रित व्यवस्था थियो । त्यसबेला सांसदमा मात्र होइन, शिक्षा र जलस्रोतमन्त्री भएर पनि चलाएँ । त्यस बेला ठूलो ‘डिबेट’ हुन्थ्यो । विसं २०३७ को जनमत सङ्ग्रहपछि सूर्यबहादुर, लोकन्द्र बहादुरजी र हामी भएर झण्डै दलीय व्यवस्थाजस्तो वादविवाद चलायौँ । पञ्चायतपछि दलीय संसद्को अभ्यास भयो । दलीय संसद्मा दलको प्रतिनिधित्व हुने भएकाले त्यसै आधारमा विषयवस्तु राखिन्थ्यो । त्यो संसद्मा मदन भण्डारीजस्तो अत्यन्त काबिल नेताको प्रतिनिधित्व रह्यो । उहाँको बोलाइ र वाक्य सुन्दा मुखमा सरस्वती बसेझैँ लाग्थ्यो । त्यस्ता प्रभावशाली नेतृत्व पनि आए । अहिले पनि प्रतिपक्षमा केपी ओली, पाँचपटक प्रधानमन्त्री हुनुभएका शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रतिनिधित्व छ । त्यसैले अहिलेको संसद् पनि भाग लिऔँ–भाग लिऔँजस्तो, चासो लाग्दो र रमाइलो नै छ ।

व्यवस्थापिका–संसद्को कानुन निर्माणको पाटोबाट दूरदृष्टिको अभ्यास कस्तो पाउनुहुन्छ ?
देश र जनताको आवश्यकता तथा व्यवस्था सुदृढीकरणका लागि बनाइनुपर्ने कानुन बन्न सकिरहेको छैन । संसद्को यो कार्यकाल एक वर्ष बितिसक्यो कानुन पारित भएको हेर्दा धेरै कम छ । व्यवस्थापिकाको मुख्य काम भनेकै कानुन बनाउने हो । त्यो पाटोमा जति हुनुपर्ने हो, त्यो हुन सकेको छैन ।

अहिलेको संसद्मा कानुन निर्माणमा अध्ययन, अनुसन्धान, जानकारी र अभ्यासका हिसाबले कस्तो अनुभव भइरहेको छ ?
सदनमा विभिन्न खालका व्यक्तिको प्रतितिनिधित्व रहेकाले मिश्रित खालको बुझाइ र अभ्यास रहन्छ नै । कोही पढाइका हिसाबले अत्यन्त अध्ययनशील हुन्छन् भने कोही प्रमाणपत्र नभए पनि अनुभवले खारिएका व्यक्ति छन् । धेरै प्रकृतिका मानिसको संसद्मा प्रतिनिधित्व छ । नेपालको विविधताअनुरुप अहिले संसद्भित्र प्रतिनिधित्व छ । महिलाको प्रतिनिधित्व व्यापकरुपमा छ, पहिला त्यस्तो थिएन । राप्रपाका तर्फबाट सदनमा आधा महिला हुनुहुन्छ । विभिन्न जातजातिबाट पढेलेखेकै व्यक्तिको सदनमा प्रतिनिधित्व भएकाले यसलाई गुणस्तरीय प्रतिनिधित्व नै मान्न सकिन्छ ।

व्यवस्थापिकाको विभिन्न अरू काम भए पनि कानुन निर्माण मुख्य जिम्मेवारी हो, यसबीचमा कानुन निर्माणको गति किन कमजोर हुन पुग्योजस्तो लाग्छ ?
कानुन छिटोछिटो बनाएर कार्यान्वयनमा लैजान पर्नेमा भएन, यो नहुन पर्ने हो । अहिले भर्खर अखबारमा पढेँ, आगामी अधिवेशनमा धेरै वटा विधेयक ल्याउने कार्यक्रम छ रे ! कानुन निर्माणमा देखिएको खाडल पुर्नपर्छ । कानुन बनाउने जिम्मेवारीमा रहेको संस्थाले कर्तव्य पूरा गर्नुपर्छ । हामीले अहिले कानुन छिटो बनाउनुपर्छ । विधेयक ल्याउने काम सरकारको हुन्छ । सरकारले यथेष्ठ मात्रमा विधेयक ल्यायो तर छलफल भएन भने पनि लक्ष्य हासिल गर्न सकिन्न । सरकारकै तर्फबाट विधेयकमा जति ध्यान जानपर्ने त्यो नभएको हो कि भन्ने मलाई लाग्छ ।

पार्टीको वरिष्ठ नेता र विधायकसमेत भएका नाताले अहिलेको कानुन निर्माण प्रक्रियालाई कसरी हेर्नुभएको छ ?
अहिलेका हरेक प्रक्रियालाई सुधार गर्नुपर्छ । यस पटकको अधिवेशनमा धेरै विधेयक ल्याउने भन्ने सुनिएको छ । दलहरुबीचमा एउटा सहमति पहिल्यै बनाएर आएका विधेयक फटाफट अघि बढाउनुपर्छ । जहाँ सहमति हुन्न बहुमतका आधारमा पारित गरेर अघि बढ्नुपर्छ । कानुनबिना कसरी शासन चल्छ ?

मुलुकका राप्रपासहित प्रमुख राजनीतिक शक्तिको लोकतन्त्रलाई सुदृढीकरणमा जोडबल हुनुपर्नेमा भागबन्डाको राजनीतिमा अल्झिन पुगे भन्ने आरोप छ,तपाईंलाई कस्तो लाग्छ ?
देशलाई ठीक बाटोबाट हाँक्न नसकेको विषय सबैमा जगजाहेर नै छ तर कोसिस भने नगरेको होइन । प्रतिपक्षले आफ्नो भूमिका निर्वाह गरिरहेको छ । प्रतिपक्षबाट संसद्मा आफ्ना कुरा प्रखररुपमा राख्ने र अवरोधसम्मका कामकारबाही भइरहेका छन् । प्रतिपक्षबाट प्रतिरोधको काम नभएको भन्ने होइन, भएकै छ । कानुन पारित गर्न यथेष्ट मात्रमा विधेयक आएन । भागबन्डामा हामी सामेल भएनौँ । भागबन्डाको विषय मलाई प्रत्यक्ष जानकारी नभएको विषय हो ।

हरेक राजनीतिक व्यवस्था वा सरकार परिवर्तन क्रममा प्रखररुपमा उठाइने भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धनमा किन सफलता प्राप्त गर्न सकिएनजस्तो लाग्छ ?
प्रत्येक व्यक्ति मुलुकप्रति इमान्दार हुनुपर्छ । अहिले जनताले चलाएको शासन व्यवस्था हो । समानुपातिक निर्वाचन प्रणालीबाट आएकाले मैले सबै जनताको प्रतिनिधित्व गर्छु । हामीले मुलुक र बहुदलप्रति गर्व गर्नुपर्छ । यतिका प्राकृतिक स्रोत र साधनले भरिपूर्ण सुन्दर अर्को देश पाउन कठिन छ । जलस्रोतका दृष्टिले नेपालमा अथाह सम्भावना छन् । अहिलेको व्यापार घाटा जलस्रोतको राम्रो उपयोग भएमा सन्तुलन कायम गर्न सकिन्छ । यहाँँ के छैन रु सगरमाथा, तराईमा अन्न भण्डार छ, जङ्गल छ, भौगोलिक विविधतासहित सम्पूर्ण स्रोत यहाँ छ । सम्भवना भए पनि हामीले मुलुक चलाउन सकेनौँ । जनताले अहिले मुलुक चलाउन जिम्मेवारी सुम्पेका ठूला पार्टीलाई नै हो । उनीहरुले त्यो ढङ्गबाट नेपालाई उचाल्न र अघि बढाउन सकेनन् ।

मुलुक अघि बढ्न नसक्नुमा राजनीतिक क्षेत्र मात्रै दोषी हो कि अरू क्षेत्रको पनि प्रभाव छ ?
जनताले यस पटक मत ठूला दललाई नै दिएको छ । ठूला दलले प्राप्त जिम्मेवारीअनुसार काम गर्न नसकेको हो । मैले मान्छे मन प¥यो र यो मान्छे भनेर हुन्न । देशको सम्भावनाबमोजिम इमान्दार प्रयास हुन नसकेको हो ।

युवा विद्यार्थीको दैनिकरुपमा ठूलो सङ्ख्यामा भइरहेको विदेश पलायनललाई राज्यप्रति जनताको विश्वास घटेको वा अवसरका खोजीका रुपमा हेर्न सकिन्छ ?
विश्वमा सबैभन्दा सुन्दर देशबाट युवाको पलायनले एउटा विरोधाभाषपूर्ण अवस्था देखियो । त्यसै यस्तो राम्रो मुलुक कसले छाड्छ । अहिले हामीसँग सञ्चित रकम १४ महिनाभन्दा बढी आयत धान्न सक्ने छैन । साधारण खर्च चलाउन चाहिने राजस्व उठाउन नसकेको अवस्था छ । यस्तो विडम्बनाको स्थितिबाट मुलुक कसरी चलाइन्छ रु प्रान्त चाहिएको मधेस प्रदेशलाई हो, त्यहाँको माग, इज्जत र प्रतिष्ठालाई सम्बोधन गर्दै सन्तुष्ट बनाएर प्रदेशको सङ्ख्या घटाउनुपर्छ । एकातिरबाट हेर्दा सम्भावना धेरै छ, अर्कोतर्फबाट हेर्दा पटक्कै काम भएको छैन । यो विडम्बनाको स्थितिमा छ ।

राप्रपा एउटा पञ्चायतको पृष्ठभूमि भएका नेताको ‘क्लब’ जस्तो छ, सिद्धान्तभन्दा व्यक्ति केन्द्रित भयो भन्ने आरोप छ ?
राष्ट्रियता, बहुदलीय प्रजातन्त्र र उदारवादी व्यवस्थालाई मूलधर्म र सिद्धान्त मानेर राप्रपा स्थापना भएको हो । त्यसबेला नेपाल हिन्दूभन्दा बाहेक अरू कुनै उठेको थिएन । राजा राजनीतिमा संलग्न नहुने आलङ्कारिक र संवैधानिक र अर्कोतिर बहुदलीय प्रजातन्त्रबीचको मान्यताका आधारमा त्यसबेला परिवर्तन भएको हो । हिन्दू, सगरमाथासहित विविध भौगोलिक परिचय रहेको मुलुकलाई अपरझट राजतन्त्रविहीन र धर्मनिरपेक्ष रहस्यमयरुपमा बनाइएपछि जनताले रोजेको बाटोमा जाने भनी पार्टीका तत्कालीन नेताले स्वीकार गरेका हौँ । फेरि हामी राप्रपाका सबै दल मिलेपछि त्यही पुरानो बाटो अर्थात् कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीलगायत नेतासँग आफूले गरेको सम्झौताको बाटो अवलम्बन गर्नुपर्छ भनी त्यसतर्फ अघि बढिरहेका छौँ । राप्रपालाई थप एकीकरण गर्दै अघि बढिरहेका छौँ । राप्रपा अब एकढिक्का भएर बस्छ ।

निर्वाचनका माध्यमबाट आफ्नो ‘एजेन्डा’ स्थापित गरी चाहेको व्यवस्था अघि बढाउन संवैधानिक प्रावधान रहेका बेला आन्दोलन र दबाब किन ?
यो देशमा दुईपटक व्यवस्था परिवर्तन आन्दोलनबाटै भयो । प्रजातन्त्रमा आन्दोलन नैसर्गिक अधिकार हो । सरकारले काम गरेको चित्त बुझेन भने सरकारमा जाने, सडकमा उतार्ने विशुद्ध लोकतान्त्रिक अधिकार हो । हामीले ल्याउन खोजेको परिवर्तन संवैधानिक बाटोबाटै हुन्छ । हामीले राम्ररी बुझेका छौँ, दुई तिहाइ मतले नै हो परिवर्तन गर्ने । त्यसतिर नै हामी लागेका छौँ । सडकमा जाने पनि संवैधानिक अधिकार हो । राप्रपा संविधान मान्ने दल हो, शपथ लिएका छौँ, मानेरै यहाँ आएको हौँ । हालको संविधानअनुरुप नै अहिलेका सबै नेतालाई शपथ गराउने अवसर पाएको थिएँ । त्यो एउटा गौरवको विषय हो । आन्दोलनका लागि सडकमा गए पनि संवैधानिक बाटो नै अपनाउँछौँ ।

तपाईंले परिकल्पना गरेको नेपाल कस्तो हो ?
नेपालको मुख्य सम्भावना भनेको जलस्रोतको विकास नै हो । एक दिन पञ्चेश्वर बन्नैपर्छ । यो देशलाई अघि बढ्न त्यस्तै उज्यालो मुलुकभर छाउनुपर्छ । अलैँची निर्यातमा नेपाल संसारमै दोस्रो छ । सुन्दर मुलुकले खोजेको दुई कुरा छ, इमान्दार र दक्ष शासकद्वारा यो देशलाई अत्यन्त राम्रो बनाउनुपर्छ, विदेश श्रम गर्न गएका पनि यही फर्कने वातावरण बनाउनुपर्छ । हामी सबैको साझा र सुन्दर नेपाल बनाउने मेरो चाहना छ ।

यहाँले पञ्चेश्वरको विषय उठाउनुभयो, राष्ट्रहितका हिसाबले यो कस्तो आयोजना हो ?
गण्डक र कोशीमा के कति गुमाइयो भनेर वर्णन गर्न चाहन्न । सिमानामा रहेको नदीमा बन्ने बाँधको सम्पूर्ण खर्च हिन्दुस्तानले व्यहोर्छ । उत्पादन भने आधा गरेको छ । एक दिन पञ्चेश्वर बन्छ, त्यहाँको उज्यालो नेपालभर जताततै छाउँछ । त्यसैले मलाई ठीक काम होजस्तो लाग्छ ।

पछिल्लो समय राजनीतिलाई व्यवसायसँग जोडेर हेरिन थालेको छ, यसलाई कसरी हेर्नुभएको छ ?
राजनीतिमा लगानी उठाउने भन्ने शब्द म बुझ्दिन । यो मुलुकमा यस अर्थमा म भाग्यमानी नै भन्छु, खर्च गर्ने सम्पत्ति छ । मुलुक बनाउने हो भने इमान्दार र दक्षता भएको मानिस चाहिन्छ । साधारण मान्छे नै बढी इमान्दार देखिएको छ । इमान्दार, दक्ष र नेपाललाई राम्रो बनाउँछु भन्ने दृष्टिकोण र परिकल्पनाको अहिले आवश्यक छ । त्यो दृष्टिकोण र व्यक्तित्वले नेपाललाई अघि बढाउन सक्छ ।

युवा विद्यार्थीको विदेश पलायन, बेरोजगारी समस्याबाट उकुसमुकुस भइरहेका बेला तपाईंको जनतालाई सन्देश के हुन सक्छ ?
लामो समयदेखि मलाई नेपाली जनताले चिनेका छन् । जनताको इमान्दार सेवक हुँ । नेपाललाई अत्यन्त विकसित र प्रगतिपथमा लगेर उज्यालो बनाउन कटिबद्ध छु ।